विराटनगरमा उपचाररत थप ८ जना कोरोनामुक्त, शुक्रबार डिस्चार्ज हुने

कोरोनाको कुनैपनि लक्षणसमेत नभएका संक्रमित सबैको अवस्था सामान्य

विराटनगर । विराटनगरमा उपचाररत उदयपुरको भुल्केका थप ८ जना संक्रमितहरुले कोरोनालाई जितेका छन् ।

सोमबारदेखि लगातार दुई पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिने भएको छ ।

विराटनगर स्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा रहेका ६ जना बुधबार कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए । अस्पतालको आइसोलेसनमा रहेका थप ८ जना कोरोनामुक्त पुष्टि भएकोले शुक्रबार डिस्चार्ज गरिने प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

भारतीय जमाती एक जना, विराटनगर १७ का २ जना र एक महिलासहित भुल्केका स्थानीय ५ जनाले कारोना परास्त गरेका हुन् । उनीहरुमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो ।

अस्पतालको आइसोलेसनमा राखिएको भएपनि उनीहरु कसैलाई पनि औषधि भने दिन नपरेकोृ अस्पतालले जनाएको छ । चिकित्स्कीय निगरानीमा रहेका उनीहरुले आफ्नै रोग प्रतिरोध क्षमताले कोरोना परास्त गरेका हुन् । अस्पतालको आइसोलेसनमा रहेका भुल्केका बाँकी ७ जनाको रिपोर्ट पोजिटिभ नै आएको छ ।

प्रदेशमा कोरोना संक्रमित देखिएका उदयपुरका २८, झापाका २ र भोजपुरका १ जना अस्पतालमा राखिएको थियो । उनीहरुमध्ये ६ जना डिस्चार्ज भइसकेको र ८ जना शुक्रबार डिस्चार्ज भएपछि बाँकी १७ जना रहनेछन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्रले जानकारी दिनुभयो । अस्पतालमा रहेकाहरुलाई कोरोनाको लक्षणसमेत देखिएको छैन ।

अस्पतालबाट कोरोनामुक्त भएकाहरुलाई केही समय क्वारेन्टाइनमा राखिनेछ । यसअघि डिस्चार्ज भएका ६ जनालाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टाइनमा राखिएको छ ।

प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको कोरोनाा परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

बिहिबार, २५ बैशाख, २०७७, साँझको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर