शनिवार एकैदिन आधा दर्जनभन्दा बढी आगलागीका घटना, ठुलो धनजनको क्षति

विराटनगर । शनिवार एकैदिन आधा दर्जनभन्दा बढी आगलागीका घटना भएको छन् । आगलागीबाट मानवीय क्षति समेत भएको छ । ठूलो आर्थिक क्षति पनि भएको छ ।

चैतको सुख्खा मौसम शुरू भएसँगै आगलागीका घटना पनि बढेका हुन् ।

शनिवार बिहान सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको एक टेलर्समा आगलागी हुँदा लाखौंको क्षति भएको छ । आगलागीबाट कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित ३० लाख बराबरको क्षति भएको सञ्चालक रोहितकुमार साहले जानकारी दिए ।

स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो

यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका ४ मा गुड्दै गरेको ट्रकमा आगलागी भएको छ ।

खुर्सानी, लाइटर, बच्चाको डाइपरलगायतका सामग्री बोकेको प्रदेश ३–०३००१ ख ००१२ नम्बरको ट्रकमा शनिवार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।

चालकका अनुसार गुडिरहेको ट्रकमा अचानक आगलागी भएको थियो ।

पछि आगो नियन्त्रणमा आएको थियो । आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी भएको छ । शनिवार दिउँसोबाट लागेको आगलागीले स्थानीय बासिन्दाका घरसमेत जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलोका कारण बस्तीमा रहेका घरसमेत जलेर नष्ट भएका हुन् ।

आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जङ्गलबाट शुरू भएको आगलागीका कारण स्थानीयका घरमा क्षति पुगेको जानकारी दिए ।

आगलागीबाट बसोबास गर्दै आइरहेका पाँच र खाली एक परिवारको घर जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिए ।

हावाहुरीका कारण आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ ।

त्यस्तै भोजपुरमा भएको आगलागीमा परी शनिवार नै तीनजना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी दिपशिखा कार्की र ३ वर्षकाक दियुनिष कार्की रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

जिल्लाको हतुवागढी ७ पिप्लेमा भएको आगलागीको सो घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी भएको र सो घटना हुन पुगेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुदीपराज पाठकले जानकारी दिए ।

त्यसैगरी तेह्रथुमको आठराई गाउँपालिकामा भीषण आगलागी भएको छ ।

यस्तै मोरङको रङ्गेली–३ स्थित बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा २१घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

शनिवार दिउँसो २ः३० बजेतिर शुरू भएको आगलागी नियन्त्रणमा आइसकेको प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागााईँले जानकारी दिए । बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको उनको भनाइ छ ।

१९ घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएको रङ्गेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले बताइन् । विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन थालिसकेको उपप्रमुख पराजुलीले जनाइन् ।

कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरका बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टापछि आगो निभाउने काम भएको छ ।

घटनाबाट भएको क्षतिको विवरण भने आइ नसकेको उपप्रमुख पराजुलीले बताइन् ।

साथै मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा शनिवार राति आगलागी हुँदा एक करोड ५० लाख रुपैयाँको क्षति भएको छ ।

राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।

मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन ।

आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।

आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन अपिल गरेका छन् ।

भोजपुरलगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट धनजनको क्षति भएको घटनाप्रति गम्भीरता दर्शाउँदै उनले शनिवार यस्तो अपील गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आगलागीबाट धनजनको क्षति भएको घटनाले आफूलाई मर्माहत तुल्याएको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

आइतबार, ०४ चैत, २०८०, बिहानको ०७:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर