विराटनगर । नेपाल क्रिकेट फाउन्डेसन र मोरङ जिल्ला क्रिकेट सँघको संयुक्त आयोजनामा विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती मावि र सत्यनारायण मावि विजयी भएका छन् ।
आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकेडेमीलाई ४८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १७ ओभर ८ विकेट गुमाई ८३ रन बनाएको थियो । जसमा अविवेक यादवले सर्वाधिक २५ रन बनाए । मदरल्याण्डका विरजल राजवंशीले ४ विकेट लिँदा खेमराज हमालले ३ विकेट लिए ।
८४ रनको लक्ष्य पछ्याएको मदरल्याण्डले १२ दशमलव ३ बलमा सबै विकेट गुमाई ३५ रनमा सीमित भयो । मदरल्याण्डका कुनु पनि खेलाडीले दोहोरो अंकलाई छुन सकेनन् । सरस्वतीका म्यान अफ द म्याच अविवेक यादवले ४ विकेट लिए ।
दोस्रो खेलमा सत्यनारायण स्कुलले महेन्द्र स्कुललाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५छ रनको योगफल तयार पारेको थियो । जसमा सलमान कामतले सर्वाधिक ४९ रनको योगदान दिए । महेन्द्रका शिभम झाले ४ विकेट लिए ।
१ सय ५६ रनको विजयी लक्ष्य पाएको महेन्द्रले १७ ओभरमा सबै विकेट गुमाई ७३ रनमा सीमित भयो । जसमा शिभम झाले सर्वाधिक २९ रन बनाए । सत्यनारायणका म्यान अफ म्याच सलमान कामतले ४ विकेट लिए ।