पूर्व जनमुक्ति सेनाको उपचारमा समस्या

विराटनगर । नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको बेला माओवादीकै जनमुक्ति सेनाका सदस्य रहेका एक पूर्वलडाकुको उपचारमा आर्थिक संकट देखिएको छ । संखुवासभाको पाँचखपन नगरपालिका–२ श्याबुनका ४५ वर्षीय टेकनाथ दाहालको उपचारमा समस्या देखिएको हो ।

दाहाल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएपनि आर्थिक अभावकै कारण उपचार प्रभाबकारी हुन सकेको छ । दाहाललाई उपचारको लागि माघ २६ गते नोबेलमा भर्ना गरिएको थियो ।

दमका बिरामी उनलाई ६ दिनसम्म आइसियुमा राखिर फोक्सो वार्डमा सारिएको छ । परिवारको आम्दानीको स्रोत नहुँदा अभावसँगै रोगले पनि शिथिल बनाएर लगेको उनी गुनासो उनी गर्छन् । परिवारले आफन्तसँग ऋण गरेर उनलाई उपचारका लागि विराटनगर ल्याएका थिए । ऋण गरेर ल्याएको पैसा पनि सकिएपछि समस्या भएको उनले सुनाए ।

अस्पतालमा उपचारकै क्रमम ५ लाख रुपैयाँ खर्च भएको र त्यो रकम ऋण र सापटी गरेर तिरेको दाहालको भनाइ छ । दाहलकी पत्नी पार्वता थापा ‘कल्पना’ पनि माओवादीकी पूर्वलडाकु हुन् । पत्नी पार्वतासँगै जेठान बलबहादुर थापामा टेकनाथको उपचारमा संलग्न छन् ।

टेकनाथकी पत्नी पार्वता पनि सहयोद्धा पतिको सहज उपचार गराउन नसकेर पीडामा छन् । पार्टी र सरकारले सहयोग नगरेको तथा व्यक्तिगत हिसाबबाट मात्रै सहयोगको आश्वासन आएको उनले बताइन् ।

कोसी प्रदेशका सामाजिक विकास मन्त्री माओवादी नेता राजेन्द्र कार्की टेकनाथलाई भेट्न नोबेल अस्पतालमा पुगेका थिए । उनले टेकनाथको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

दाहाल माओवादी जनयुद्धलाई साथ दिँदै २०५७ साल पुस १६ गतेदेखि भूमिगत भएका थिए । एरिया सदस्य, जिल्ला सदस्य हुँदै तत्कालीन मेची–कोसी ब्युरो सचिवसम्म भए । अहिले पनि आफू माओवादीमै आबद्ध छन् ।

२०६० भदौ १९ गते पक्राउ परेर २०६३ माघ १६ गतेसम्म मोरङ कारागारमा बसेका उनीभन्दा पहिले श्रीमति पार्वता माओवादीमा लागेर भूमिगत भएकी थिइन् । माओवादीको तत्कालीन जनमुक्ति सेनामा आबद्ध पार्वता २०५७ जेठदेखि भूमिगत भएकी थिइन् । पार्वतालाई प्रहरीले २०५७ चैत २७ गते संखुवासभाको चिचिला स्थित कुवापानीबाट पक्राउ गरी हनुमानढोकामा लगेर राखेको थियो । पक्राउ परेको १ महिना १९ दिनपछि उनी रिहा भएकी थिइन् ।

मङ्गलबार, ०८ फागुन, २०८०, बिहानको ०८:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर