विराटनगरबाट थप दुई संक्रमित डिस्चार्ज

विराटनगर । विराटनगरमा उपचाररत थप दुई जना कोरोना संक्रमित आइतबार डिस्चार्ज भएका छन् ।

कोसी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका झापा र भोजपुरका २ संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् । राई गत वैशाख १३ गते र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए ।

उनीहरुको पछिल्लो पटक गरिएको स्वाव परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिनुभयो । अस्पतालबाट डिस्चार्ज भएका दुवैजनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरंगका प्रमुख तथा कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन संयोजक ज्ञानवहादुर वस्नेत लगायतले विदाई गर्नुभएको थियो ।

डिस्चार्ज भएका हतुवागढीका राईले गत फागुन ३० गते साउदी अरवबाट नेपाल आएको बताउनुभयो । झापा बा¥हदशीका आलमले फागुन २७ गते भारतबाट घर आएको बताउनुभयो । डिस्चार्ज भएका दुबै जनाले अस्पतालले भने अनुसार क्वारेन्टाईनमा १४ दिन बस्ने बताएका छन् । राईले भोजपुरको घोडेटारमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताउनुभयो ।

बा¥हदशीका आलमले घरमै निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले विदाई गर्दै अनिवार्य क्वारेन्टाईनमा बस्न सुझाव दिनुभयो ।

कोभिड अस्पतालमा उपचाररत आज २ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । अस्पतालमा १९ जना अहिले उपचाररत रहेको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताउनुभयो ।

यसैबीच प्रदेश सरकारले कोरोना परीक्षणको दर समेत बढाएको छ । यतिबेला प्रदेश १ मा पिसीआर र आरडीटी दुबै बिधिबाट परीक्षण भइरहेको छ । पिसिआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

पिसिआरबाट २ हजार १ सय ४० जनाको परीक्षण भएको छ । जसमा २ हजार १ सय १ जनाको नेगेटिभ देखिएको छ । त्यस्तै आरडीटीबाट ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ ।

आइतबार, २८ बैशाख, २०७७, साँझको ०५:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर