काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रकरणले गठबन्धनमाथि आशंका र संकट पैदा भएको बताएका छन् ।
काँग्रेस महासमितिको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा शर्माले कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र राष्ट्रियसभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा गठबन्धनमा संकट आउनसक्ने देखिएको उल्लेख गरेका हुन् ।
गठबन्धन छोड्न गठबन्धनमा रहेका सबै दल स्वतन्त्र भएपनि गठबन्धनभित्र रहेर स्वतन्त्र गतिबिधि गर्ने छुट नभएको शर्माले उल्लेख गरेका छन् । ‘हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौं’ उनले भनेका छन्, ‘तर, गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौं ।’
कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित सहयात्री दलको असन्तोषबारे गम्भीर समिक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी रहेको शर्माले उल्लेख गरेका छन् । ‘संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि आह्वान भएपछि कोशीमा जेजस्तो घटनाक्रम विकसित भयो त्यसले कांग्रेसभित्रनै द्वन्द्व सृजना भएको थियो । माओवादी पार्टीसँग त्यसबेला कायम रहन नसकेको समझदारी रास्ट्रीय सभाको निर्वाचन परिणामपछि झनै समस्याको चपेटामा परेको छ’ उनले लेखेका छन्, ‘गठबन्धनको सरकार पाँच बर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन खुला छलफल र आपसी विश्वासले मात्र त्यो संभव हुने तथ्य भुल्न मिल्दैन ।’
विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्ने शर्माले लेखेका छन् । अन्य दलसँगको चुनावी या सत्ता गठबन्धन दल र दलबीच संस्थागत निर्णयको आधारमा हुने भन्दै उनले गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुन नहुने उल्लेख गरेका छन् । ‘पार्टीले गहन छलफलबाट परिपक्व निर्णय लिनुपर्ने हुन्छ’ उनले लेखेका छन्, ‘नेपाली कांग्रेस समग्र परिस्थितिको संयम समिक्षा गरेर आवेगमुक्त ढंगले चल्ने बिषयमा संस्थागत रुपले स्पष्ट छ ।’
अघिल्लो प्रतिनिधिसभाको विघटनपश्चात् संसद र संविधानको रक्षाका लागि निर्मित गठबन्धनका मुख्य दलहरू अन्ततः गत निर्वाचनमा समेत हामी एक भएर मैदानमा गएको उल्लेख गर्दै शर्माले त्यसबाट उपलब्धि हासिल भएको उल्लेख गरेका छन् । सँगै असन्तुष्टि र चुनौती पनि बढेको उनको विश्लेषण छ ।
२०७४ को निर्वाचनको तुलनामा नेपाली कांग्रेस तीन वटै तहमा पहिलो दलका रूपमा स्थापित हुनुमा गठबन्धनको महत्वपूर्ण योगदान रहेको शर्माले लेखेका छन् । स्थानीय निर्वाचनमा ७५३ पालिकामध्ये १८८ गा.पा. अध्यक्ष र १४१ नगर÷उपमहानगर र महानगर प्रमुखसहित ३२९ पालिकाको नेतृत्वमा कांग्रेस उम्मेदवार विजयी हुनु तथा ७५३ उपप्रमुख वा उपाध्यक्षमध्ये नेपाली कांग्रेसका उम्मेदवार ३०० स्थानमा (१९० उपाध्यक्ष र ११० उपप्रमुख) विजयी हुनु उपलब्धि भएको शर्माले लेखेका छन् । यस्तै प्रतिनिधिसभातर्फ २७५ मध्ये प्रत्यक्षमा ५७ क्षेत्र र समानुपातिकमा ३२ सिट गरेर ८९ स्थानमा तथा ५५० सिट रहेको प्रदेशसभामा प्रत्यक्षतर्फ १११ र समानुपातिकतर्फ ६४ गरी १७५ सिटमा जित हासिल गर्नुमा गठबन्धनका सहयात्रीहरुको जोडबलले थियो भन्ने तथ्य बिर्सन नहुने शर्माको बुझाइ छ ।
शर्माले २०७९ को निर्वाचनमा कांग्रेसका परम्परागत मतदाताले अन्य चिन्हमा मत दिन पार्टीले गरेको आग्रह नरुचाएको भन्दै तीनको विश्वासलाई पुनर्जागृत गर्ने चुनौति रहेको उल्लेख गरेका छन् । यस्तै गठबन्धनमार्फत पहिलो दल बनेपनि २०७४ को तुलनामा करिब ७ प्रतिशत मत गुमाउनुको वास्तविक कारण पहिचान गर्नुपर्ने उनको धारणा छ ।
शर्माले निर्वाचन आउनुभन्दा चार वर्ष अघिनै निर्वाचनबारे छलफल गर्नु भने आवश्यक बिषय नभएको उल्लेख गरेका छन् । आगामी निर्वाचनमा पनि गठबन्धन गरेर हामी जानेछौं या तिनवटै तहको सम्पुर्ण स्थानमा कांग्रेस उम्मेदवार खडा गर्नेछौं भन्ने विषयमा उपयुक्त समयमा उपयुक्त निर्णय गर्नुपर्ने उनको मत छ । ‘अहिले तत्काल हामी जुन गठबन्धनमा छौं, त्यो आगतको सम्झौता होइन, विगतले बोकाएको अभिभारा हो’ उनले भनेका छन्, ‘अतः त्यसमा निरन्तरता चाहँदा हामीबीच अलमल या अस्पष्टता होईन सुस्पस्ट प्रतिबद्धता जरुरी हुन्छ ।’
२०७९ को निर्वाचनपछि पुस १० गते अनपेक्षित रुपमा भत्किएको गठबन्धन राष्ट्रपति निर्वाचनमा पुग्दै गर्दा पुनः ‘ट्रयाक’ मा फर्किएको भन्दै शर्माले त्यसले गठबन्धनप्रति सबै दल प्रतिबद्ध रहेको स्पष्ट हुने बताएका छन् । कतिपय बिषयमा द्वन्द्व या असावधानी हुँदा यो जोखिममा परेपनि संयम र परिपक्वताको मार्गबाट पुनः ब्युँतिएको उल्लेख गर्दै फेरि पनि जोखिमको अवस्था आउन नदिन ठूलो दल भएका नाताले विशेष सतर्कता र सजग हुनुपर्ने उनले बताएका छन् । एकल बहुमत कसैको पनि नभएको संसदमा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा काँग्रेसको हुने उनको धारणा छ ।