विराटनगर ।अघिल्ला शैक्षिक सत्रहरूमा पाठ्यपुस्तकको समस्या खेप्दै आएका विद्यार्थीहरुले यस पटक भने नयाँ शैक्षिक सत्र सुरु भएसँगै पाठ्यपुस्तक पाउने भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पाठ्यपुस्तक नपाउने समस्याबाट कोशी प्रदेश मुक्त हुने विराटनगरस्थित जनक शिक्षा सामग्री केन्द्र कोशी प्रादेशिक कार्यालयले जनाएको छ ।
जनक शिक्षा सामग्री केन्द्र कोशीका अनुसार यस पटक पहाडी जिल्लाहरूमा पुस्तक पुगिसकेको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये सोलुखुम्बु र ओखलढुंङ्गामा भने केन्द्रीय कार्यालयले नै पठाउने गरेको छ । विराटनगरबाट पठाउँदा ढुवानी भाडा बढी लाग्ने भएकोले काठमाण्डौले नै पुस्तक पठाउने गरेको हो ।
तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, पाँचथर ताप्लेजुङलगायतका पहाडी जिल्लामा पुगिसकेको र तराईका जिल्लामा पनि पुस्तक पठाइसकिएको कार्यालयले जनाएको छ । चैत्र १३ गतेदेखि नै पुस्तक बिक्री वितरण गर्न थालेकाले वैशाख १ गतेबाटै विद्यार्थीहरुले सहजै पुस्तक प्राप्त गर्ने जनक शिक्षा कोशी प्रदेश कार्यालयका निमित्त प्रमुख भुपराज थापाले बताए । ‘कोशीमा आवश्यक पर्ने पुस्तक मध्ये ४१ प्रतिशत पुस्तक हामीले पहाडमा मात्र पठाएका छौं, तराईका पनि केही जिल्लामा गइसकेको र बाँकी ठाउँमा केही दिनभित्रै पठाइसक्छौं,’ उनले भने । कोशी प्रदेशमा झापा, मोरङ र सुनसरी तारईका जिल्ला भएकोले ढुवानीमा कुनै समस्या नहुने र छिट्टै पुस्तक पुग्ने उनले बताए ।
व्यापारीहरूले पनि समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने बताएका छन् । ‘पहिला पहिला सामग्रीको प्रादेशिक कार्यालयहरुमा फोन गर्दा पनि उठदैन थियो,’ धनकुटाबाट पुस्तक लिन आएका खेमराज पौडेलले भने ‘अहिले एक महिना अगाडि नै पुस्तक लिन आउन भनेकाले सहजै रुपमा पठाउन सकिने भएको छ ।’ इतिहासमै पहिलो पटक व्यावसायीलाई जनक शिक्षा सामग्रीले पूरै पुस्तक उपलब्ध गराएको उनले बताए । गत शैक्षिक सत्रबाट सहज भए पनि गत वर्ष दुई वटा पुस्तक भने विद्यार्थीले ढिलो मात्रै पाएका थिए । यसपटक भने सेट नै एकै पटक लिएर गएको उनले बताए ।
‘यसअघि ३० हजारको पुस्तक किन्न ७ हजार खर्च गर्दासमेत पूरा सेट लान पाइदैन थियो । अघिल्लो वर्षदेखि भने समस्या कम हुँदै गएको छ । समयमै नेपाली तथा अंग्रेजी माध्यमका सबै सेट पाठ्यपुस्तक प्राप्त भएकाले चाँडै विद्यालयमा पु¥याउन सक्छांै’ उनले भने ।जनक शिक्षा सामाग्री कोशी प्रदेशको कार्यालय विराटनगरमा भेटिएका सुनसरीको झुम्काका व्यापारी सोवित तिम्सिनाले तीन दिनमा विद्यार्थीको हातमा पुस्तक पु¥याइदिने बताएका छन् ।
जनक शिक्षा सामग्री कोशी प्रदेशका अनुसार शैक्षिक सत्र २०८१ मा जिल्लागत रूपमा कक्षा १ देखि १२ सम्मको गरी जम्मा १६ लाख पाठ्य पुस्तक बिक्री गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म साढें ७ लाख पुस्तक भने बिक्री गरिसकेको जनाएको छ ।