विराटनगर । आफू मुख्यमन्त्रीको भएको चार महिनापछि सरकारलाई पूर्णता दिन सफल भएका मुख्यमन्त्री केदार कार्की सत्तारुढ गठबन्धन र आफ्नै पार्टी नेपाली काँग्रेसभित्रको चर्को असन्तुष्टिले घेरिएका छन् ।
शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्रीको सपथ गराएसँगै मुख्यमन्त्री कार्की एक्लै हिँड्न खोजेको र सहमति उल्लंघन गरेको भन्दै गठबन्धनभित्रैबाट उनको चर्को विरोध भएको छ ।मुख्यमन्त्रीले १० सदस्यीय मन्त्रिपरिषद्मा काँग्रेसका ६ जनालाई समावेश गर्दा काँग्रेस संस्थापन पक्षबाट एक जना मात्रै मन्त्री बनाएका छन् । यस्तै एकीकृत समाजवादीलाई थप एक मन्त्रालय मन्त्रालय दिने सहमति उल्लंघन गरेका छन् । सरकारमा एक जना मात्रै राज्यमन्त्री बनाउने पूर्वसहमति भएपनि गठबन्धनका नेताहरुलाई थाहै नदिई अर्को एक जना थपेका छन् ।
मुख्यमन्त्रीकै दल नेपाली कांग्रेस संसदीय दलका नेता एवं पार्टीका प्रदेश सभापति उद्धव थापादेखि गठबन्धनको सहयात्री दल नेकपा एकीकृत समाजवादीसम्मले मुख्यमन्त्रीले गठबन्धनको भावना विपरित अगाडि बढेको भन्दै सरकारको विकल्प खोज्नेसम्मको कडा अभिव्यक्ति दिएका छन् ।
एकीकृत समाजवादीका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्र राईले कार्कीले सहमति विपरीत मन्त्रिपरिषद विस्तार गरेको भन्दै गल्ती नसच्याए सरकारको विकल्प खोज्ने चेतावनी दिएका छन् । मुख्यमन्त्रीकै पार्टी काँग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले त अब कार्कीलाई बोकेर हिँड्न नसकिने अवस्था आएकोसमेत बताएका छन् ।
‘मुख्यमन्त्री सहमति र गठबन्धनको भावना अनुसार अघि बढ्न खोज्नुभएन’ थापाले भने, ‘यसले अब उहाँलाई बोकेर, काँध हालेर हिँड्न नसकिने अवस्था आयो । अब हामी के गर्ने भन्नेबारे सल्लाह गर्नेछौं ।’ पूर्वमुख्यमन्त्री राईका अनुसार जसपाको लागि एक मन्त्रालय खाली राख्ने र काँग्रेसबाट मुख्यमन्त्रीसहित चार मन्त्री मात्र नियुक्त गर्ने गठबन्धनबीच सहमति थियो । मन्त्री थप गर्ने अवस्थामा समाजवादीबाट पनि एक जना थप्ने सहमति कार्कीले उनले गरेका थिए ।
तर, कार्कीले आफूसहित काँग्रेसका ६ जनालाई मन्त्री बनाए भने जसपाको भागमा रहेको मन्त्रालयमा पनि काँग्रेसकै मन्त्रि नियुक्त गरे । यसअघि अध्यादेश ल्याउँदा पनि आफूहसँग कुनै सल्लाह नगरी ल्याएकोले आपत्ती रहेको पूर्वमुख्यमन्त्री राईको भनाइ छ ।
काँग्रेस संसदीय दलका नेता थापाले कार्कीलाई अब काँग्रेस र गठबन्धनले बोकेर जानसक्ने अवस्था नरहेको बताएका छन् । सरकार विस्तारबारे दलमा कुनै छलफल नगरेको र सपथ ग्रहण कार्यक्रममा आफूलाई खबरसमेत नगरिएको उनको भनाइ छ । ‘कोशी प्रदेशको राजनीति अस्तव्यस्त भयो, गठबन्धनले पनि थाम्न नसक्ने अवस्था भयो’ उनले भने, ‘अस्ति राष्ट्रियसभा चुनावले पनि त्यो देखाएको हो ।’
शुक्रबार मन्त्रीहरुको शपथमा पूर्वमुख्यमन्त्री रहेका काँग्रेस संसदीय दलका नेता थापा र एकीकृत समाजवादीका नेता राई मात्र हैन, मन्त्री बन्नेबाहेक काँग्रेसका कुनैपनि सांसद र नेताहरु सहभागी भएनन् । यसले काँग्रेसभित्रको चर्को असन्तुष्टि संकेत गरेको छ ।
काँग्रेस नेता थापा र समाजवादीका नेता राई दुबैले कोशीको गठबन्धन नै भताभुंग भएको कारण अर्को सरकार बन्नसक्ने संकेत गरेका छन् । ‘सरकार त के हुन्छ थाहा छैन । काम गराई अनुसार अब दलले पनि गठबन्धनले पनि सहयोग, समर्थन गरेर जाने अवस्था भएन’ उनले भने, ‘अब के गर्नुपर्ने हो भन्ने विषयमा गठबन्धनमा छलफल हुनेछ ।’ उनले अध्यादेश ल्याउँदा पनि काँग्रेस संसदीय दललाई जानकारी नदिएको बताइएका छन् ।
काँग्रेसबाट विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री भएकोले दललाई वेवास्ता गरेको भए भोलि पनि अर्को विद्रोह हुनसक्ने थापाले चेतावनी दिएका छन् । ‘विद्रोहपछि हामीले स्वीकार गरेका थियौं, सम्हालेर लानु पर्ने हो’ उनले भने, ‘बायुपंखी घोडाजस्तो एक्लै दौडने र भनेको पनि नमान्ने हिसावले काम गरेको देखियो ।’
एकीकृत समाजवादीका नेता राईले मुख्यमन्त्रीले आफ्नो कदम नसच्याए विभिन्न विकल्पमा जाने चेतावनी दिएका छन् । ‘उहाँलाई हामीले अहिलेको कदम सच्याउन भनेका छौं । नसच्याएको खण्डमा हामी सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाउनेछौं’ उनले भने, ‘अर्को सरकार बन्नसक्छ, गठबन्धन नै परिवर्तन हुनसक्छ ।’
मुख्यमन्त्रीको कदमप्रति गठबन्धन दल जसपाले पनि असन्तुष्टि जनाएको छ । पार्टीले पहिचानको मुद्दाबारे सहमति नभएको अवस्थामा तत्काल सरकारमा नजाने भनेकोमा पहिचानवादीसँग सहमति भइसकेको अवस्थामा आफूहरुसँग सल्लाह पनि नगरी सरकार विस्तार गर्नु गलत भएको एक नेताले बताए । ‘मुख्यमन्त्रीले एक्लै हिँड्न खोलेर आफ्नो आयु छोट्याएका छन्’ जसपाका ती नेताले भने ।
त्यसो त मुख्यमन्त्री कार्कीको कार्यशैलीप्रति माओवादी केन्द्र पनि सहमत छैन । महत्वपूर्ण विषयमा सल्लाह नगर्ने, भएको सहमति पालना नगर्ने, आफू मात्र सर्वेसर्वा ठान्ने गरेको भन्दै माओवादी नेताहरु पनि उनीप्रति असन्तुष्ट छन् ।
‘शुक्रबार मन्त्री थप गर्दा सहमतिविपरित एक राज्यमन्त्री थपेर कार्कीले आफ्नो मनोमानी कार्यशैली निरन्तरता दिएका छन्’ एक माओवादी नेताले भने, ‘यद्यपी गठबन्धनमा भएको सहमति अनुसार आफूहरुले मन्त्रालय पाएकोले तत्काल थप प्रतिक्रिया दिन्नौं ।’ ती नेताका अनुसार आफ्नै कार्यशैलीको कारण मुख्यमन्त्री कार्की एकपछि अर्को धरापमा पर्दै गएकोले उनको सरकारको निरन्तरताबारे पनि आशंका बढेको छ ।
आफ्नै दलका नेता र गठबन्धनको सहयात्री दलले विकल्प सोच्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि मुख्यमन्त्री कार्की भने झनै आक्रोशित बनेका छन् । ‘हिम्मत भए के–के गर्ने हो गरेर देखाए भयो’ उनी निकट सहयोगीहरु भन्छन्, ‘हामीले राम्रो काम गरेको देखेर उनीहरू आत्तिएका हुन् ।’
मन्त्री नपाएको झोंकमा उनीहरुले असन्तुष्टि जनाएको मुख्यमन्त्रीका प्रेस सल्लाहरका देवनारायण शाहले प्रतिक्रिया दिएका छन् । अबको दुई वर्ष यो सरकार हटाउनै नपाउने संविधानको व्यवस्था रहेको भन्दै उनले हिम्मत भए सरकारको विकल्प खोज्न थापा र राईलाई चेतावनी दिएका छन् ।