सार्वजनिक लेखा समितिका सभापतिकी पत्नी जोडिएको सहकारीमा प्रहरीको छापा

विराटनगर । मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको कार्यालयमा छापा मारेर प्रहरीले कागजात नियन्त्रणमा लिएको छ ।

उमागौरी सहकारी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला संचालक हुँदा करोडौ अनियमितता भएको  सहकारी हो । कात्तिक १४ गते सहकारी रजिष्ट्रार कार्यालय इनरुवाका कर्मचारीहरुसमेत संलग्न भएर प्रहरीले उक्त सहकारी संस्थाको कार्यालयमा छापा मारेको हो ।

सहकारी ठगीमा जोडिए सार्वजनिक लेखा समिति सभापति

कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले उमागौरी कृषि सहकारीको विषयमा इलाका प्रहरी कार्यालय रंगेलीलाई पत्राचार गरी अनुसन्धान गर्न भनेको थियो । लामो समय प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै आलोचना भएपछि सहकारी रजिष्ट्रार कार्यालय कोशी प्रदेशकै सक्रियतामा तिहारको बिदा हुनु अघिल्लो दिन उक्त सहकारीमा छापा मारिएको थियो ।

सहकारीका कुनै पनि सञ्चालकलाई खबर नगरी रजिस्टार कार्यालयले संस्थाको ताला फुटाएर कागजपत्र नियन्त्रणमा लिएको छ । सहकारीको कार्यालयबाट केही कागजात नियन्त्रण लिएको सहकारी रजिस्टार कार्यालय कोशी प्रदेशका सहकारी रजिष्ट्रार हरि खत्रीले पुष्टि गरेका छन् ।

रजिष्ट्रार कार्यालयले वडाध्यक्षको रोहवरमा प्रहरीको सहयोगमा कागजपत्र नियन्त्रणमा लिएको खत्रीले जानकारी दिए । उनले सहकारीको माइन्युटलगायत महत्वपूर्ण कागजपत्र भने नभेटिएको बताएका छन् ।

बन्द अस्थामा रहेको सहकारीले ताला पुटाएर कागजात नियन्त्रणमा लिएको भन्दै विरोध जनाएको छ । संस्थाको  ताला तोडेर आक्रमक शैलीमा कागज लुटिएको अध्यक्ष शम्भुप्रसाद रौनियारले आरोप लगाएका छन् ।

उमागौरी सहकारी ठगी प्रकरण : एकअर्काको बचाउ गर्दै पोखरेल र रौनियार

रजिष्ट्रार कार्यालयले दिएको सहकारी ठगीको छानबिन गर्न प्रहरीमा पठाएको प्रतिवेदनमा अञ्जलाको नाम हटाएर पठाएको थियो भने कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय पनि उनको नाम हटाएर पठाएको थियो । रजिष्ट्रार खत्रीले भने बहालवाला समितिमाथि छानविनका लागि लेखिपठाउने गरेको बताए ।

‘बहालवाला समितिबाट अनुसन्धान थालेपछि अनुसन्धानले जहाँसम्म भेट्छ त्यहाँसम्म पुग्ने हो, त्यसैले हामीले अनुसन्धानका लागि बहालवाला समितिको मात्रै नाम पठाएका थियौ,’ खत्रीले भने ‘प्रहरीले अनुसन्धानबाट बाँकी कुरा पत्ता लाग्दै जान्छ ।’

उमागौरी कृषि सहकारी २०६८ सालमा स्थापना भएको हो । कोइराला दुई कार्यकाल सो सहकारीमा सदस्य रहेकी थिइन् । कोइरालाले २०७८ माघ ५ गते सहकारीबाट राजीनामा दिएको बताएकी छन् ।

नेकपा एमालेका स्थानीय कार्यकर्ता रौनियार अध्यक्ष रहेको सहकारी सुरुवातमा राम्रै चलेको थियो । तीन दर्जन जति कर्मचारीहरु नै थिए । कारोबारको चहलपहल निक्कै हुन्थ्यो । सहकारी स्थापना अगाडि साइकल चढ्ने रौनियार गाडी किनेर हुइँक्याउन थालेका थिए । सहकारीको कार्यालय एमालेका नेता–कार्यकर्ताहरूको जक्सन जस्तै थियो । तर, अहिले सहकारी बन्द छ ।

स्थानीयका अनुसार अहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति रहेका पोखरेल सहकारीको अघोषित सल्लाहकार थिए । सहकारी स्थापनामा पनि उनको भूमिका रहेको स्थानीीय बताउँछन् । महिला उद्यमी ऋण कर्जादेखि पहुँचवालासम्म भेट्टाइदिने काम उनले नै गर्दथे । पोखरेल पार्टी कार्यक्रममा जाँदा कर्सियामा पुगेर रौनियारको गाडी लिएर हिँंड्थे ।

उमागौरी सहकारी ठगी प्रकरण : अध्यक्षका अघोषित सल्लाहकार पोखरेल !

सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको रजिस्ट्रार कार्यालयको रिपोर्ट छ । सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण देखिएको छ भने सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय नै बन्द छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

सो सहकारीका सञ्चालकलाई रुपन्देहीको बुटवलस्थित आरएसडिसी लघुवित्तले कालो सूचिमा राखेको छ । आफू कालोसूचिमा परेको विषयमा सफाइ माग गर्दै अञ्जलाले उच्च अदालत विराटनगरमा रिट दायर गरेकी थिइन । अदालतले उनको पक्षमा अन्तरिम आदेश दिएको छैन भने मुद्धा विचाराधीन अवस्थामै छ ।

सहकारीले आरएसडिसीबाट २०७७ असोज २३ गतेको निर्णय बमोजिम २ करोड रुपैयाँ र २०७७ फागुन १३ गते थप २ करोड रुपैयाँ र २०७८ असार २४ गते ७५ लाख रुपैयाँ भुक्तानी लिएको थियो । कर्जा माग गर्ने निर्णय गर्दाको तीन वटै बैठकमा संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आलम अन्सारी मिया तथा सञ्चालकहरु विपक्षी अञ्जला कोईराला तथा आमोद मण्डल र रोशन राजवंशीको उपस्थिति रहेको र हस्ताक्षर रहेको कागजात पनि लघुवित्तले पेश गरेको छ । सो निर्णयमा कर्जा कारोबार गर्ने अख्तियारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार, व्यवस्थापक चिरन्जिविकुमार यादव र कोषाध्यक्ष शम्भुप्रसाद सिंहलाई प्रदान गर्नुका साथै उक्त कर्जा तोकिएकै समयावधि भित्र भुक्तान गर्ने प्रतिवद्धतासहित कर्जाको सम्पूर्ण जिम्मेवारी लिने उल्लेख छ ।

सबै बैठकमा पोखरेलपत्नी अञ्जलाको उपस्थिति हुनुका साथै निर्णयहरुमा हत्साक्षर पनि गरेकी छन् । सो कर्जाहरुको जमानी बापत मिति २०७७/०६/२७ मा, २०७७/११/२ मा र २०७८/०३/२३ मा धनजमानीको कवुलियतनामा गरी दिएको लघुवित्तले पठाएको जवाफमा उल्लेख छ ।

उमागौरीसहकारी ठगी प्रकरणः अदालतलाई भ्रममा पार्ने ऋषिकेशपत्नीको प्रयास

बचतकर्ता र ऋणीलाई ठगी गरेको उमा गौरीका कृषि सहकारी संस्थाका जोडिएका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेले श्रीमती सञ्चालक रहेको आफूलाई जानकारी नभएको बताउँछन् । ‘उहाँ सञ्चालक रहेको त खै थाहा छैन मलाई, तपाईहरुले खोजेको चाहिँ किन भन्नुहोस् त यो विषय,’ उनले भने,‘ कसकसले ऋण लगे त्यो पनि तपाईहरु उठाइदिनुहुन्छ ?।’ उनले आफ्नो श्रीमतीलाई झुक्याइएको बताए । ‘मेरो मेडमलाई उसले (सम्भु रौनियारले) सदस्य बनाएको रैछ, पछि थाहा पाए,’ उनले भने,‘ सहकारी पीडित मध्ये एउटा म  पीडित हो, पाँच वर्ष भयो छाडेको, स्कुल पढाइरहेको मान्छेलाई भाउजू बस्दा सजिलो हुन्छ भन्दै गराए सही(हस्ताक्षर)  झुक्याए, आफै पीडित भएको छु ।’

सहकारी ठगीबारे छानविन समितिको प्रतिवेदन : पोखरेलको सम्पत्ति हुनसक्छ जफत

कोइराला सञ्चालक भएको समयमा सहकारीले लघुवित्तबाट लिएको ऋण चुक्ता नगरेपछि लघुवित्तले सहकारीका अध्यक्ष श्याम रौनियार र पोखरेलपत्नी कोइरालासहित सबै सञ्चालकलाई कालोसूचिमा राखेको हो । आरएसडिसीले उमा गौरी कृषि सहकारीले २०८१ असोज १० गतेसम्ममा साँवा तथा ब्याज र हर्जाना बापत ३ करोड ४३ लाख ७२ हजार ८८३ रुपैयाँ ५४ पैसा भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

बुधबार, २१ कार्तिक, २०८१, बिहानको ०९:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर