प्रतिश श्रेष्ठ
म झुल भित्र सुतेको मान्छे मच्छडहरुले टोकेर बिउँझिएँ। बत्ती बालेँ। दुलो परेको झुलभित्र कम्तीमा पनि १० वटा मच्छडहरु मेरो अलिअलि भएको रगत चुसेर ढाडिएर उड्दै थिए । केही अघाएर बसेका थिए । अरु बेला भन्दा आज भने मलाई रिस उठ्यो, आक्रोशित भएँ, गहिरो निन्द्राबाट एक्कासी बिउँझिएको जो थिए । मैले अहिंसाको सिद्धान्तलाई एकछिन साइड लगाएँ र सबै रक्तपिपासुहरुलाई निर्मम भएर सफाया गरें । आज विरोधाभास भयो । मलाई मच्छड मात्रै होइन कमिला पनि मार्न असहज लाग्छ । तर आज म हत्यारा भएँ । मलाई कहिले काँही यस्तो लाग्छ कि जब अन्याय र अत्याचारले सीमा नाघ्छ, जब तपाईंको शान्तीमा निरन्तर बाधा आउँछ, जब मान्छे आफूलाई कुनै तत्वबाट निरन्तर आक्रमण हुन्छ भने तब प्रतिकारमा जो कोई ओर्लिन्छ । ओर्लिनुपर्छ । कहिले काँही बुद्ध पनि मार्क्स बन्छ, बन्नु पर्ने हुन्छ । संगती र असंगती दुवैको समिश्रणमा म आफूलाई पाउँछु । २ः४० भएछ । हात भरी रगत भएछ । म झनै सुत्न सकिन। छट्पटी हुन थाल्यो। प्यासले घाँटी सुकेछ । उठे । एक गिलास पानि लिएर आगनमा बसेर आधा आकृति भएको जुनलाई हेरिरहेँ । आधा जुनको हल्का प्रकाश धर्तीमा अलिअलि छरिएको छ । ताराहरु स्पष्ट टिलिक्क चम्किरहेका छन् । हल्का हावाको झोंकाले चिसो मनलाई झन् चिसो बनाइरह्यो । एक्कासी मेरो मानसपटलमा गाँजाका मानिसहरूको, वृद्ध अनि बालबालिकाहरुको याद आयो । विगत लामो समयदेखि गाँजामा भईरहेको इजरेली क्रूरता अनि बर्बरतालाई नजिकबाट निरन्तर द्रष्टा भई नियालिरहेको जो छु । म फिल्मको दृश्य झै देख्न थाल्छु आँखा अघि बमहरु पड्केको, हेलीले जथाभाबी बम वर्षाएको, घरहरु बमले उडेको, आगो लागेको, मानिसहरू कराउँदै भागाभाग गरेको, सडकमा ताजा लाशहरु, बम बारूद गोलीले छट्पटिएको शरिरहरु, यमराजको बाहान जस्तो ट्यांकर गुडेको, त्यसको डरलाग्दो आवाज, गोली बर्साइरहेका फलामे बुटहरु, रोबटझै देखिने गोली बर्साउँदै हिँडेका इजरेली सेनाहरू, बालबालिकाका चिच्चाहटहरु, भोका प्यासा मानिसहरु, धुवाँ धुलोका मुस्लोहरु, भाग्नमा व्यस्त चराहरू, तहसनहस खण्डहर सहर, एम्बुलेन्सका साइरनका आवाजहरू, हिटलर झैं देखिने र लाग्ने इजरेली प्रधानमन्त्री बेन्जामिन नेत्यान्हु । उनका क्रूर सैनिकहरू, समाचारमा आउने यस्तै यस्तै दृश्यहरु, एकैपटक धाराप्रवाहमा मेरो मन मस्तिष्क कब्जा गर्न थाल्छ। म एनजाइटी भएर एक्कासी लामो सास फेर्छु, आँखा खोल्छु, बिस्तारै आँखामा नुनिलो पानी उम्रिन थाल्छन्, एक थोपा खस्न खोज्दा खोज्दै म रोक्छु। अनि कठोर हुने कोसिस स्वरूप आफूलाई सम्हाल्छु। मेरो मन ती निर्दोष कलिला आत्माहरू प्रति प्रेमले भावबिहोर हुन्छ । म सम्झिन्छु अलजजिराको एउटा समाचार जहाँ एउटा ६–७ वर्षको नानीले आफ्नो ३–४ वर्षको भाइलाई खाली खुट्टा भग्नावशेषले भरिएको बाटोमा सकिनसकी बोक्दै कतै हिँडिरहेको । भाइको खुट्टामा व्याण्डेज थियो । ती नानीको निर्दोष दुःखी अनुहार, उनीहरू कस्तो कस्तो अवस्ता बाट गुज्रिए होलान्, भोकै हिँडेका होलान्, कस्तो कुराहरू मनमा चल्थे होला, भन्ने कुराहरू मेरो मनमा चलिरह्यो । म एकक्षण हमास समूहको सदस्य बनेको कल्पना गर्छु। हात मुठी पार्छु । फेरि बिस्तारै खोल्छु । अनि म मोबाइल झिकेर लेख्न थाल्छु ।
ठीक १ वर्ष अघि ७ अक्टोबर २०२३ मा मध्य पूर्व एसियामा प्यालेस्टाइनको विद्रोही समुह हमासका लडाकुहरुले छिमेकी देश इजरायलमा हतियारसहित पसेर करिब १२०० नागरिक लाई हत्या गरी २५० जतिलाई अपहरण गरेर प्यालेस्टाइनको राजधानी गाँजा पुर्याएका थिए । केही अमेरिकीलाई मारिएको र अपहरण पनि गरिएको थियो । यो हमला हमासले इरायलसँगको आफ्नो दशकौ लामो युद्धमा गरेको सबै भन्दा ठूलो हमला थियो । जुन सफल पनि भयो । तर यो हमलाले कस्तो अनिष्ट तिर गाँजा र समग्र मध्यपूर्व र विश्वलाई नै लग्नेछ भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन् होला। त्यस दिन प्यालेस्टेनी जनताको लागि हमासले आफैंले निम्त्याएको कालको आमन्त्रण थियो । यो युद्ध इरायल र प्यालस्टाइन बीचको आजसम्मकै ठूलो र डरलाग्दो युद्ध भयो । जसको मूल्य गाँजाका सर्वसाधारणले चुकाउनुपरेको छ ।
हमासले गरेको आक्रमणको दिनदेखि आजसम्म रिसले चुर भएको प्रधानमन्त्री नेत्यन्हुको सरकार र इजायली आर्मीहरुले गाँजामा यस्तो विध्वंस मच्चाए, मच्चाइरहेका छन् कि आजसम्म ५० हजार भन्दा बढी त सर्वसाधारण जनता मारिसकेका छन् भने एक लाख भन्दा बढी मानिस घाइते तथा अपाङ्ग भएका छन् । त्यसमा अधिकांश निर्दोष महिला अनि बालबालिका प्रमुख शिकार भए । यो युद्धले एकपटक फेरी हिटलर र नाजीको याद दिलाएको छ । किनकी यो कुनै सैन्य बलबीचको लडाई नभएर प्यालेस्टाइनको पुरै जनतालाई सखाप पारेर छाड्ने नरसंहार गर्ने गरिको आक्रमण इजराइल सरकारले गर्यो। किनकी इजरेली आर्मीले बम बर्साउन कुनै ठाउँ छोडेनन् । न बस्ती, न स्कूल, न हस्पिटल, न सुरक्षित भनिएका क्याम्प । बम बर्साउन बाँकी अब गाँजामा कुनै ठाउँ छैनन होला । बमले बाँकी राखेको कुनै घर छैनन् । सबै घरहरू ध्वस्त छन् । बस्तीहरू चिहानमा परिणत भएका छन्। बाटो भरि घरका भग्नावशेषहरु लडेका छन् । गाँजामा बिजुली, इन्टरनेट त पर को कुरा पानी र खाने कुराको ठूलो हाहाकार छ । औषधि उपचारको पनि सुविधा छैन। हस्पिटलमा घाइतेहरु धेर भएर राख्ने ठाउँ छैन । अझ त्यस माथि इजरेली सेनाले हस्पिटलमा समेत मिसाइल खसालिरहेका छन् । घाइतेलाई अस्पताल लग्नलाई एम्बुलेन्स छैन, भएका एम्बुलेन्स सञ्चालन गर्न तेल छैन। गाँजामा आज सबै कुराको हाहाकार छ, हुन्छ होला युद्ध ग्रस्त देशमा। तर प्यालेस्टाइन यस्तो देश हो जो भूगोलमा सानो र आर्थिक रूपले पनि निकै गरीब देश हो । यस्तो देशमा इजराइल जस्तो शक्तिशाली देशले अमेरिका जस्तो महाशक्तिशाली देशको आडमा गरेको भीषण र बर्बरतापूर्ण आक्रमणले यो देशलाई कति क्षतविक्षत पारेको होला म सोच्न पनि सक्दिनँ । गाजाका हरेक घरका कोई न कोई सदस्य मारिएका अनि अङ्गभङ्ग भएका छन् । ती बाँचेर पनि मरे तुल्य पारिएका जिउँदो लाशहरु कुन अवस्थामा होलान् म सोच्न पनि सक्दिनँ । गोली, बम पड्किएको सुन्दा सुन्दा, आफ्नो वरीपरी आफ्नै बाउ आमा, दिदी बहिनीको लाशहरु, घाइते भई छट्पटिएको, रगतले लत्पतिएको देख्दा त्यो सानो अबोध बालबालिकामा के बित्यो होला म सोच्न पनि सक्दिनँ । एकातिर शोक छ, अर्को तिर भोक छ, मान्छे रुँदा रुँदै घाउले दुख्दा दुख्दै कसरी गास मुखमा हालिरहेका होलान् त्यो बेला कस्तो मनोभावबाट कोई गुज्रिन्छ होला म सोच्न सक्दिनँ । आज गाजामा आँशु र रगतको नदी बगिरहेको होला। आँखाबाट आँसु सकिएर रगत पनि बग्यो होला । एउटी आमालाई आफ्नै अगाडी छोराछोरीको मृत्यु देख्दा कस्तो भयो होला म सोच्न सक्दिनँ । एउटा वृद्धलाई मर्नेबेला आफ्ना शाखा सन्तान जति सबै मारिएको, सारा गाउँ शहर रणभूमि भएर तहसनहस भएको विवश भएर टुलुटुलु हेरेर बस्नु पर्दा कस्तो भयो होला ? यो सब भोग्नेलाई नै थाहा छ ।
अनि म यसो सोच्छु यो युएन भन्ने निकाए कहाँ लुकेर बसेको छ ? किन यो सब बर्बरतापूर्ण विनास को अन्त्य गर्दैन, गर्नचाहँदैन ? यत्रो ठूला राष्ट्रहरू किन रोक्दैनन् इजरायललाई ? मानवता नै सकिसक्दा मानव अधिकार वालाहरु के हेरेर बसिरहेका छन् ? ठूला–ठूला देशहरू किन यो युद्ध रोक्न कस्सिएर लाग्दैनन् ? मलाई उग्र असन्तुष्टि, रिस सहितको अचम्म लाग्छ । खुलमखुल्ला एउटा सानो देशमा हिटलरले नरसंहार गरिरहदा सारा विश्व तमासा हेरिराछ । कत्रो अन्याय ! कस्तो बिडम्बना !
आज को युग मा पनि एउटा महाशक्तिशाली देशहरू मिलेर एउटा सानो निरिह कमजोर देश माथि यतिसम्मको अत्याचार गर्नु र सबै मुखदर्शक हुनु ठूलो विडम्बना हो । हमासले बन्धक पारेका इज्रेलीहरुलाई वार्ताको माध्यमबाट घर फर्काउनुको साटो पुरै प्यालेस्टाइन नै सखाप पार्ने इजरेली सरकारको प्रतिशोधपूर्ण क्रूर व्यवहार र अत्याचार क्षम्य छैन । गाँजाका बालबालिकाको आँशु एकदिन अवश्य इजराइललाई लाग्नेछ । किनकि त्यही बालक जसको आमा, बुवा, दिदी बहिनी वा साथी मारिएको छ, त्यही बालक एकदिन ठूलो भएर फेरी हमास वा हिजबुलाहको लडाकु बन्नेछन् र इजरायल माथि बद्ला लिनेछन्। त्यसैले हमास समूह कहिले सकिने छैन।
युक्रेन रूस युद्ध पछि प्रत्येक दिन समाचार हेर्छु म । आजकाल त झन् कुलत जस्तै भको छ नहेरी निन्द्रा नै नलाग्ने खालको । बम पड्केको, मान्छे मरेको सुन्दा, समाचार हेर्न मन लाग्दैन। हिंसा हेर्न सुन्न म हेर्दिन । हत्या हिंसाको समाचार सुन्दा आनन्द कसैलाई आउँदैन । म समाचार यस आशामा हेर्छु की अब गाजमा युद्धबिराम पो हुने भयो कि, प्रभुले युद्ध पो रोकिदिनू भयो कि ! नभए सिंहसँग लड्न जंगलमा अर्को सिंह पो आयो कि ! खैर हेर्नेलाई पनि सिंह सिंह लडेको हेर्दा त्यति पीडा हुँदैन जति सिंहले हरिणलाई खेदाई खेदाइ रमाई रमाई उल्टाई पल्टाई लछारपछार पारेर मारेको देख्दा हुन्छ । दुब्लो, पातलो, सानोलाई ठूलोले हेपेको संवेदनशील मनलाई मनपर्दैन । लडाई झगडा नगर्नु भनेर भन्दा जनावरको जातले मान्ने भए पो ।
अहिले गाँजालाई पुरै आगो लगाएर खरानी बनाएर त्यसको मात लागेर इजरेली सेना लेबनान तिर आगो सल्काउन लागेको छ आफ्नो अतृप्त भोक मेटाउन । उसलाई पचास हजार भन्दा बढी को ज्यान लिएर नपुगेर अहिले गाँजासहित लेबनानमा पनि भिषण आक्रमण गरिरहेको छ । त्यहाँ पनि चार हजार भन्दा बढी मानिसहरु मारिसकेका छन् । लेबनानमा भर्खर छिरेको इजरेली सेना लेबनान पनि सकेर नै फर्कनेमा निश्चित छ । अनि अर्कोतर्फ ईरानलाई भर्खर आक्रमण गरेर द्वन्द्व बढाएको छ । इरानले पनि जवाफी हमला गर्ने कुरा आएको छ । यदि इजरायल र ईरानको प्रत्यक्ष युद्ध भयो भने त तेस्रो विश्व युद्ध नै हुनेछ । किनकी ईरानले आक्रमण गरे इजरायलको समर्थनमा अमेरिका, ब्रिटेन जस्ता मुलुक आउनेछन् भने ईरानको समर्थनमा रूस, चीन र उत्तर कोरिया आउने नै छन् र सारा विश्व दुई ध्रुबमा विभाजित हुनेछ र तेस्रो विश्व युद्धको प्रारम्भ हुनेछ जसको ट्रेलर रूस युक्रेन युद्ध र अहिलेको मध्यपूर्वको युद्ध हो ।
तेस्रो विश्व युद्ध जुनसुकै बेला हुनसक्छ, यदि भइहाल्यो भने त्यो पहिलो र दोस्रो भन्दा कयौं गुणा ठूलो हुनेछ र त्यसले समग्र विश्वकै नक्सा बदल्ने निश्चित छ। त्यसैले अहिलेको समयमा नेपाल जस्तो सुरक्षित देश अरु कुनै छैन । त्यसैले विदेश जाँदा कुन ठाउँ जान आँटेको हो ख्याल गरेर जानु बेस हुन्छ । अझ शक्तिशाली देशमा नै धेरै डर हुन्छ। किन हो मलाई सानैदेखि एउटा मात्र देश जाने इच्छा बिल्कुलै भएन जहाँ जान नेपालीहरु जे पनि गर्न तयार हुन्छन्। खतरनाक समुद्री यात्रा गरेर भएपनि त्या पुग्न खोज्छन्। मानौं त्या पुग्नु त्यो देशको बासिन्दा हुनु उनीहरूको लागि स्वर्ग पुग्नु सरह हो । नहोस् पनि कसरी त्या के छैन सबथोक छ भन्ने भनाइ छ । विश्वको महाताकत्वर, महाधनी, महान देश जो भन्ने गरिन्छ । आफैलाई भन्ने गर्छन् । तर मलाई कहिले महान देश पुगेर महान हुन मनलागेन। त्यसैले मैले महान देशको महान नागरिक बन्न कहिले डीभी भरिन तथापि मेरो पासपोर्ट बनेको धेरै वर्ष भइसक्यो। डीभी फेरि खुलेछ अब त झन् सोच्न पनि सक्दिनँ। तथापि प्रत्येक वर्ष घरमा भिडी भर भन्छन्। म सानैदेखि सोच्थेकी म बरु आफ्नै देशमा कृषक बन्छु तर केही सुख सुविधाका लागि कसैको दास बन्दिन, आत्मसम्मान मा सम्झौता गर्दिन (विदेशिने सबै आत्मसम्मान मा बाचेका छैनन भन्ने आशय भने होइन)।
आफ्नो देशको माया, यहाँको शान्ति, यहाँको प्रकृति, संस्कृति, यहाको सबथोक जो झन्झन् प्यारो लाग्छ । म नेपाली रुपैयाँ मै पनि अधिकतम खुसी छु । तर डलरमा करोडौं मानिसहरूको खुन लत्पतिएको देख्छु म आजकाल । डलर जती महंगो छ त्यति नै अनैतिक पनि छ । त्यो डलरमा म लोभिन सक्दिनँ जो सैन्य शक्तिको बलमा कमजोर देशलाई कब्जा गरी, कसैको रगत र आँशुले शक्तिशाली भई आफ्नो कुरुप दम्भमा विश्वलाई घुँडा टेकाएर राज गरिरहेको छ । डलर आफ्नो साम्राज्य विस्तार गर्न जस्तो सुकै अनैतिक र अत्याचारी कदम चाल्न पनि पछि हट्दैनन्। म कमजोर रुपैयाँमै रमाउँछु बरु । मलाई धेर चाहिएन। ‘भोकै मर्छु तर पैसाको निम्ति आफ्नो आत्मा बेच्ने छैन’ भन्ने कुरा आज आत्मसाथ गर्न मनलाग्यो ।
कस्तो विडम्बना ! आफ्नो जीवनको पहिलो लेख मान्छे कति प्रफुल्लित भै कुनै प्रेमील विषय वा भनौं कुनै रोचक विषयमा लेख्न मनगर्छ होला तर म बबुरो चाहिँ दुःखी भई युद्धको विषयमा आफ्नो असन्तुष्टी र पीडा पोख्न कलमको सहारा लिँदैछु। कति निरस ! सायद अचेतनमा म पनि युद्धको छर्राले पोलेको बालक भएर पनि होला युद्धप्रति अझ युद्धले निम्त्याउने भयावह अवस्थाप्रति चासो र चिन्ता लिन्छु। युद्धमा आफ्नो परिवारको सदस्य गुमाएको एउटा बालक, एउटी श्रीमती, एउटा परिवारमा के कस्तो प्रभाव निम्त्याउँछ त्यो भोग्नेलाई नै थाहा हुन्छ। मानौं त्यो परिवारनै अदृश्य–अप्रत्यक्ष रूपले युद्धमा सामेल हुँदोरहेछ । फेरि युद्ध सकिए पनि त्यसले दिने आर्थिक, सामाजिक, भावनात्मक, अभाव र पीडा त जीवन भरी ठूलो भारी बन्छ । युद्धले बाउ मर्दा उसका छोराछोरीको भविष्य पनि मर्छ। गाँजाका बालकहरु कुन हालतमा होला, कुन मनोदशामा होला, कति छट्पटाई रहेका होलान्, म अलि अलि भन्न सक्छु, कल्पना गर्न सक्छु । एकछिन एक्कासी भावनामा बग्छु, ती निर्दोष कलिला बालबालिकाहरुलाई सम्झिँदा उनीहरूको अवस्थालाई कल्पना गर्दा अँगालो हाल्न मन लाग्छ । मेरो विरोध, मेरो प्रेम, मेरो प्रार्थना यही लेखमार्फत गर्नु बाहेक मैले केही गर्न सक्दिन । अझ यो युद्धलाई सुरुदेखि समाचारमा नियमित हेर्दा हेर्दा म आफै प्यालेस्टेनी हुँ की जस्तो भएको छु ।
गाँजा र लेबनानको युद्ध आजै समाप्त होस, घाउहरू चाँडै निको हुन्, केटाकेटीहरु चाडै ढुक्क ले खेल्न पाउन भनि प्रार्थना गर्छु । धार्मिक मान्छेहरुको कमी जो छैन हाम्रो तिर । तर जति ठुलोठूलो आवाजले घण्टी बजाए पनि हातमा लाग्यो सुन्ना ! मान्छेहरु, पशुपन्छीहरु आफ्नै नियमित जिन्दगीमा फर्किन थाले । म बबुरो पनि आजको दिन के गरेर काट्ने भनेर सोच्न थाल्छु । त्यो भन्दा पहिला चाहिँअघि एक गिलास खाको पानीको शीघ्र व्यवस्थापन गर्नुपर्ने बाध्यता आइलाग्यो। म मेरो कलमलाई विश्राम दिँदै मोबाइल बन्द गर्न पुग्छु। आएर एक पल्ट बिहानीको खुराक मध्यपूर्व अपडेट लिनु पनि पर्ने नै भएको छ । कतै वार्ता शार्ता हुने भएर यो अत्याचारी अँध्यारो रातको अन्त्य पो हुने हो कि !
“मेरो प्यारो दाजुलाई धेरै धेरै धन्यवाद!”