अनुदान भन्दै २२ वर्षअघि बंगुर र बाख्राको पाठा वितरण, अहिले ऋण भन्दै असुलीको धन्दा

विराटनगर । मोरङको जहदा गाउँपालिकाभित्र ऋषिदेव सामुदायका विपन्न परिवारलाई २०५८ सालमा अनुदान भन्दै बंगुर र बाख्राको पाठा वितरण गरिएको थियो । अष्ट्रेलिया सरकारबाट अनुदान आएको भन्दै २०५८ सालमा प्रकाश फादरले बाख्रा र बंगुरको पाठा वितरण गरेका थिए ।

अनुदानमा आएको रकमबाट बंगुर र बाख्राको पाठा बितरण गरेका प्रकाश फादरको केही वर्ष अगाडि निधन भयो । उनको निधनपछि २०६६ सालमा प्रकाश बचत तथा ऋण सकारी संस्था लि. दर्ता भयो । सो सहकारीमा अनुदानमा पाठा लिने आर्थिक विपन्न सामुदायका जहदा गाउँपालिकाभित्रका २०० भन्दा धेरैलाई सदस्य बनाइएको थियो ।
सहकारीको अध्यक्ष जहदा गाउँपालिका ७ का वडाअध्यक्ष भगवान मरान्डिाकी श्रीमति एलिजा वेद छन् । अहिले दुई दशक अगाडि दिएको बंगुर र बाख्राको पाठा ऋण हो भन्दै सहकारीले ऋषिदेवसहित सिमान्तकृत सामुदायका शेयर सदस्यलाई तिर्न दबाव दिने गरेको छ । प्रकाश तथा ऋण सहकारी संस्थाले सहकारी स्थापना नै नभई बंगुर र बाख्राको पाठा लिएकाहरुलाई अहिले ऋण र ब्याज पतर्न दबाब दिएको हो ।

जहदा गाउँपालिका–७ सितुङटोलका ५० वर्षीय हडमा किस्कुले २२ वर्ष अगाडि अनुदानमार्फत तीन वटा बंगुरको पाठा लिएका थिए । पाठाबाट नयाँ उत्पादनपछि छिमेकी वा समूहलाई दिनुपर्ने अर्को पाठ नियम बनाएको थियो ।

आयआर्जनमा सहज पुर्याउने उद्देश्य भन्दै ग्रामिण क्षेत्रमा आर्थिक विपन्न र सिमान्तकृत समुदायलाइ आत्मनिर्भर बनाउन समूहमार्फत बंगुर र बाख्राको पाठा वितरण गरिएहो थियो । अहिले पाठा ऋणको रुपमा दिएको भन्दै सहकारीले ऋण तिर्न दबाव दिन थालेपछि पीडितहरु जहदाबाट एक घण्टा पैदल हिँडेर आइतबार विराटनगर आइपुगेका थिए ।

उनीहरुले सहकारीमा जम्मा गरेको रकम फिर्ता हुनुपर्ने, अनुदानको नाममा बंगुर, बाख्राको पाठा बितरण गरेकोमा अहिले आएर भइरहेको रकम असुली धन्दा बन्द गरिनुपर्ने र अहिलेसम्म दिएको रकम फिर्ता गरिनुपर्ने अडानमा आफूहरु रहेको भन्दै सञ्चारकर्मीसँग याचना राखे । पत्रकार सम्मेलन गरि उनीहरुले न्यायाको मागसमेत गरेका छन् ।
‘गाउँका अगुवा प्रकाश सरले दलित, मजदुर, अपाङ्गता भएका व्यक्ति र साना किसानहरुलाई आयआर्जनमा सहज पुर्याउने भन्दै अनुदानमा आएको बंगुर र बाख्राको पाठा दिनुभएको हो । बंगुर र बाख्राको नयाँ पाठा उत्पादन भएपछि तपाईहरुजस्तै असहाय र बिपन्न समुदायहरुलाई बितरण गरिपर्ने सर्त थियो’ उनीहरुले भनेका छन्, ‘अहिले आएर सहकारीले ऋण दिएको हो, त्यसबेला तीन वटा पाठाको सावा र ब्याजसहित ७० हजार रुपैयाँ भयो भन्दै तिर्न दबाव दिने गरेको छ ।’ अरुको घरमा बनिबुतो गरी परिवार पाल्नेले सो रकम तिर्ने अवस्था नरहेको पीडित हडमा किस्कुले बताएका छन् ।

सहकारीबाट कर्मचारी परिचालन गरि बंगुर र बाख्राको पाठाको रकम भन्दै तिर्न दबाव दिने गरेको पीडितहरुले बताएका छन् । उनीहरुले गाउँपालिकाको न्यायीक समितिमा न्यायको माग गरेपनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।सहकारीबाट जहदा ७ सितम टोलका झण्डै २ सय घरपरिवार पीडित रहेको बताइएको छ । सुरूमा सबैले अनुदान भन्दै बंगुर र बाख्राको पाठा लिएका थिए । अहिले आएर त्यसको साँवा र ब्याज तिनुपर्ने भन्दै सहकारीले नतिर्नेको सहकारीमा रहेको बचत र सेयर रकम फिर्ता नदिने धम्की दिने गरेको छ ।

सहकारीले बाख्रा र बंगुरका पाठाको ७० हजार रुपैयाँ नतिरेको भन्दै अहिले हड्माका छोरा सुशिल किस्कुको ५२ हजार रुपैयाँ रोकेर राखिदिएको छ । ‘खाइ नखाइ बचत गरेको ५२ हजार रुपैयाँ झिक्न जाँदा बाबुको ऋण सहकारीमा छ र अझै ३० हजार रुपैयाँ तिर्नुपर्ने भन्दै पठायो’ सहकारी पीडित संघर्ष समितिको अध्यक्षसमेत रहेका सुशिलले भने, ‘यसरी अनुदान भन्दै बंगुर र बाख्राको पा

ठा दिएर अहिले असुली धन्दामा लाग्नेलाई कार्वाही हुनुपर्छ ।’सहकारीको अत्याचार बढेपछि संघर्ष समिति बनाएर अहिले आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीयले बताएका छन् । माग पुरा नभए सहकारीविरुद्ध चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने चेतावनीहरु उनीहरुले दिएका छन् ।

जहदा ७ सितुनटोलकी ४५ वर्षीया अपाङ्गता रहकी भलिकुमारी ऋषिदेवले पनि २० वर्ष अगाडि बंगुरको दुई वटा पाठा अनुदान भनेर लिएकी थिइन् । जमिा एउटा पाठा मर्यो भने अर्को उनले पालिन् । अहिले सहकारीले त्यो पाठाको रकम नतिरे मासिक रुपमा आउने अपाङ्गता भत्ता रोकिदिने धम्की दिएपछि ४० हजार रुपैयाँ तिरेकी छन् ।
जहदा ७ का ७२ वर्षका बड्का सोरेनले त्यसबेला एउटा बंगुरको पाठा लिएका थिए । पछि सहकारीले एउटा बंगुरको पाठाको १८ हजार रुपैयाँ उनीसँग माग्यो । ‘९ हजार रुपैयाँ तिरिसकेको भएपनि अझै ९ हजार दिनुपर्ने भन्दै आएका छन्,’ उनले भने, ‘९ हजार रुपैयाँ नतिरेसम्म सहकारीमा बचत गरेको १० हजार र सेयरको चार हजार नदिने भन्दै आएका छन् ।’

सुरुमा अनुदान भन्दै बाख्रा र बंगुरका पाठा दिएको र पछि सहकारीले ऋण भन्दै रकम असुली गर्ने आफ्ना सेयर सदस्यमाथि अत्याचार गरेपछि सहकारीविरुद्ध संघर्ष समिति बनाएर आन्दोलनमा आउनुपरेको संघर्ष समितिका अध्यक्ष शुशिल किस्कुले बताए । सहकारीकी अध्यक्ष एलिजा वेद भने सेयर सदस्यहरुलाई कर्जा दिएकोले सावा र ब्याज मागेको दाबी गर्छिन् ।‘उहाँहरूले सहकारीसँग ऋण लिएको हो । अनुदान होइन्,’ उनले भनिन्, ‘फोनमा थप कुरा गर्न मिल्दैन । मैले यति नै भने ।’ त्यसपछि फोन राखेकी उनी सम्पर्कमै आउन चाहिनन् ।

सोमबार, २८ फागुन, २०८०, बिहानको ०८:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर