किमाथाङ्का नाकाले कोशी अर्थतन्त्र सुधार हुन्छ : मुख्यमन्त्री कार्की

संखुवासभा ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चीनसँग जोडिएका १४ वटै नाका पुनः सञ्चालनमा आएपछि कोशी प्रदेशको अर्थतन्त्र चलायमान र सुधार हुने बताए। सीमानाका खुलेसँगै कोशी प्रदेश र उच्च हिमाली क्षेत्रका जनताको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउने मुख्यमन्त्री कार्कीले बताए। चीनको छेन्ताङमा भएको नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले राजस्वमा वृद्धि हुने, स्थानीय उत्पादनको बिक्री तथा रोजगार सिर्जना हुने बताए।

उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्वत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा शनिबार एक समारोहका बीच किमाथाङ्का सहित नेपाल(चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रुपमा घोषणा गरेका थिए । नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको भोटखोलाका स्थानीयको जनजीवन कष्टकर हुँदै आएका थिए। भोटखोला गाउँपालिकाका अधिकांश जनता खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए।

सीमानाका खुल्ने तयारीसँगै आवश्यक सरकारी कार्यालय पुनःस्थापनाको प्रक्रिया अघि बढेको छ। नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापारिक नाका पुनः सञ्चालनको उद्घाटन समारोहमा सहभागी हुन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल चीनको छेन्ताङमा पुगेको थियो। उत्तरी क्षेत्रमा किमाथाङ्कामा वि.स. २०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो। तर द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार २०५७ साल देखि सदरमुकाम खाँदबारी रहेको छ। भोटखोलाबासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र पनि वितरण गरिसकिएको भोटखोला गाउँपालिका वाङछेदर भोटेले बताउनुभयो। भोटखोलाको किमाथाङ्का नाका सदरमुकाम खाँदबारीदेखि करिब १ सय ६२ किलोमिटर टाढा पर्दछ।

आइतबार, १३ जेठ, २०८१, साँझको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर