विराटनगर । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले गिरीबन्धु टी–स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै शर्माले यी दुई प्रकरण छानबिन गर्न प्रधानमन्त्री र सरकारसँग माग गरेका हुन् ।
‘गिरीबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि इमान्दार अनुसन्धान सुरू हुनुपर्छ,’ शर्माले भने, ‘त्यो अनुसन्धानले हामी आफैमाथि प्रश्न गर्दैगर्दा छानबिनको दायरामा उभिनका लागि तयार हुनुपर्छ ।’ अरूमाथि अनुसन्धान माग गर्न सजिलो हुने तर आफूमाथि अनुसन्धान माग गर्न गाह्रो हुने भन्दै उनले काँग्रेस र एमालेले जवाफ दिन तयार हुनुपर्ने बताए ।
‘गिरीबन्धुको ७० बिघा बेचेर खाएको भनेर कांग्रेसमाथि गम्भीर आरोप लागेको थियो’ शर्माले भने, ‘प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु कांग्रेसका ती को हुन् ? तिनले छुट पाउनुहुन्न । यो आरोपको छानबिन गरियोस् ।’
नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुल्दा माओवादी र कांग्रेसको सरकार रहेको स्मरण गर्दै उनले एमालेले पनि सरकारमा पुगेसँगै यो प्रकरणलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
‘जुनबेला नक्कली भुटानी शरणार्थी प्रकरण खुलेको थियो त्योबेला कांग्रेस र माओवादीको सरकार थियो । अहिले सरकारमा एमाले आइपुगेको छ । यो परीक्षामा हामीसँगै सामेल छ । यसलाई निष्कर्षमा पुर्याउनका लागि,’ उनले भने । शर्माले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि यही हो । निर्दोष कोही फस्नुहुन्न । दोषी कोही उम्कनुहुन्न ।’
नयाँ गृहमन्त्री रमेश लेखकलाई भ्रष्टाचारविरूद्धको अनुसन्धानमा चार चरित्र मूल मन्त्र बनाउन पनि शर्माले आग्रह गरेका छन् । हस्तक्षेपमुक्त अनुसन्धान, स्टन्टमुक्त अनुसन्धान, अनुग्रहमुक्त अनुसन्धान र पूर्वाग्रहमुक्त अनुसन्धान गर्न उनको सुझाब छ ।