ग्रामथानका अध्यक्ष एक महिनादेखि अस्पतालमा :काँग्रेसभित्र उपनिर्वाचनको चर्चा

विराटनगर । करिब एक महिनादेखि अस्पतालको बेडमाअर्धचेत अवस्थामा रहेका मोरङको ग्रामथानगाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारथारुलाई राजीनामा गराउन कांग्रेसले छलफलथालेको छ ।गच्छदार विराटनगरको नोबेल मेडिकलकलेजमा उपचाररत छन् । राष्ट्रियसभा निर्वाचनकोअघिल्लो दिन माघ १० गते उनी विराटनगरको एक होटलमा नेपाली कांग्रेसले आयोजना गरेको मतदाताहरुको भेलामा सहभागी उनी होटलमै ढलेका थिए । गठबन्धनका उम्मेदवारलाई जिताउन भन्दै भेला आयोजना गरिएको थियो । विराटनगरका इस्टर्न स्टार होटलमा सहभागी भएका थारु माघ १० गते साँझ ७ः१० बजेतिर बेहोस भएर ढलेपछि तत्काल नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

होटलमा खाना खाने लाइनमा बसेका उनी एक्कासि ढलेपछि कांग्रेसका नेताहरुले गाडीमा नोबेल अस्पतालमा उपचारका लागि लगेका थिए । अस्पताल प्रशासनका अनुसार उनी अचेत हवस्थामा छन् । करिब एक महिनादेखि अस्पतालको बेडमा अर्धचेत अवस्थामा रहेका गच्छदार थारुलाई राजीनामा गराउन कांग्रेसले छलफल थालेको हो ।

उनी बिरामी भएपछि उपाध्यक्ष गुणावती थारुले कार्यवाहक जिम्मेवारी पाएकी छन् । गुणावती नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि हुन् भने जयप्रकाश कांग्रेसका हुन् । कांग्रेसले गच्छदारको अवस्थामा सुधार नआए निर्वाचनमा जाने गरी छलफल थालेको बुझिएको छ ।

गाउँपालिकाको कार्यवाहकको जिम्मेवारी लामो समय उपाध्यक्ष (एमाले) लाई दिनुभन्दा गच्छदारलाई राजीनामा गराएर उपनिर्वाचन गर्ने रणनीतिबारे कांग्रेसमा छलफल भएको हो । ‘अध्यक्षको अहिलेको स्वास्थ्य अवस्थार चिकित्सककको भनाइअनुसार उहाँले निको भएर गाउँपालिकाको नेतृत्व गर्ने सम्भावना कम छ,’ कांग्रेसका एक नेताले भने, ‘त्यहाँ उपाध्यक्ष एमालेको हुनुहुन्छ । एमालेलाई किन कार्यवाहक
दिने भनेर उहाँलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नु पर्ने सुझाव आएको छ ।’

गत निर्वाचनमा गच्दारले ७ हजार ६०५ मत ल्याएर निर्वाचित भएका थिए । उनले एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत ल्याएका थिए । उनलाई राजीनामा गराएर उपनिर्वाचन मार्फत चुनावजित्ने रणनीतिमा कांग्रेस छ । निर्वाचित जनप्रतिनिधिले राजीनामा दिएको खण्डमा ६महिनाभित्र उप निर्वाचन हुने कानुनी प्रावधान रहेको छ । ग्रामथानमा उपनिर्वाचनमा समेत चुनाव जित्ने विश्लेषण रहेको जिल्ला स्तरका नेताहरुले बताएका छन् ।

उनको आइसियुमा उपचार भइरहेको छ ।अध्यक्षको बोल्ने अवस्था नभएपनि सेन्स भने रहेको नेपाली काग्रेसका उपसभापति भक्ति माझीले बताए । ‘एक दुई महिना नहेरी राजिनामा दिन लगाउने कुरा भएन,’ उपसभापति माझीले भने ‘निर्वाचित जनप्रतिनिनिधि हो, हतारहतार राजिनामा दिनुहोस् भन्न मिलेन । तर, राजिनामाको विषयमा चर्चाचाहिँ चल्न थालेको छ ।’ उनले राजिनामाको विषयमा चलेको चर्चा स्वभाविक पनि भएको बताएका छन् ।

‘परिस्थिति र डाक्टरको रिपोर्ट हेरेर ६ महिनासम्म पनि रिकभर भएन भने औपचारिक छलफल हुन्छ । उहाँ अहिले पूरै हाइरिक्समा हुनुहुन्छ । रिकभर त हुन्छ होला, तर समय लाग्छ’ उनले भने ।

उपाध्यक्ष गुणावतीले पनि बेहोस अवस्थामा राजिनामाको सम्भावना नभएको बताएकी छन् । ‘त्यस्तो बिरामीले कसरी राजिनामा दिनुहुन्छ ?,’ उनले भनिन् ।

निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटिरहेकै बेला त्यही समयमा उपनिर्वाचन हुनेगरी कांग्रेसका नेताहरुले छलफल थालेका हुन् ।तर, उपाध्यक्ष गुणावतीले भनेजस्तै अचेतअवस्थामा रहेका अध्यक्षले राजिनामामा सनाखत गर्ने अवस्था देखिँदैन ।

आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी आयोगले सरकारसँग प्रारम्भिक छलफलसमेत गरेको थियो । सरकारले भने उपनिर्वाचन बारे कुनै निर्णय गरेको छैन ।

मङ्गलबार, ०८ फागुन, २०८०, बिहानको १०:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर