आठौ संस्करणको विराट गोल्डकप आजबाट : पूर्वविजेताहरु भुटान र नेपाल पुलिस भिड्दै

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आज बिहीबारबाट सुरू हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लड लाइटको सहारामा रात्रिकालीन गोल्डकप सञ्चालन गरिने छ । प्रतियोगिताको उद्घाटन खेल विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) बीच हुनेछ । दुवै टोली प्रतियोगिताको पूर्व विजेतासमेत हुन् ।

विभागीय पुलिस क्लबले तीन पटक उपाधि जितेको छ । भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि जितेको थियो ।आयोजकले सार्वजानिक गरेको खेल तालिका अनुसार गोल्डकपमा घरेलु टोली सांग्रीला मोरङ फुटबल क्बल र पाहुना टिम भारतको सिक्किम डे«गानलाई बाइ दिएर क्वाटर फाइनलमा राखेको छ । समूह ‘ए’ बाट १७ चैतमा घरेलु टिमले समूह उद्घाटन खेलमा बिजेता हुने टिमसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछ । १८ चैतमा हुने दोस्रो क्वाटर फाइनलमा विभागीय टिम त्रिभूवन आर्मी फुटबल क्बल र एनआरटी फुटबल क्लब काठमाडौंबीच शुक्रबार हुने बिजेता टिमसँग बाई पाएर समूह बी बाट भारतको सिक्किम डे«गानले प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एएपिएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेको छ । समूह ‘बि’ मा भारतको सिक्किम ड्रेगान, त्रिभुवन आर्मी फुटबल क्लब, एनआरटी, मच्छिन्द्र फुटबल क्लब र कोलकत्ताको साउर्थन समिति एफसि रहेका छन् ।

चैत १५ देखि २४ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विराट गोल्ड कप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी हुने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।

गोल्डकप ट्रष्टले गत वर्षको भन्दा यस वर्षको पुरस्कार राशि झण्डै आधा घटाएको छ । विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको विजतालाई नगद २० लाख १५ हजार र उपबिजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । यो वर्ष विजेतालाई ९ लाख १५ हजार र उपविजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशिघटाएको हो । गत वर्षको गोल्डकपमा आयोजकलाई ८७ लाख १ हजार ४८ रुपैयाँ घाटा भएको थियो ।

उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ण खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ ।साझको ६ बजे बजेदेखि सुरू हुने गोल्डकपको २००, ३०० र ५०० रूपैयाँ टिकट दर तोकिएको छ । प्रतियोगिता सम्पन्न गर्दा १ करोड १८ लाख ४३ हजार २०० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

गतवर्षको सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जित्दा पाहुना टोली भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।गत वर्ष सातौं संस्करणको आयोजक समिति संयोजक विराटनगर महानगरका मेयर नागेश कोइराला थिए । त्यसअघि उद्योगी व्यवसायी राजेन्द्र राउत, नवीन रिजाल र मनोजविक्रम शाहाले प्रतियोगिता आयोजना गर्दा नाफाको रकम ट्रस्टलाई दिएका थिए । उनीहरूले बुझाएको रकममध्ये ट्रस्टको खातामा अझै १३ लाख ५ हजार मौज्दात छ । यसवर्ष उद्योगी, व्यवसायी र महानगर प्रतियोगिता आयोजक संयोजक बन्न नमानेपछि ट्रस्ट आफैंले गोल्डकप गर्न लागेको हो । ट्रस्ट स्रोतका अनुसार फुटबलसँग चासो राख्ने यहाँका हरेक उद्योगी, व्यवसायीसमक्ष प्रतियोगिता आयोजकको संयोजक बन्न ट्रस्टका पदाधिकारीले हारगुहार गरे । कोही पनि संयोजक बन्न तयार नभएपछि ट्रस्ट पुरस्कार राशि घटाएर भए पनि प्रतियोगिताको आयोजना गर्न अगाडि सरेको हो ।

बिहिबार, १५ चैत, २०८०, बिहानको ०९:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर