सुजता लिम्बू
विराटनगर । चलचित्र नुमाफुङमार्फत हामी जस्ता आफ्नो समुदाय छोडेर मिश्रित समुदायमा हुर्किएका लिम्बूका सन्तानहरुका लागि एउटा पराम्परागत मान्यतालाई बुझाउने कोशिस गरिएको छ । लामो समयको अन्तरालपछि नविन सुब्बाद्वारा निर्देशित चलचित्र ‘गाँउ आएको बाटो’ ले चर्चाको शिखर छोएको छ ।यो चलचित्र नहेर्दासम्म मनमा कौतुहलता बढ्दै गएको थियो । तर, निर्देशक सुब्बा, कलाकारहरु दयाहाङ राई, पशुपति राईलगायतको उपस्थितिमा चलचित्र हेर्ने अवसर जुर्यो ।
पछिल्लो समय विकाससँगै गाउँका युवाहरुलाई प्रविधिसँग जोड्न नसक्दा गाउँ छोड्नुपर्ने बाध्यतालाई चलचित्रमार्फत उजागर गर्न खोजिएको छ । गाउँगाउँमा सडक पुग्दा जीवन केही सहज भएपनि विपन्न वर्गको जीवनस्तरमा भने कुनै विकास र समृद्धिको बाटो नखुलेको दृष्य चलचित्रमा छ ।
भोजपुर आमचोको एउटा गाउँमा बाँचिरहेका आम मानिसहरुको अवस्था र बाध्यतालाई समेटिएको चलचित्रमा एउटा बाउले सन्तानको खुशी र माग पुरा गर्न कस्तो खालको परिस्थिति बेहोर्न पर्छ भन्ने विषय पस्कन खोजिएको छ । पत्रकारसँगको भेटघाटमा निर्देशक सुब्बाले विद्यार्थी र युवाहरुले हेर्नु जरुरी रहेको भन्दै चलचित्र हेर्नलाई आग्रहसमेत गरिरहेका थिए ।
हुन पनि आमाको त्यागका धेरै कथा, कविता र लेख रचनाहरु प्रकाशित भइरहेकै हुन्छन् । तर, जिम्मेवारीको बोझले थाकेको बाको काँध अनि उनको संघर्षको कथा कमै पढ्न, सुन्न र हेर्न पाइन्छ । गाउँ आउने बाटोमार्फत एउटा बुवाले सन्तानको खुशी र इच्छा पुरा गर्न के कति संघर्षको जंघार तर्छन् भन्ने विषयालाई देखाइएको छ ।
माइला (दयाहहाङ राई), प्रसन राई (बिन्द्रे), बिन्द्रेकी आमा (पुशपति राई) चलचित्रको केन्द्रिय भूमिकामा छन् । एउटा परिवारको कथाले सिंगो समाज बोलिरहेको जस्तो महसुस हुने यो चलचित्रले धनी र गरिबबीचको खाल्डोलाई पनि प्रष्ट्याएको छ ।
हुन त सबैको घरमा बिन्द्रेको जस्तै बा हुन्छन्, अनि संघर्षको गाथा पनि । एउटा बिन्द्रेको बाको संघर्ष र प्रेमिल कथाले समग्र बाको कथा चलचित्रमार्फत बोलेको जस्तो भान हुन्छ ।
माइला (दयाहाङ) को परिवारले गाउँमा सुखः दुख साटेर बाँचिरहेको जीवनलाई जस्ताको त्यस्तै उतारिएको छ । गाउँमा छिरेको डोजरे विकाससँगै गाउँ भित्रिएका प्लाष्टिकका समाग्रीहरुले प्राथमिकता पाइरहँदा बाँसबाट उत्पादन गरिएको समाग्रीले भाउ पाउन सक्दैन । जसले गर्दा आर्थिक चुनौती बेहोर्नु परेको माइलाको भोगाइले थुप्रै माइलाको कथा चलचित्रमार्फत बोलको छ ।
छिमेकमा रहेको (तोयाआप्पा) विदेशबाट आएपछि घरमा भित्रिएको रंगिन टिभीले बिन्द्रेको बालमस्तिष्कमा आफ्नै घरमा टिभी भइदिए हुन्थ्यो भन्ने इच्छा अर्थात बालमनोविज्ञानलाई समेत चलचित्रमा जोड्न खोजिएको छ । गाउँ र शहरबीचको सम्बन्धलाई बेजोड ढंगले चलचित्रमार्फत देखाइएको छ । छोराका लागि टिभी किन्ने दौडमा शहर पसेका माइलाले शहरमा मात्रै होइन गाउँमा मसेत सहकार्य र सहयोग पाउन नसकेको दृश्यलाई मार्मिक ढंगले देखाइएको छ ।
चलचित्रमा राई समुदायमा तीन चुलाको अर्थ कति हुन्छ भन्ने विषयलाई ‘सिम्बोलिक’ ढंगले उतारिएको छ । घरबाट परदेशिदा र गाउँ भित्रिँदासमेत चुलाले ठूलो अर्थ राखेको छ ।
त्यसो त अनुसन्धनकर्ता तथा संस्कृतिकर्मी चन्द्रकुमार हतुवालीले भनेका छन्,‘ किरात राई जातिको माङखिम (पितृथलो) नै तीन चुलो हो । हामी सबै किरात राई जातिको साझा विशेषता नै तीनचुला पुज्नु हो ।’ त्यसैले पनि चलचित्रमा तीन चुलाको महत्व मिहिन ढंगले उतारिएको छ ।
चलचित्रमा कलाकारहरुको कला प्रदर्शनी बेजाड नै छ । दयाहाङ राईलाई फरक ढंगले नियाल्न सकिन्छ । एउटा गाउँको सोझो राईको भूमिकामा गजब प्रस्तुति छ । बिन्द्रे अर्थात बालकलाकारको कलाको त झन कुरै नगरौं । खोट लगाउने कुनै ठाँउ छैन । बिन्द्रेकी आमा अर्थात पशुपति राईलाई त झनै अर्गानिक अर्थात पर्दाभित्रकी कलाकारको रुपमा भन्दा उनी त्यही एउटा समाजमा बाँचिरहेकी बिन्द्रेकी आमा नै हुन भन्ने महसुस गर्न सकिन्छ । अर्थात उनको ‘एक्टिङ’ मा खोट लगाउने कुनै ठाउँ छैन ।
त्यसो त सकारात्मक विषय उठाउदै गर्दा चलचित्रमा केही छुटेका विषय पनि छन् । माइलाका छिमेकी (तोयाआप्पा) वैदेशिक रोजगारीबाट गाउँ फर्र्र्किएपछि केही गर्छु भन्ने सोँच राखेका हुन्छन् ।
तर, गाउँमा कुनै अवसर नपाएको भन्दै पुनः परदेश नै फर्किएको दृश्यले गाउँप्रति उदार भाव देखिएको छैन ।अर्कोतर्फ बुझ्ने हो भने राजनीतिक दलहरुले यो चलचित्र हरे भने भौतिक विकास मात्रै होइन मानवीय विकासमा पनि जोड दिनु जरुरी छ भन्ने सन्देश चाँही पक्कै दिएको छ । तर, सामान्य बुझाईमा गाउँप्रति निर्देशक एवम् लेखक महेश राई अनुदार नै देखिएका छन भन्दा फरक नपर्दो हो । अर्को दश वर्ष अगाडि हराएकी माइलाकी छोरीको अवस्था हराउनेको कारण पनि चलचित्रमा रहस्यमय नै रहेको छ ।
समग्रमा भन्नुपर्दा चलचित्रमा गाउँमा सडक सञ्जाल विस्तार हुँदै गर्दा स्थानीय उत्पादनको महत्व घटेको र आर्थिकरुपमा झनै चुनौती बेहोर्नु परको दृश्यलाई देखाउन खोजिएको छ । तर, समयसँगै युवाहरुलाई प्रविधिमैत्री र रोजागरमुलक बनाउनुपर्छ भन्ने सन्देश भने छैन । यद्यपि बाको संघर्ष र सडक सञ्जाल फैलाउनु मात्रै विकास होइन, मानवीय विकास पनि विकास हो भन्ने ज्ञान हासिल गर्नुका लागि चलचित्र हेर्न जरुरी छ ।
गाउँ आएको बाटो पूर्वी पहाडी जिल्ला भोजपुरको आमचोक, भोजपुर सदरमुकाम, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको हो ।