विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । पछिल्लो १५ महिनामा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएका हुन् ।
बुधबार प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए । बैठकमा २६८ सांसद उपस्थित रहेको प्रधानमन्त्रीको पक्षमा १५७ र विपक्षमा ११० मत पर्यो । एक सांसद तटस्थ रहे ।
प्रतिनिधिसभामा विश्वासको मतको लागि १३८ जनाको समर्थन आवश्यक थियो । प्रधानमन्त्री प्रचण्डलाई उनको दल नेकपा माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदले मत दिए । यस्तै, स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले समेत विश्वासको मत दिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गरे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने मत दिएनन् ।