केपी ओली प्रधानमन्त्री नियुक्त

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधि सभाका सदस्य ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

असार १७ गते राति कांग्रेस–एमालेबीच सत्ता सहकार्य गर्न भएको सहमति अनुसार पहिलो चरणमा ओली नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो । राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखेको प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले अस्वीकृत भएको थियो । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालको पक्षमा ६३ मत, विपक्षमा १९४ मत र तटस्थमा १ मत परेको थियो । विश्वासको मत लिने दिन २५८ सांसद सहभागी थिए ।

संसदबाट प्रचण्डले बहुमत गुमाएको जानकारी पाएलगत्तै संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपति पौडेलले आइतबार अपरान्ह ५ बजेभित्र पेश गर्न आव्हान गरेका थिए । ओलीले कांग्रेसको ८८ जना र एमालेको ७९ जनाको समर्थनमा प्रधानमन्त्रीको दावी शुक्रबार नै पेश गरेका थिए ।

प्रधानमन्त्रीको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

आइतबार, ३१ असार, २०८१, साँझको ०५:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर