विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडा नं. ६, ७ र ८ भित्र पर्ने दुई सडकखण्ड विस्तारको काम सुरु भएको छ । सडकलाई चारलेनमा विस्तार गर्ने कार्य बिहीबारबाट सुरु भएको हो ।
मोरङको सुन्दरहरैंचास्थित ‘चन्द्रनगरबाट पूर्वाञ्चल विश्वविद्यालय हुँदै गोठगाउँ’ र ‘महेश्वर सुब्बा मार्ग हुँदैै लाटीझोडा’ सम्मको दुई सडकखण्ड विस्तारको काम सुरु भएको हो । पूर्वप्रधानमन्त्री ओलीले बिहीबार उक्त दुई आयोजनाको शिलान्यास गरेका हुन् । सुन्दरहरैंचाको वडा ६, ७ र ८ भित्र पर्ने उक्त सडकखण्डहरुलाई दुवैतर्फ डे«नसहित दुईलेनमा स्तरोन्नति गर्ने योजना रहेको नगरपालिकाका मेयर केदार गुरागाइले बताए । उनका अनुसार आगामी एक वर्षभित्र सम्पन्न हुनेगरी सडक स्तरोन्नतिको कार्य अघि बढाइएको हो ।
सडक विस्तारका निम्त्ति नगरपालिकाले गत वैशाख १० गते नै मकवानपुरको लामा बानियाँ जेभीसँग सम्झौता गरिसकेको छ । कुल ४५ करोड ८५ लाख २३ हजार ६६९ रुपैयाँमा सडक विस्तार सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार अब विस्तार हुने सडक दुवैतर्फ सडकबत्ती, फुटपाथ, पक्की डे«न, ८ वटा पाईप कल्भर्ट, १४ वटा बक्स कल्भर्ट र ट्राफिक लाईट सिग्नलसहितको हुनेछ । सडकको गुुणस्तरमा कुनै कमी नहुने दाबी नगरपालिकाको छ । सडकको शिलान्यास गर्दै एमाले अध्यक्ष ओलीलेसमेत सडक निमार्णमा कुनै किसिमको लापरबाही नगर्न निमार्ण कम्पनीलाई निर्देशन दिए । चन्द्रनगर–विश्वविद्यालय–गोठगाउँ ४ किलोमिटर र महेश्वर सुब्बा मार्ग–लाटीझोडा ५ किलोमिटर सडकखण्ड विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको हो ।