धनकुटा । कोशी प्रदेशमा गाँजा उत्पादन हुने जिल्लाको रुपमा धनकुटालाई चिनिन्छ । त्यहाँबाट प्रहरीले पटक–पटक गाँजा बरामद गर्दै आएको छ भने बेला–बेलामा गाँजा खेती पनि फँडानी गर्दै आएको छ ।
यसरी बरामद गरेको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा जताततै राखिएको छ । गाँजाका पोका यत्रतत्र छरिएको कारण प्रहरी कार्यालय गाँजाको गोदामघर जस्तै छ ।
गाँजाको गन्धले प्रहरी कार्यालयमा बसिनसक्नु अवस्था रहेको सुरक्षाकर्मीहरु बताउँछन् । बरामद भएको पुरानो गाँजा नष्ट गर्ने प्रक्रिया अघि बढाउन नपाइ गाँजा बरामद हुने क्रम बढेकोले प्रहरी कार्यालयमा गााँजा धेरै जम्मा भएका हो ।
गाँजालाई बैधानिकता दिनुपर्ने बहस सुरु भएपनि प्रचलित कानुनले गाँजालाई लागुऔषध मानेकोले गाँजाको उत्पादन, ओसारपसार र बिक्री गैरकानुनी हो । त्यसैले धनकुटासहित कोशी प्रदेशमा दैनिक जसो गाँजा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ पर्ने गरेका छन् ।
धनकुटामा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा गाँजा ओसारपसारमा संलग्न व्यक्तिको संख्या दोब्बरले बढेको पाइएको छ । यस्तै गाँजाको परिमाणसमेत उल्लेख्य रूपमा बढेको प्रहरीको भनाइ छ ।
स्रोतका अनुसार उत्पादित क्षेत्रमा २५ सय रुपैयाँ प्रतिकेजी उपलब्ध हुने गाँजा भारत पुर्याउँदा ४० हजार रुपैयाँ प्रतिकेजीमा बिक्री हुन्छ । त्यसैले पनि कारोबारीहरु जोखिम मोलेर यसको कारोबारमा संलग्न छन् । तस्करले पहाडबाट भारतीय नाकासम्म पुर्याउन फरक–फरक समूह परिचालन गर्दै आएको प्रहरीको भनाइ छ । धनकुटाको सहिदभूमि गाउँपालिका क्षेत्रबाट मात्र गत वर्ष २० युवा गाँजासहित पक्राउ परेका छन् ।
इन्धन बोक्ने ट्यांकर, एम्बुलेन्स, अटो, तरकारी बोक्ने गाडीमा समेत गाँजा फेला परेको छ । यस्तै सप्तकोशी नदीमा बगाएर पनि गाँजा तस्करी हुन्छ । गाँजा ओसारपसारमा बालबालिका पनि संलग्न छन् । गत वर्ष धनकुटा, मोरङ, सुनसरी र उदयपुरबाट गाँजा ओसारपसारमा संलग्नमध्ये १८ वर्षमुनिका उमेर समूहको संख्या मात्र ९८ जना छन् ।
यस्तै १८ वर्षभन्दा माथिको उमेर समूहका १ हजार ५९२ जना पक्राउ परेको कोशी रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । धनकुटाको मूलघाट, भेडेटार, हिले लगायत स्थान गाँजा ओसारपसार गर्ने मुख्य नाका रहेको प्रहरीको भनाइ छ ।
गत वर्षदेखि भारतीय नम्बर प्लेटका गाडीमा फल्सबटम गरेर बिक्रीका लागि लैजाँदै गर्दा गाँजा बरामत हुने क्रम बढेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए । धनकुटा प्रहरीको रेकर्डमा एक वर्षको अवधिमा गाँजा लगायत लागूऔषध कारोबार तथा प्रयोगकर्ता २७ जना पक्राउ परेका छन् ।
कोशी प्रदेशबाट प्रहरीले २०७९/८० मा ५ हजार ८ सय १५ केजी गाँजा बरामद गरेकोमा गत आर्थिक वर्षमा झण्डै दोब्बर १० हजार ४ सय ५० केजी गाँजा बरामद गरेको छ । सुनसरीबाट ४ हजार ९६८ केजी र मोरङबाट ३ हजार ५९१ केजी बरामद गरिएको प्रहरी रेकर्डमा उल्लेख छ । यस्तै धनकुटाबाट १ हजार ५८१ केजी गाँजा बरामद भएको ।
विगत चार वर्षको अवधिमा धनकुटामा झन्डै ४ लाख बढी गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ । बर्षेनि गाँजा खेती फडानी गरेको सूची थपिएको भएपनि गाँजा कारोबार बढिरहेको छ ।