अस्पतालबाट कैदी भागेपछि प्रहरीमाथि छानविन

विराटनगर । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका एक कैदी फरार भएका छन् ।जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट आज फरार भएका हुन् ।

कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । प्रहरीका अनुसार बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन् ।

शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले जनाएको छ ।विराटनगर महानगरपालिका ८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् ।

कैदी फरार भएको घटना छानविन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार नै समिति बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतको संयोजकत्वमा छानविन समिति बनेको हो ।

छानविन अगाडि बढेसँगै मोरङ प्रहरीले ड्युटीमा रहेका दुई जना प्रहरीलाई निलम्बन गर्ने तयारी पनि गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा छानविन समितिका संयोजक डिएसपी बस्नेतले दोषी देखिए ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई निलम्बन गर्ने बताए । कैदी फरार हुँदा ड्युटीमा दुई जना प्रहरी रहेको र उनीहरुलाई निलम्बनका लागि प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए । ‘दुवै जनालाई निलम्बन गरेर छानबिन गर्ने तयारी गरेका छौ,’ उनले भने ‘छानविनपछि सबै कुरा खुल्छ । अहिले नै सबै कुरा भन्न मिल्दैन ।’ डिएसपी बस्नतेले कैदी फरार हुदाँ ड्युटीमा खटिएका प्रहरीको नाम भने सार्वजनिक गर्न मानेनन् ।

मोरङ प्रहरीका अनुसार बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन् । शौचालयबाट निस्किँदा प्रहरीलाई धकेल्दै लडाएर उनी फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले बताए । विराटनगर महानगरपालिका–८ घर भएका उनी भारततिर गएको हुनसक्ने प्रहरीको आशंका छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला अनुसार २०९१ साल फागुन ३ गते मात्रै कारागारबाट मुक्त हुनेछन् ।

यस्तै कोशी प्रदेश प्रहरी कार्यालयले पनि उक्त घटनाको छानविन गरिरहेको जनाएको छ । घटना संकास्पद रहेकाले छुटै छानविन गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालले बताए । ‘घटना संकास्पद रहेकाले जिल्लालाई छानविन समिति बनाएर अध्ययन गर्न निर्देशन दिएका थियांै,’ उनले भने ‘प्रदेशले पनि छुटै छानविन गरिरहेको छ । सत्यतथ्य एक दुई दिनमा आइहाल्छ ।’

शुक्रबार, १८ साउन, २०८१, बिहानको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर