विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस खेल प्रतियोगिता बुधवारबाट विराटनगरमा सुरु भएको छ । उद्घाटनकै दिन दुई पुरुष र चार महिला खेलाडी सेमिफाइनलमा पुगेका छन् ।
मोरङ जिल्ला सफ्ट टेनिस संघले आयोजना गरेको प्रतियोगिताको पुरुष एकल खेलमा बाई पाएर क्वाटर फाइनल पुगेका अशलेश ढकाल र आभास बुढाथोकी बिच प्रतिस्पर्धा भएको थियो । क्वाटर फाइनलमा बुढाथोकीलाई शून्य चारको अन्तरले हराएर ढकाल सेमिफाइनलमा पुगेका हुन् ।
महिला सिङ्गल तर्फ अभिलाषा लामिछाने, श्रेया राई, रेजिना तामाङ र श्रेया योन्जन सेमिफाइनलमा पुगेका छन् । लामिछानेले याना राजभण्डारीलाई ४—१ को अन्तरले, राईले मुस्कान गुप्तालाई ४—० को अन्तरले पराजित गरेकी हुन् । तामाङले आरुशी लामिछानेलाई ४—० को अन्तरले र योन्जनले श्रेया उपाध्यायलाई ४—० कै अन्तरले पराजित गरेको रेफ्री राजेश लामिछानेले जानकारी दिए ।
बिहीबार महिला र पुरुष डबलका प्रतियोगिताहरू हुने छन् । प्रशिक्षक राजेश बोहराका अनुसार ६ जना भेट्रान खेलाडी बिच पनि प्रतियोगिता गराइने भएको छ । यो खेल लिगमा खेलाइने छ । उद्घाटनमा सफ्ट टेनिसका पूर्व खेलाडीहरूलाई पनि सम्मान गरिएको छ ।
प्रदेश स्तरीय प्रतियोगितामा ३० जना खेलाडीको सहभागिता रहेको छ । सबै विद्यामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १०, ८ र ६ हजार रुपैया नगद पुरस्कार दिइनेछ । प्रतियोगिता उद्घाटन गर्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेल र खेलाडीको स्तर वृद्धिका लागि बोर्ड तयार रहेको बताए । आयोजक संघका अध्यक्ष श्यामकुमार लामाका अनुसार नेपालमा सबै भन्दा पुरस्कार जित्ने यो खेलका खेलाडी विराटनगरमा रहेका छन् ।