विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारी गरेका छन्। शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारीबारे छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
विश्वासको मत लिने दिन अनिवार्य रूपमा प्रतिनिधि सभा बैठकमा उपस्थित हुन ह्वीप समेत जारी गरेको उनले बताए। त्यस्तै राष्ट्रिय सभाको निर्वाचन फागुन २९ गते गर्ने पनि तयारी भइरहेको उनले बताए। त्यसका लागि पनि सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको हो।
‘खास गरेर प्रतिनिधिसभामा विश्वासको मत र राष्ट्रियसभामा अध्यक्षको निर्वाचन हुँदैछ। उपाध्यक्ष सहितको निर्वाचन हुने गरेर एक खालको सहमती पनि भइसकेको छ,’ उनले भने, ‘यी सबै विषय वस्तुहरूलाई पनि मध्यनजर गर्दै त्यो बेलामा हाम्रो दलका प्रतिनिधिसभाका माननीयहरू विश्वासको मत लिने बेलामा, राष्ट्रिय सभाका माननीय सदस्यहरू राष्ट्रिय सभाको अध्यक्षको, उपाध्यक्षको निर्वाचन हुने बेलामा सबै उपस्थित गर्नका लागि ह्वीप जारी गर्नुपर्ने विषयबस्तु छ।’
त्यस्तै बैठकले सरकारमा सहभागी अन्य दलहरूसँग छलफल गरेर मात्रै सो आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल अघि बढाउने निर्णय गरेको हो।
कांग्रेस नेतृत्वको यसअघिको गठबन्धन सरकारको तर्फबाट गत फागुन १४ गते बसेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतबारे पेस गरिएको थियो। सो बजेटबारे संसदमा छलफल गर्नुअघि नयाँ सत्तारूढ दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय गरिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए।
– सेतोपाटी