सहकारी ठगीमा जोडिए सार्वजनिक लेखा समिति सभापति

रजिष्टर कार्यालय भन्छ – ठगीको नयाँ शैली भेटियो । सभापति पोखरेल भन्छन् – तपाईले किन खोजेको ?

विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल सहकारी ठगी प्रकरणमा जोडिएका छन् । मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमा गौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा जोडिएका हुन् ।

२०६८ सालमा स्थापना भएको यो सहकारी अहिले संकटग्रस्त छ । १८ करोड रुपैयाँ कुलपूँजी रहेको सहकारीबाट करिब १२ करोड रुपैयाँ हिनामिना भएको छ । शम्भुप्रसाद रौनियार अध्यक्ष रहेको सहकारीले सदस्यको जग्गा धरौटी राखेर सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको छ । बैंकबाट ऋण लिँदा उनले संस्थाका सञ्चालकदेखि सहकारीको ऋण माग्ने साधारण सदस्यको जग्गा बैंकमा धितो राखेर छुट्टै ऋण निकालेको देखिन्छ ।

सहकारीको सञ्चालक मोरङ क्षेत्र नम्बर २ का सांसद तथा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि हुन् । सहकारीले अन्य बैंकबाट लिएको ऋण नतिरेका कारण अञ्जला अहिले कालोसूचीमा छिन् । सहकारीकै कारण आफू कालोसूचीमा परेको अन्जलाले बताइन् । ‘त्यसबेला राम्रो उदेश्यले खोलेको भनेपछि सदस्य बसेको थिए, तर बैठकहरुमा सहभागी हुन पाइनन्, अध्यक्षले आफ्नो मनखुसी गरेका छन््,’ उनले भनिन्, ‘सहकारी ऐनले रोकेपछि मैरो राजीनामा दिएको थिए, तर स्वीकृत नगरी मेरो नक्कली हस्ताक्षर गरेछन्, पछि अडिटरले देखाएपछि मात्रै थाहा भयो ।’

अञ्जला सहकारीको सञ्चालक भएपनि सम्पूर्ण कारोबार अध्यक्ष शम्भु रौनियारले र सांसद पोखरेलबीचको सल्लाहमा हुन्थ्यो । शिक्षण पेशामा आवद्ध कोइराला भने हस्ताक्षर मात्रै प्रयोग हुन्थ्यो । सहकारीका कर्मचारीले आवश्यक परे उनलाई विद्यालयमा नै गएर हस्ताक्षर गर्थे । ‘उहाँहरुको दोस्ती सुरुमा निकै राम्रो थियो, सहकारी सञ्चालनमा पोखरेलले उहाँहरुलाई सहयोग गर्नुुहुन्थ्यो,’  पोखरेल र रौनियारसँग निकट रहेको स्रोतले भन्यो, ‘सहकारी डुबेपछि भने सम्बन्धमा खटपट छ, रौनियार सार्वजनिक स्थानमा देखिँदैनन् ।’

अञ्जलाका अनुसार २०७५ सालमा जारी भएको सहकारी नियमावलीले सञ्चालक बस्न रोकेपछि राजीनामा दिएकी हुन् । तर उनको राजीनामा स्वीकृत भएन् । २०७८ सालसम्म नक्कली हस्ताक्षर प्रयोग गरेको उनले बताइन् । अडिटरले भनेपछि प्रश्न गर्दा मात्रै आफ्नो राजीनामा २०७८ मा स्वीकृत भएको उनले बताइन् । सहकारीमा ऋण लिनेको जग्गा बैंकमा धितो राखेर सहकारीको नाममा ऋण लिएर नतिरेपछि बैंकले सबै सञ्चालकलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा सांसद पोखरेलको श्रीमती पनि छन् ।

सदस्यदेखि सञ्चालकको जग्गा बैंकमा

सहकारीका अध्यक्ष रौनियारले आफ्ना सहकारीका सदस्यदेखि सञ्चालकलाई पनि ठगी गरेका छन् । सञ्चालकको जग्गा पनि धितो राखेर उनले ऋण निकालेको देखिन्छ । २०७४ सालमा सञ्चालक सदस्य रोशन राजवंशीको घरजग्गा राखेर रौनियारले माछापुछ्रे बैंकबाट ८५ लाख ऋण निकालेका थिए । उनीसँगै अर्का सदस्यका पनि जग्गा राखेर ःऋण निकालेका थिए ।

रौनियारबाट ठगिएका राजवंशीले अहिले सहकारी छाडेका छन्, र जग्गा फिर्ताका लागि अध्यक्षलाई आग्रह गरिरहेका छन् । ‘सहकारी सञ्चालनका लागि त्यसबेला जग्गा राखेर ऋण निकालेको थियो, तर अध्यक्षले आफूखसी गर्नुभयो,’ उनले भने,‘ अंशबण्डा गर्नुपर्ने बैंकमा धनीपूर्जा छ, फिर्ता माग्दा फिर्ता भएको छैन ।’

सो सहकारीले  फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अध्यक्ष रौनियारले सहकारीको कार्यालय बन्द गरेर हिडेका छन् । १८ करोड ४९ लाख कुल पूजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

सहकारीबाट ठगिएकाहरु न्याय माग्द प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयमा पुगेका छन् । कार्यालयका प्रमुख हरिबहादुर खत्रीका अनुसार उमा गौरीमा भएको अनियमितता अन्य सहकारीको भन्दा फरक छ । सदस्यहरु दोहोरो ऋणी बनाइएको छ । ‘यो सहकारीको ठगी नयाँ खालको छ, सहकारीमा ऋण माग्न पुगेका सदस्यहरुको सम्पति बैंकमा राखेर ऋण निकालेको देखिन्छ,’ उनले भने,‘ऋणीले संस्थामा ऋण बुझाए, संस्थाले बैकमा नबुझाएको देखिन्छ ।’ फरक खालको ठगीको विषयमा उजुरी आएपछि छानविनका लागि प्रहरीलाई लेखेर पठाएको उनले बताए ।

रेकर्डबाटै डकुमेन्ट गायब

प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयमा भएको रेकर्डमा उमागौरी कृषि सहकारी संस्था लिमिटेडको सञ्चालक सििमतिको डकुमेन्ट नै गायब छ । रजिष्ट्रार खत्रीका अनुसार २०६८ सालमा सहकारीको तदर्थ समितिको डकुमेन्टपछि २०७८ सालको सञ्चालक समितिको डकुमेन्ट मात्रै कार्यालयमा उपलब्ध छ ।

१० वर्षको सञ्चालक समितिको विवरण र कागजात छैन । सोही अवधिमा सांसद तथा सार्वजनिक लेखा समिति सभापतिको श्रीमती सहकारीको सञ्चालक थिइन् । उनी सञ्चालक सदस्य रहेकै अवधिमा सहकारीले सदस्यको धितो बैंकमा राखेर सहकारीले ऋण निकालेको छ । ‘यो सहकारीको कार्यालय खुल्दैन, कार्यालयमा कागजपत्र पनि भेटिदैन, सबै डुकुमेन्ट अध्यक्षले साथमा राखेको देखिन्छ,’खत्री भन्छन् ,‘हाम्रो कार्यालयमा पनि नियमित विवरण बुझाएको छैन ।’

पोखरेल भन्छन् : तपाईहरुले किन खोजेको ?

बचतकर्ता र ऋणीलाई ठगी गरेको उमा गौरीका कृषि सहकारी संस्थाका जोडिएका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेले श्रीमती सञ्चालक रहेको आफूलाई जानकारी नभएको बताउँछन् । ‘उहाँ सञ्चालक रहेको त खै थाहा छैन मलाई, तपाईहरुले खोजेको चाहिँ किन भन्नुहोस् त यो विषय,’ उनले भने,‘ कसकसले ऋण लगे त्यो पनि तपाईहरु उठाइदिनुहुन्छ ?।’ उनले आफ्नो श्रीमतीलाई झुक्याइएको बताए । ‘मेरो मेडमलाई उसले (सम्भु रौनियारले) सदस्य बनाएको रैछ, पछि थाहा पाए,’ उनले भने,‘ सहकारी पीडित मध्ये एउटा म  पीडित हो, पाँच वर्ष भयो छाडेको, स्कुल पढाइरहेको मान्छेलाई भाउजू बस्दा सजिलो हुन्छ भन्दै गराए सही(हस्ताक्षर)  झुक्याए, आफै पीडित भएको छु ।’

रौनियारबाट ठगिएपछि प्रहरीमा जाहेरी पनि दिएको उनले बताए । ‘मान्छेले दुःख दिनुपर्ने मान्छेमा म एउटा परेछु, इमान्दार हुनु बेठिक भएछ, केही केही मान्छेले झुक्याए, दुःख दिए,’ उनले भने,‘ कानुनी प्रक्रियामा गइसक्यो ।’सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियारले सरकारीको समस्या सामधान गर्ने प्रयास भइरहेको बताए । सहकारीले लगानी गरेको ऋण नउठेका कारण समस्या भएको बताउँदै उनले बाहिर हल्ला भएजस्तो समस्या नभएको बताए । एक कार्यकाल सञ्चालक सदस्य रहेकी अन्जला कोइरालाले राजीनामा दिइसकेको उनको भनाइ छ ।

बिहिबार, २७ भदौ, २०८१, बिहानको ०८:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर