विराटनगरमा वडाध्यक्षको स्कूल अबैध, खारेजीबाट जोगाउन ट्युसन पढाएको महानगरलाई जवाफ

विराटनगर । विराटनगर महानगरपालिका १८ का वडाध्यक्ष जितेन्द्रकुमार साहले अबैध रुपमा स्कूल सञ्चालन गरिरहेको सार्वजनिक भएपछि महानगरलाई झुक्याउने पत्र पठाएका छन् ।
वडाध्यक्ष साहले अनुमतिबिना दिपज्योति विद्या मन्दिर इंग्लिस बोर्डिङ स्कुल सञ्चालन गरेको सार्वजनिक भएपछि महानगरको शैक्षिक प्रशासन महाशाखाले सोधेको स्पष्टिकरणमा झुटो जवाफ पेश गरेका हुन् ।

शैक्षिक प्रशासन महाशाखाले स्पष्टिकरण सोधेपछि स्कूलले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई ट्युसन र कोचिङ पढाउने गरेको जवाफ पठाएको हो । कक्षा ८ सम्मको मात्र अनुमति पाएको स्कूलले कक्षा १० सम्मकै पठनपाठन सञ्चालन गरिरहेको छ । स्कूलले एसईईको लागि भने जहदा गाउँपालिका १ को दुर्गा मावि भुटाहाबाट विद्यार्थीहरुलाई फारम भराएको पाइएको छ ।

शिक्षा नियमावली अनुसार स्वीकृति लिएर मात्र विद्यालय सञ्चालन गर्न पाइन्छ । तर, वडाध्यक्ष आफैंले गैरकानूनी रुपमा अनुमतिविना माध्यमिक तहको विद्यालय सञ्चालन गरेको भन्दै स्थानीयले पनि आश्चार्य व्यक्त गर्दै आएका छन् । अनुमति नलिई सञ्चालन गरेको स्कूलको गुणस्तर पनि राम्रो नभएको स्थानीयको दावी छ ।

तराईबासी बाहुल्य सो क्षेत्रमा जिल्ला शिक्षा समन्वय इकाईको निगरानी कम भएकोले वडाध्यक्ष साहले त्यसकै फाइदा उठाएका थिए । उनको गैरकानुनी कार्य सार्वजनिक भएपछि महानगरले देखाएको थियो । तर, स्कूलले महानगरलाई नै झुक्याउने गरि जवाफ दिएको पाइएको छ । स्कूलको जवाफपछि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले थप कार्वाही अगाडि बढाएको छैन ।

जनप्रतिनिधि साहले आफ्नो विद्यालयको कालो कर्तुत छोप्न मोरङको जहदा गाउँपालिका १ अन्तर्गतका दुर्गा मावि भुटहाबाट विद्यार्थीहरुलाई फारम भराउन त्यहाँको प्रधानाध्यापकलाई समेत मोटो रकम दिने गरेको स्रोतको दावी छ । दुर्गा माविले ७५ प्रतिशत हाजिरी नभएपनि विद्यार्थीलाई सबै परीक्षामा सहभागि गराउँदै आएको छ ।
आफूले पढ्ने गरेको विद्यालयबाट एसईई परीक्षाको फारम पनि भर्न नपाएको र सर्टिफिकेट र चारित्रिक प्रमाणपत्र पनि अर्कै स्कूलको पाउने अवस्थाले विद्यार्थी अन्यौलमा छन् । वि.स. २०६८ सालमा कक्षा ३ सम्मको अनुमति लिएर सञ्चालन गरेको स्कूलले २०७८ सालदेखि कक्षा १० सम्मको पठनपाठन गराउँदै आएको स्कुलका प्रधानाध्यापक निरज साहको भनाइ छ ।

विद्यालयमा ६ सयको हाराहरीको विद्यार्थीहरु अध्ययरत रहेका छन् । विराटनगर १८ मा मावि तहको सामुदायिक विद्यालय नभएकोले त्यसको फाइदा उठाउन वडाध्यक्ष साहले अबैध रुपमा स्कूल सञ्चालन गरेका हुन् । वडाध्यक्ष साह आफैं महानगरपालिकाको शिक्षा समितिका सदस्यसमेत हुन् । उनले अभिभावकको दवावमा मावि सञ्चालन गरेको जिकिर गर्दै आएका छन् ।

महानगरपालिका शिक्षा महाशाखाका प्रमुख कृष्ण भट्टराईले अबैध रुपमा कक्षा सञ्चालन गरेको जानकारी आएपछि स्पष्टिकरण सोधिएकोमा पत्रको जवाफ आएको बताए । स्कूलले आसपासका विद्यार्थीहरुलाई ट्युसन र कोचिङ मात्रै पढाउने गरेको जवाफ दिएको उनको भनाइ छ ।

चितबुझ्दो जवाफ नआए शैक्षिक नियमावली अनुसार कारवाही बढाउने भट्टराईको भनाइ छ । शिक्षा ऐन अनुसार अबैध रुपमा सञ्चालन भएको स्कुलको सम्बन्धन रद्दसमेत गर्न सकिने प्राबधान रहेको छ ।

सोमबार, ०५ चैत, २०८०, बिहानको ०७:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर