कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेस विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेस प्रदेश विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा बिहीबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा सबै विकेट गुमाई ९० रनमा सीमित भयो । गण्डकीका लागि दीपक डुम्रेले २८ रन बनाउँदा ईश्वर क्षेत्रीले १८ रन र समीर कँडेलले ११ रनको योगदान दिए ।

लुम्बिनीका प्लेयर अफ द म्याच वीर मगरले ४ विकेट लिए । उनले३ दशमलव १ बलमा १६ रन खर्चेका थिए । त्यस्तै निर्मल गुरुङ र कृष्ण कार्कीले समान २–२ विकेट बाँडे ।

जवाफमा ९१ रनको लक्ष्य पाएको लुम्बिनीले १६ दशमलव १ बलमा ३ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । लुम्बिनीका देव खनालले ३४ रन जोड्दा आकाश त्रिपाथी २९ रनमा अविजित रहे । देवले २७ बलमा २ छक्का र ३ चौका प्रहार गरे । गण्डकीका सुवास भण्डारीले २ विकेट लिँदा सन्दीप पराजुलीले १ विकेट लिए ।

दोस्रो खेलमा मधेस प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय १७ रनमा सीमित भयो । कोशीका श्रवण यादवले ९ बलमा २ छक्का र १ चौका प्रहार गरी २३, फिर्दोस अन्सारीले २२ रन, दीपेश कँडेलले अविजित २१ रन र सुजन थपलियाले १६ रनको योगदान दिए । मधेसका प्लेयर अफ द म्याच अविनाश तिवारीले ३ विकेट लिँदा रञ्जित कुमारले ३ विकेट लिए । तिवारीले ४ बलमा १ रन दिए । त्यस्तै राजेश यादव र हरिशंकर साहले २–२ विकेट लिए ।

जवाफमा १ सय १८ को लक्ष्य पछ्याएको मधेसले १९ दशमलव ३ बलमा ७ विकेट गुमाई लक्ष्य पार गरेको छ । मधेशकालागि अरनिको यादवले २७ रन बनाउँदा मयन यादवले २४ रन र अविशेक तिवारीले १८ रनको योगदान दिए । कोशीका दीपेश कँडेलले ३ विकेट लिए । दीपेशले ४ ओभरमा किफायती बलिङ गर्दै १२ रन दिए । त्यस्तै फिर्दोस अन्सारी, भूपाल लुइँटेल र अङ्कित सुवेदीले समान १–१ विकेट लिए ।

शुक्रवारको पहिलो खेल सुदूरपश्चिम प्रदेश र नेपा प्रहरी तथा दोस्रो खेल कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब बिच खेल हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

बिहिबार, २४ फागुन, २०८०, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर