रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर

विराटनगर । तपस्वी भनेर चिनिने रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन्।

सर्लाही जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो। न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो । उनको सजाय निर्धारणका लागि असार १७ गतेका लागि पेसी तोकिएको छ ।

यहि मुद्दामा मकवानपुरको थाहा नगरपालिका वडा नं ७ घर भएका ज्ञानकुमार बम्जन र सिन्धुलीको मरिण गाउँपालिका वडा नं ५ घर भएका जितबहादुर तामाङले भने सफाइ पाएका छन्। उनीहरूमाथि बमजनलाई लुकाउन र भगाउन भूमिका खेलेको अभियोग थियो।

उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।

गत पुस २६ गते थुनामा पठाउने आदेश दिएपछि बम्जनलाई कारागार चलान गरिएको थियो। बम्जनविरुद्ध अर्को मुद्दा गृहजिल्ला बारामा पनि छ।

बाराको रतनपुरी जंगलस्थित आश्रमबाट थप अनुयायीलाई बेपत्ता बनाएको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी छ।

बम्जन सर्लाहीको लालबन्दी नगरपालिका १२ पत्थरकोट (चुरे क्षेत्र)मा आश्रम बनाएर बसेका थिए ।

बमजन गत पुस २४ गते साँझ काठमाडौंबाट पक्राउ परेका हुन । आफूलाई लिटिल बुद्ध बताउने बमजनको घरबाट प्रहरीले १५ देशका मुद्रा पनि बरामद गरेको थियो। विलासी जीवनशैली भएका उनको घरमा बरामद विदेशी मुद्रा मात्र ३० लाख ९२ हजार ४०६ रुपैयाँबराबर हुन्थ्यो।

खानतलासीका क्रममा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ नगद भेटिएको थियो। नेपाली र विदेशी मुद्रा जोड्दा ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ हुन्थ्यो।

सोमबार, ११ असार, २०८१, साँझको ०७:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर