विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिबीच दोस्रो चरणको वार्ता विराटनगरमा सुरु भएको छ । विराटनगरको इस्टर्न स्टार होटलमा बुधबार दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको हो ।
गत माघ २६ गते दुबै पक्षबीच भएको वार्तामा ५ बुँदे सहमति भएको थियो । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने तथा प्रदेशको पुनः नामकरणको लागि राजनीतिक सहमति जुटाउन पहल गर्नेसहितका सहमति यसअघि भएको थियो । फागुन १० गते अगावै दुवै पक्षको सहमतिमा पुनः वार्ता गर्ने सहमति भएअनुसार आज वार्ता सुरु भएको हो ।
आजको वार्तामा सरकारी वार्ता टोलीका सदस्य रहेका पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती सहभागी छैनन् । उनी मुख्यमन्त्री केदार कार्कीसँगै झापाबाट सुरु भएको ‘हात्तीमैत्री’ पदयात्रामा सहभागी छन् । यस्तै आजको वार्तामा सरकारको तर्फबाट उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री थपिएका छन् ।
यसअघि भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु संयोजक रहनेगरी वन वातावरण तथा पर्यटन उप्रेती सदस्य तथा आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले सदस्य रहने गरी समिति बनाएको थियो । सरकारले पछिल्लो समयमा खत्रीलाई पनि वार्ता समितिको सदस्यको जिम्मेवारी दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।