अन्यलाई नियुक्ति गर्ने चलखेल रोकियो, पञ्चायतमा दृष्टिबिहिन राहत कोटा कायम

विराटनगर । चौतर्फी रूपमा विरोध भएपछि मोरङको पथरीशनिश्चरे नगरपालिका– १ स्थित श्री पञ्चायत माविमा दृष्टिबिहिन राहत कोटा हटाएर खुल्लातर्फबाट शिक्षक नियुक्तिको लागि खुलाएको विज्ञापन रद्द भएको छ ।

नेत्रहीन युवा संघ मोरङ र राष्ट्रिय अपाङ महासंघ कोशी प्रदेशले विरोध गरेपछि दृष्टिबिहिन राहत कोटालाई कायम गरि शिक्षक नियुक्तिको लागि नयाँ विज्ञापन आव्हान गर्ने भएको हो ।

विगत १८ वर्षदेखि रहेको प्राथमिक तह तृतीय श्रेणी अपाङ्ग दृष्टिबिहिन राहत कोटाको दरबन्दी हटाएर खुल्लातर्फबाट शिक्षक नियुक्ति गर्ने उद्देश्यले विद्यालयले २७ चैत २०८० मा आवेदनको अन्तिम मिति राखेर १३ चैतमा शिक्षक नियुक्तिको विज्ञापन आव्हान गरेको थियो । विद्यालयले अपाङ्गता राहत कोटा हटाएर खुल्लाबाट शिक्षक नियुक्तिको तयारी गरेको पाइएपछि नेत्रहीन युवा संघ मोरङ र राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले विरोध जनाएको थियो ।

दुबै संस्थाले विद्यालय र नगरपालिको शिक्षा महाशाखामा पनि ज्ञापन पत्र बुझाएका थिए । चौतर्फी रुपमा विरोध भएपछि विद्यालयले खुल्लाबाट राहत शिक्षक नियुक्तिको प्रक्रिया तत्कालाई स्थगित गरेको छ ।

पञ्चायत माविका प्रधानध्यापक अर्जुनकुमार बुढाथोकीले अब अपाङ्गता राहत कोटा नै कायम गरेर विज्ञापन आव्हान हुने बताए । ‘दरबन्दी मिलानमा केही समय लाग्नेछ । त्यसपछि नयाँ विज्ञापन आव्हान हुनेछ,’ उनले भने ।

नेत्रहीन युवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले दृष्टिविहिन राहत कोटा पञ्चायत माविमा कायम गर्ने सहमति भएको बताए । ‘खुल्लाबाट नियुक्ति गर्ने विज्ञापन रद्द गरिने र नयाँ विज्ञापन आव्हान गरिने सहमति भएको छ,’ उनले भने, ‘विद्यालयले केही दिनभित्रमा दृष्टिविहिनबाटै शिक्षक नियुक्तिको लागि विज्ञापन आव्हान गर्नेछ ।’५ पुस २०७७ मा अपाङ्ग दृष्टिविहिन राहत कोटाबाट सुन्दरहरैचा नगरपालिका ११ का हरिबहादुर कार्की नियुक्त गरिएको थियो । दृष्टिविहिन शिक्षक कार्कीले स्थायीमा नाम निकालेपछि पञ्चायतमा अपाङ्ग दृष्टिविहिन राहत कोटाबाट नियुक्त हुने शिक्षक पद रिक्त रहेको थियो ।

पथरीशनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले १ फागुन २०८० र ७ चैतको अनुमति पत्रका आधारमा १३ चैतमा पञ्चायत विद्यालय व्यवस्थापन समितिको बैठकले अपाङ्गता दृष्टिविहिन राहत कोटा हटाएर खुल्लाबाट शिक्षक छनौट गर्ने तयारी गरेको थियो ।

सोमबार, ३१ बैशाख, २०८१, बिहानको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर