पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं.१ बाट लकडाउनको यो समयमा पनि तासको खालबाट १० जना पक्राउ परेको छ । पथरीका एलिट समुदायकै व्यक्तिहरु जुवाखालबाट समातिएपछि उनीहरुलाई कारवाही गर्ने विषयमा स्थानीय प्रहरी नै अलमलिएको छ ।
खालबाट माधव कोइराला, मदन गुरागाई, राजेन्द्र बस्नेत, रोशन बुढाथोकी, प्रदिप फुयल, कुमार श्रेष्ठ, कमन सुन्दास, सुगम सुन्दास कुमार बिक, सुर्य गुरुङ पक्राउ परेको हो । पक्राउ पर्ने व्यक्तिहरु पथरीशनिश्चरे नगरपालिका १ बजारका हुन् भने सुर्य गुरुङ झापा दमकका हुन् ।
जुवा खेल्दै गरेको सूचना आएपछि प्रहरी पुग्दा पथरीको परशु गुरुङको घरबाट उनिहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी दिलिपकुमार गिरीले बताए । परशु गुरुङ तरुण दलका क्षेत्रीय नेता हुन् ।
तासको खालबाट तीन बुङ तास र १६ हजार नगद बरामद भएको डीएसपी गिरीले जानकारी दिए । घट्नाबारे जिल्ला र १ नम्बर प्रदेश प्रहरी कार्यालयमा जानकारी गराएको गिरीले बताए ।
प्रहरी नियन्त्रणमा परेका माधव कोइराला सुनचाँदी ब्यबसायी संघ पथरीको अध्यक्ष, रोशन बुढाथोकी लाइन्स क्लब पथरीको पुर्ब अध्यक्ष, राजेन्द्र बस्नेत पथरी जेसीजको पूर्ब अध्यक्ष हुन् । मदन गुरागाई, प्रदिप फुयल, कुमार श्रेष्ठ लगायत ब्याबसायी हुन् ।