इलाम । वैशाख १५ मा इलाम–२ को उपनिर्वाचनमा राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारमा होमिएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बू पनि चुनावी प्रचार–प्रसार तथा घरदैलोमा होमिएका छन् ।
लिम्बु अहिलेसम्म देउमाईको शान्तिडाँडा, मंगलबारे, फाकफोकथुमको धुर्विसे पञ्चमी, फलाटे बजार, खाम्वाङ, ठिङ्गेपुर (हावा चोक), आमचोक, शंकरचोक र इलामको सटके बजार, सोयाक सिद्धिथुम्का लगायतका ठाउँमा घरदैलो गरी सकेका छन् । आज बिहिबार उनी चुलाचुलीको १, २, ३ नम्बर वडामा घरदैलो गर्ने कार्यक्रम रहेको रास्वपाका सह–संयोजक संतोष श्रेष्ठले सञ्चारमाध्यमलाई बताए ।
चुलाचुली १ नम्बर वडाको आवुचोक राईटोल, मिलडाँडा, कमतटोल, राधाकृष्ण टोल फाल्गुनन्द टोल तथा वडा नम्बर २ को तिनकुने, स्वामीचोक, अर्नाखाडी, खत्री चोक, निगुरे र वडा नम्बर ३ को मंगलासिद्धी, निर्जल चोकका मतदातासँग घरदैलो गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए ।
पुराना राजनीतिक दलहरुसँग वाक्क भएका अधिकांश मतदाताहरु यसपाली रास्वपाका उम्मेदवारलाई आफ्नै निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारमा भेटेपछि निकै उत्साहित भएका छन् । सयौँको संख्यामा विभिन्न टोलमा उपस्थित भई रहेका मतदाताहरुले यसपटकको निर्वाचनमा आफूहरुले घण्टीलाई नै भोट हाल्ने बताएका छन् ।
चुनावी प्रचार–प्रसारका लागि रास्वपाले सह–महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई इलाम निर्वाचन क्षेत्रको कमाण्डर तोकेको छ । उनले यो निर्वाचनमा नयाँ र पुराना राजनीतिक दलहरुको परिक्षण हुने बताए । उनले भने, ‘पुराना राजनीतिक दलहरुको अकर्मन्यताबाट देशैभरीका नागरिकमा निराशा र आक्रोश थपिएको छ । र, इलामका नागरिकको मनोविज्ञान पनि त्यो भन्दा भिन्न छैन । त्यसैले यसपटकको उपनिर्वाचनमा रास्वपाले आफ्नो झण्डा फहराउने निश्चित छ ।’
नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको २७ भदौमा हृदयघातका कारण निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो । आगामी वैशाख १५ मा हुने निर्वाचनमा एमालेले सहानुभूतिको भोट बटुल्नका लागि नेम्बाङका छोरा सुहाङलाई चुनावी मैदानमा उतारेको छ । सुहाङलाई सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले समर्थन जनाएको छ । तर, यसपटकको निर्वाचनमा रास्वपालाई प्रमुख प्रतिद्धन्द्धीका रुपमा हेरिरहेको एमालेले मतदाताबाट सहानुभूतिको भोट कति पाउँछ भन्ने हेर्न बाँकी छ ।