विराटनगर । सुनसरी र इलाममा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
झापाबाट माई नगरपालिकातर्फ जाँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल शुक्रबार माई नगरपालिका–२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नरपालिका–१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य दुई गम्भीर घाइते भएको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिए ।
मोटरसाइकल चालक माई नगरपालिका–१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका हुन् । विनोदको टाउको र बाँयाँ खुट्टामा गम्भीर चोट लागेको छ भने रोशनको बायाँ हात र मुखमा चोट लागेको छ । उनीहरुको झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उता सुनसरीको इटहरी उपमहानगरपलिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश नं. १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी इटहरी–४ स्थित दिदीको घरमा बस्दै आएका थिए ।
ट्रक चालक धरान–१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।