विराटनगर । वैदेशिक रोजगारीको सिलसिलामा प्रेमिका विदेश जाने भएपछि सुनसरी दुहवी नगरपालिका–६ का ५० वर्षे सञ्जय पासवानले प्रेमिकाको बहिनीकी ६ वर्षे छोरी अपहरण गरेका छन् । ६ वर्षे बालिका अपहरण गरेको आरोपमा प्रहरीले सञ्जयसहित उनका दुई जना सहयोगीलाई बुधबार पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको रिटको टोली र मोरङ प्रहरीबाट खटिएको संयुक्त टोलीले अपहरण भएको २७ घण्टाभित्रै नाबालिकालाई उद्धार गरी अभियुक्तहरुलाई नियन्त्रणमा लिन सफल भएको छ ।
अपहरण आरोपमा प्रहरीले सञ्जयसहित कलानन्द पासवान र सरिता पासवानलाई पनि पक्राउ गरेको सुनसरी प्रहरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । प्रहरीले उनीहरुलाई विराटनगर–१० स्थित मानव सेवा आश्रम अगाडिबाट बुधबार बिहान पक्राउ गरेको उनले जानकारी दिए ।
पक्राउ परेकामध्ये सञ्जय मुख्य अभियुक्त रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक भण्डारीले बताए । अपहरणमा परेकी नाबालिका र सञ्जय आफन्त पर्दछन् । दुहवी नगरपालिका १० डुम्राहाबाट मंगलबार दिउँसो तीन बजे आफ्नै मामाघरको आँगनमा खेलिरहेको अवस्थामा सञ्जयले बालिकालाई अपहण गरेको प्रहरीले जनाएको छ । घरबाट अपहरण गरेर सञ्जयले नाबालिकालाई विराटनगर १० मानव सेवा आश्रम अगाडि डेरामा लगेर राखेका थिए । प्रहरीले सोही डेराबाट बन्धक बनाएर राखिएको अवस्थामा नाबिालकालाई उद्धार गरेको डिएसपी भण्डारीले बताए ।
सुनसरी प्रहरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका रिट र मोरङ प्रहरीले बन्धक बनाएको नाबालिकालाई उद्धार गरेर परिवारलाई जिम्मा लगाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नाबालिकाको ठुलीआमासँग सञ्जयको प्रेम सम्बन्ध देखिएको छ । उनीहरूबीच खटपट भएपछि उनी सञ्जयसँग सम्र्पकविहीन भएर वैदेशिक रोजगारमा जाने भनेर काठमाडांै गएकी थिइन् । ‘नाबालिकालाई अपहरण गरेर कतै राखियो भने बालिकाकी ठुलीआमा आफंै सम्र्पकमा आउने अनुमान गरी सञ्जयले बालिका अपहरण गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक जना प्रहरी अधिकृतले भने, ‘संजय पासवानले पीडितालाई अपहरण गरी लगेपछि ती नाबालिकाको मामालाई फोन गरेर तेरो भान्जी मेरो कब्जामा छ । तेरो दिदीलाइ घर बोला अनि मात्र म बच्चालाई लिएर आउँछु, होइन भने अरुलाई दिन्छु भन्दै फोन गरेको देखिएको छ ।’ त्यसपछि पीडितले इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिएका थिए । इप्रका दुहवीका प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा खटिएको टोलीले नाबालिकालाई सकुशल उद्धार गरेर परिवारको जिम्मा लगाएको छ ।
पक्राउ परेका सञ्जय विवाहित हुन् भने उनले प्रेम गरेको महिला अविवाहित छन् । पक्राउ परेका तीन जनालाई इलाका प्रहरी कार्यालय दुहवीले अपहरण तथा शरीर बन्धक मुद्दामा सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।