कटहरीका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

विराटनगर । मोरङको कटहरी गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिकाले प्रयत्न गरेको छ ।

प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालयमा प्रविधिको प्रयोग हुन थालेको हो । कटहरीमा रहेको ३ मावि र १६ वटा सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाए अगाडि बढाउन पालिका लागिपरेको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए ।

गाउँपालिकाले आइतबार एलइडी, खेलकुदका सामग्री, शैक्षिक सामग्रीलगायतका विभिन्न सामग्रीहरु वितरण गरी विद्यालयलाई खेलकुद तथा प्रविधिमैत्री बनाउन सहयोग गरेको हो ।

केही दिनभित्रमा ह्वाइटबोर्ड वितरण गर्ने तयारी गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । यसअघि यहाँको सामुदायिक विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ ।

गाउँपालिकाले विद्यालयहरुमा डिजिटल हाजिरीको सुरुवात गरेको छ । डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुग्ने विद्यालयले अपेक्षा गरेको छ । शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गरे शैक्षिक सुधारका धेरै सूचक पूरा हुने अध्यक्ष चौधरीले बताए । ‘कम्प्युटर कक्षा मल्टीमिडिया प्रयोग गरेर पढाउन सुरु गरिएको छ । गाउँपालिकामा रहेका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउने हाम्रो योजना हो । त्यसै अनुसार अहिले पालिका भित्र रहेका विद्यालयहरुमा प्रविधिका सामाग्रीहरु वितरण गरिएकोे छ,’ अध्यक्ष चौधरीले भने ।

प्रविधीसँग जोडेर विद्यार्थीहरुको शिक्षण सिकाइ उपलब्धिमूलक बनाउनुको साथै गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उनले बताए । ‘शिक्षाको सार्थक परिणामका लागि गाउँपालिका लागि परेको छ । प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्नसके शैक्षिक रुपान्तरण गर्न सहज हुने छ,’ उनले भने , ‘प्रविधिसँग जोडेर विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्ने गाउँपालिको योजना रहेको छ । अहिले हामी यसरी योजनाबद्ध तरिकाले अगाडि बढेका छौं ।’

मङ्गलबार, १२ असार, २०८१, बिहानको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर