विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले ३२ दिने ‘म मरो वडा आफै बनाउँछु’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ । मंगलवार बसेको महानगर कमिटीको नवौं पूर्ण बैठकले यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस अभियान अन्तर्गत संगठन सुदृढीकरण तथा शुद्धिकरण गर्दै वडाहरुको व्यवस्थापन, टोल कमिटी पुनर्गठन, जनसंगठन गठन तथा पुनर्गठन एवम् व्यवस्थापन, भेला बैठक, जनतासँग जनप्रतिनिधी र जनसरोकारका विषयमा खबरदारी लगायतका कार्यक्रमहरु सञ्चालन गरिने महानगरका अध्यक्ष सागर थापाले बताए । उनका अनुसार एमाले महानगरले १९ वटै वडामा वैसाख मसान्तभित्र वडास्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । यस्तै विराटनगर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिको दुई वर्षीय कार्य प्रगति विवरण लिएर जनताको बिचमा जाने समेत निर्णय भएको सचिव रोहित कोइरालाले बताए।
यसैबिच एमाले महानगर कमिटीले कार्यसम्पादनलाई सहज बनाउन कार्यलय समिति गठन गरेको छ । एमाले महानगरका अध्यक्ष सागर थापा अध्यक्ष, रोहित कोइराला सचिव रहेको ११ सदस्सीय समिति गठन गरेको हो ।
बैठक तथा प्रशिक्षणात्मक कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले जनताका बिचमा उत्कृष्ट कार्यक्रम र योजना लिएर जान निर्देशन दिएका छन् । उनले भने ,‘अब जनताले गफ हैन काम हेरेर विश्वास गर्ने हो, त्यसैले त्यसतर्फ तपाईहरुको ध्यान पुगोस् ।’ नेकपा एमालेका हरेक नेता कार्यकर्ता जनताप्रति उत्तरदायी भएर अघि बढ्नुपर्ने उनले बताए ।
यस्तै कार्यक्रममा नेकपा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्कीले जनप्रतिनिधी र पार्टीबिचको अन्तरसम्बन्ध, नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले दशौं राष्ट्रिय महाधिवेशनका फैसलाहरु र पार्टीको आगामी कार्यदिशा, केन्द्रिय सदस्य रामलाल साहले नेता र कार्यकर्ताबिचको सम्बन्ध र हाम्रो दायीत्व, केन्द्रीय सदस्य तथा विराटनगर महानगरका इन्चार्ज हेमराज राईले दक्षिणपन्थि अवसरवाद र सांगठनीक अराजकतालगायतका विषयमा प्रशिक्षण दिएका थिए ।