विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ समीकरण बनाउँदा सरकारको नेतृत्वबारे भागबन्डा नभएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्न गरेको प्रस्ताव माथिको छलफलमा ओलीले नयाँ समीकरण छायाँमा पार्न प्रधानमन्त्रीमा आलोपालोको हल्ला चलाइएको बताए ।
पत्रपत्रिकामा तीन नेताबीच प्रधानमन्त्रीको भागबण्डा भएको अनुचित सम्प्रेषण भएको भन्दै ओलीले त्यस्तो भागबन्डा नभएको बताए । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई समेत प्रधानमन्त्री बनाउने गरी प्रचण्ड, ओली र नेपालबीच सहमति भएको बाहिर प्रचार भएकोप्रति ओलीले असन्तुष्टि जनाए ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन काँग्रेसलाई पनि आग्रह गर्दै ओलीले भने, ‘पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेट्री हालेजस्तो थियो । समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने ?’ पोहोर पनि नेपाली कांग्रेस सरकारबाहिर बसेर समर्थन गरेको भन्दै अहिले पनि समर्थन गर्दा हुने बताए ।
नयाँ गठबन्धन बनेपछि अस्थिरता आयो भन्ने काँग्रेसको आरोपको प्रतिवाद गर्ने ओलीले अघिल्लो वर्ष २ महिनामा समिकरण परिवर्तन हुँदा नभएको अस्थिरता कसरी भयो भन्ने प्रश्न गरे । ‘अघिल्लो वर्ष दुई महिनामा सरकार परिवर्तन गर्दा स्थिरता हुने र यसपटक १४ महिनामा गर्दा कसरी अस्थिरता हुन्छ ?’ उनको प्रश्न थियो ।
अहिले सरकार परिवर्तन भएको स्वाभाविक संवैधनिक प्रक्रिया भएको भन्दै ओलीले आफूहरु एक वर्ष सत्ताबाहिर बस्दा पनि रूवाबासी नगरेको जिकिर गरे । कांग्रेसले गरिखान नसकेपछि आफूहरूले परिस्थिति सम्हाल खोजेको उनको दावी छ ।
कांग्रेसले पटकपटक अरूलाई धोका दिने गरेको समेत आरोप ओलीले लगाए । २०७० सालको चुनावपछि कांग्रेसको मेजोरिटी नहुँदा दुई सिट बढी भएपनि कांग्रेसको नेता प्रधानमन्त्री हुनुस् भन्दा पनि नमानेर काँग्रेसले दावी उनले गरे । कांग्रेसले बाचा बन्धनमा अडिएको, इमानको खानी, बेइमानी नगर्ने भन्दा आश्चर्य लागेको उनको भनाइ छ ।
कांग्रेस अहिले पनि आत्तिने भन्दा अप्ठ्यारो अर्थतन्त्र र अन्य चुनौतीमा सामना मिलेर जान तयार हुनुपर्ने ओलीले बताए । नेपाली कांग्रेसलाई ऐनामा हेरेर बोल्न आग्रह गर्दै उनले कांग्रेसलाई अरूको एकतामा भाँजो हाल्ने गरेको आरोपसमेत लगाए ।
२०७९ पुस १० गते नेकपा एमाले–माओवादी केन्द्रसहितको दलको सहभागितामा प्रचण्डको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो । तर प्रधानमन्त्री प्रचण्डले दुई महिनामै एमालेसँगको सम्बन्ध तोडेर कांग्रेससँग गठबन्धन बनाउँदा एमालेका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए भने केही प्रदेशमा मुख्यमन्त्री नै परिवर्तन भएका थिए ।