इलाम–२ उपनिर्वाचन

एमालेबाहेक ठूला दलको उम्मेदवार टुंगिन बाँकी

माओवादीबाट बल्ल सिफारिस, काँग्रेस छलफलमा । रास्वपाबाट चुनाब लड्ने तयारीमा लिम्बू

विराटनगर । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलामको निर्वाचन क्षेत्र नम्बर २ मा अहिलेसम्म चार जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । ठूला दलहरुको तर्फबाट अहिलेसम्म नेकपा एमालेले मात्र उम्मेदवार टुंगो लगाएको छ ।

पार्टीका नेता सुभाषचन्द्र नेम्बाङको निधनपछि हुन लागेको उपनिर्वाचनमा एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सोही निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रदेशको नाम पहिचानसहित हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका पहिचानवादीहरुको तर्फबाट डकेन्द्रसिं थेगिम उम्मेदवार बन्ने निश्चित भइसकेको छ । उनी स्थानीय जनताहरुसँग छलफल गर्दै पहिचानको मुद्दाको विषयलाई प्रखर रुपमा उठाइरहेका छन् । प्रदेशको नाम कोशी राखेपछि पहिचानवादी संघसंस्थाहरु किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा र नेपाल शेर्पा संघसमेतको सहभागीतामा थेगिमको नेतृत्वमा प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन भएको थियो । सोहि समितिबाट उनी उम्मेदवार भएका हुन् ।

पहिचान पक्षधर दल जसपा, नेकपा माओवादी केन्द्रका साथीहरुले पनि सघाउने विश्वास थेगिमले लिएका छन् । ‘गठबन्धन बनेर ह्वीप जारी नै भयो भने त अप्ठ्यारो अवस्था होला’ उनले भने, ‘नत्र हामी पहिचान पक्षधरसँग सहकार्य गरेर अगाडि बढ्छौं ।’

सो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पत्रकार मिलन लिम्बूले पनि घरदैलो अभियान सुरु गरिसकेका छन् । प्रारम्भिक कार्यक्रमहरु गरिरहेको र जनतासँग अन्तरक्रिया गर्दै हिँडेको उनले सुनाए । आफूलाई धेरैले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्न सुझाव दिएको भन्दै उनले त्यसबारे छलफल चलिरहेको बताएका छन् । रास्वपाले भोलीसम्ममा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुले आवेदन दिनुपर्ने समयावधि तोकेको छ ।

उता, नेपाली काँग्रेसले भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाएको छैन । काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले दिएको जानकारी अनुसार सो पार्टीले पनि गत चैत ११ गते ६ जना उम्मेदवारको आकाङ्क्षीको नाम केन्द्रमा पठाइसकेको छ । काँग्रेसले महाधिवेशन प्रतिनिधि भेषराज आचार्य, पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेको छ ।

देशको तेस्रो ठूलो पार्टीको रुपमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार जनाको नाम सिफारिस गरेको छ । माओवादीले पार्टीका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवार सिफारिस गर्न स्थानीय समितिलाई निर्देशन दिएपछि तीन जनाको नाम सिफारिस भएको छ । एकीकृत समाजवादीले जिल्ला सचिव हरिबाला राई, जीतबहादुर राई र पूर्ण बस्नेतको नाम सिफारिस गरेको छ । सिके राउतको राष्ट्रिय जनमत पार्टीले भने प्रेमदिप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

२०७९ को निर्वाचनमा काँग्रेस इलामका सभापतिसमेत रहेका डम्बर खड्का नेम्वाङसँग थोरै मतले हारेका थिए । त्यसबेला नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । काँग्रेससका उम्मेदवारलाई माओवादी, नेकपा (एकीकृत समाजवादी)को पनि साथ थियो । यसपटक केन्द्रमा गठबन्धन फेरबदल भएसँगै इलामको निर्वाचनमा कुन–कुन पार्टीबीच सहकार्य होला वा एक्ला एक्लै लड्लान् भन्ने विषय स्पष्ट भइसकेको छैन ।

बुधबार, १४ चैत, २०८०, बिहानको ०८:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर