विराटनगर । विराटनगर–१० न्यूरो हस्पिटल अगाडि रहेको दिलाबर फार्मेसीले विरामीले खरिद नगरेको औषधी प्रेस्कृप्सनमा देखाएर ठगी गर्ने गरेको पाइएको छ ।
दिलाबर फार्मेसीले एक भाइलको १ हजार ६५० रुपैयाँ पर्ने ‘सिस्ट्रा’ इन्जेक्सन चिकित्सकले प्रेस्कृप्सनमा नलेखिदिए पनि बिलमा चढाएर ठगी गरेको प्रमाण हाम्रोमतले भेटेको हो ।
उक्त फार्मेसीले २८ फागुन २०८० मा चिकित्सकले लेखेको प्रेस्कृप्सनमा उल्लेख नभएको २० भाइल सिस्ट्रा इन्जेक्सन नगदी बिलमा इन्ट्रि गरेर ३३ हजार २४ रुपैयाँ ठगी गरेको पाइएको हो ।
यो फार्मेसीबाट भारत ग्राम हरिपुर ६ का वर्ष ८० का शेख नइम ठगीएका हुन् । उनी २६ फागुनमा सवारी दुर्घटननामा परी न्यूरो अस्पतालमा भर्ना भएका थिए । उनले उपचारमा आवश्यक पर्ने औषधी हस्पिटल अगाडिको दिलाबर फार्मेसीबाट लिने गरेका थिए । हस्पिटलबाट डिस्चार्ज हुँदा उपचार गरेको हस्पिटलको भन्दा फार्मेसीको महंगो बिल आएपछि उनी अचम्ममा परे । जम्मा २ लाख ५० हजार बढीको फार्मेसीको बिल आएको थियो । ‘यति धेरै बिल आएपछि अच्चममा परे । बाबुको उपचार गर्न लिएर आएका छोरा नैचर समसादले भने, ‘पछि हस्पिटलले दिएको प्रेस्कृप्सन र फार्मेसीले दिएको नगदी बिल भिडाएर हेर्दा महंगो इन्जिेक्सन सिस्ट्रा इन्ट्रि गरेर रकम असुली गरेको पत्ता लाग्यो,’ उनले दिएको निवेदनमा भनिएको छ, ‘यसरी विरामी ठगी गर्ने फार्मेसीलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने माग राखेका छन् ।’
बावुको उपचारमा ४७ वटा बिल फार्मेशीले दिएको छ । एउटा बिलमा चेक गर्दा ३० हजार ठगी भएको पत्ता लागेको हो । अन्य बिल चेक गर्दा अरुमा पनि ठगीएको हुनसक्ने विरामीको आशंका रहेको छ । त्यसैले प्रहरी प्रशासनले ठगी गर्ने फार्मेसीविरुद्ध छानविन गरी दोषी देखिए कारवाहीको दायरमा ल्याउनुपर्ने विरामीको माग छ ।
यता फार्मेशीका संचालक मो.दिलावरले काम गर्ने क्रममा झुक्एिर मिस्टेक भएको बताए । ‘फार्मेशीलाई बढी दिएको पैसा विरामीलाई फर्ता दिने कुरा भएको छ,’ उनले भने, ‘विरामी बुधबारसम्म आउने कुरा छ । आएपछि हामी त्यो पैसाँ फिर्ता दिनेछौं ।’
यसअघि पनि परिमाण र औषधीमा बढी मुल्य हालेर विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडिको फार्मेसीले विरामीलाई खुलेआम ठगी भएको थियो । गत जेठमा चिरञ्जीवी फार्मेसीले मोरङको कटहरी गाउँपालिका १ मा घर भएका विकेश सरदारलाई ठगी गरेको थियो ।हस्पिटलभित्रका फार्मेसीले भन्दा सस्तो र छुट बढी दिने लोभले बाहिरको फार्मेसीबाट औषधि खरिद गरेका थिए । जब उनी ठिक भएर चिकित्सकले डिस्चार्ज हुने दिन खरिद गरेर उपचारमा प्रयोग भएका औषधिको बिल फार्मेसीले देखाए उनी तीन छक्क परे । किनभने, फार्मेसीले दिएको बिलमा उल्लेख भएको औषधिको परिमाण र मूल्य बढी हालेको शंका उनलाई भयो । ठगीमा परेको शंका लागेपछि उनले त्यही अगाडिको अर्को फार्मेसीमा गएर बुझ्दा मूल्य र परिमाण बढाएको देखियो ।
नियामक निकाय मौन
यी दुई घटनाले कमाउँ धन्दामा लागेको फार्मेसीले कसरी विरामी ठगी गर्छन भन्ने प्रतिनधीमूलक घटना हो । अहिले चाँडै पैसा कमाउने धन्दामा लागेका केही फार्मेसीले बिरामीले लादै नलगेको औषधी चढाउने, औषधीको परिमाण बढाउने र सर्जिकल सामानमा बढी मूल्य हालेर बिरामीसँग ठगी गर्ने गरेको एकपछि अर्को गर्दै घटनाहरू बाहिर आउने गरेका छन् । औषधीजन्य वस्तुको अनुगमन गर्ने निकाय औषधी व्यवस्था विभाग र विरामीसँग बढी मूल्य लिएको जानकारी पाए अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय हो । तर, अनुगमनको जिम्मेवारी पाएको यी नियांमक निकायहरु नै मौन बसिदिदा ठगीधन्दा फस्टाएको छ ।
नियांमक निकाय औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काले बढी मूल्य लिएर ठगी गरेको घटना विभाग नहेर्ने भन्दै पन्छिए । ‘बढी मूल्य लिएर ठगी गरेको घटना विभागले हेर्दैन्,’ उनले भने, ‘कालाबजारीतिर जाने भएकोले यो घटना प्रशासनले हेर्ने गर्दछ ।’
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बिरामीलाई बढी मूल्य लिएर ठगी गरेको पाइए कारवाहीको दायरामा ल्याउने बताए । ‘चिकित्सकले सिफारिस नगरेको औषधी राखेर बिक्री गर्न त्यसरी पाइदैन । तोकिएको मूल्यभन्दा बढी रकम लिन कसैले पनि पाउँदैन । यदि बढी मूल्य लिएर ठगी गरेको पाइए कारवाहीको दायरामा ल्याउनेछौं,’ उनले भने ।
फार्मेसीको संस्था नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्दु ढकालले विरामी ठगी गरेको पुष्टि भए त्यस्ता फार्मेशीलाई नियमक निकायले कारवाहि गरिनुपर्ने बताए । ‘हामीले व्यवसायीहरुलाई पटक पटक मर्यादित र स्वच्छ तरिकाले व्यापार व्यवसाय गर्नुस् भन्दै आएका छौं,’ अध्यक्ष ढकालले भने, ‘यति अटेरी गरी मनलाग्दी रुपमा विरामी ठगी गर्ने जो कोही पनि कारवाहीको दायरामा आउनुपर्छ ।’
यस्तो छ कानुनी व्यवस्था
कालाबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले नेपाल सरकारले मोल निर्धारण गरेको वस्तुमा उत्पादक, आयातकर्ता वा मुख्य वितरकले निर्धारित मोलभन्दा बढी लिई बिक्री गर्न नहुने व्यवस्था छ । त्यसो गरेमा एक वर्षसम्म कैद र दश लाख रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ ।