गोकुल पराजुली
‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखान नेपाली राजनीति प्रवृत्तिका बारेमा व्यङ्ग्य गर्न पटक पटक प्रयुक्त हुँदै आएको छ । गोरखा दरबारमा रहेको गोरखनाथ मन्दिर अहिले पनि कानचिरेका जोगीहरु छन् । गोरखनाथलाई पूज्ने र फेरी लगाएर भिक्षा दानमा आधारित जीवन चलाउने जोगीहरुको कान चिरिएको हुन्थ्यो । त्यसैले एक बेला पहाडतिर जोगी भनेकै फेरी लगाउनेहरु हुन् जसको कान चिरिएको हुन्थ्यो भन्ने बुझाइ थियो र त्यो उखान बन्यो । तर अहिले समय परिवर्तन भइसकेको छ । अब जुन जोगी आए पनि कानै चिरेका भनियो भने मानिसले पत्याउँदैनन् । अब जोगीहरुको पहिचान, परिचय बदलिसकेको छ ।
शनिबार मात्र पूर्व प्रधानमन्त्री झलनाथ खनालले जुन जोगी आएपनि कानै चिरेका भन्ने उखान प्रयोग गरेर भाषण गर्नुभयो । जो प्रधानमन्त्री बने पनि कार्यशैलीमा परिवर्तन नआएको भन्ने अर्थमा उहाँको त्यो असन्तुष्टि हुनसक्छ । अहिले नेताहरुले सत्ता प्राप्तिका विषयलाई सन्तुष्टि र असन्तुष्टिको नजरले हेर्ने गरेका छन् भने जनताले विकास र समृद्धिलाई आधार बनाएर देश बनेन र बन्दैन भन्ने प्रतिक्रियाहरु दिने गरेका छन् । नेताहरुले देश बिगारे बरु यो भन्दा पञ्चायत नै राम्रो थियो भन्नेहरु पनि भेटिन्छन् समाजमा । तर तथ्यले देश नबनेको देखाउँदैन भने पञ्चायत भन्दा राजासहितको बहुललीय प्रजातन्त्रले देश विकासमा महत्वपूर्ण योगदान गरेको र त्यसले भन्दा १६ वर्षे गणतन्त्रमा देशको विकासले निकै ठूलो फड्को मारेको देखाउँछ ।
अर्थमन्त्रालयले तयार गरेको एउटा तथ्यांकले के भन्छ हेरौं है त :
राजनीतिक शासन व्यवस्था र विकास सृङ्खलालाई ३० वर्षे पञ्चायत, १७ वर्षे बहुदल र १६ वर्षे गणतन्त्रको अवधि मानेर हेर्दा यस अवधिमा देश नबनेको भन्न सकिदैन । चाहेजति नबनेको कुरा सत्य होला तर देश विकासको गतिमै देखिन्छ । मुलुकमा चलेको ३० वर्षे पञ्चायती व्यवस्था अन्त्य हुँदा आर्थिक वर्ष २०४६÷४७ मा देशको कुल गार्हस्त उत्पादन ३ खर्ब ६३ अर्ब थियो त्यो १७ वर्षे प्रजातान्त्रिक कालमा दोब्बरले बढेर ६ खर्ब ४६ अर्ब पुग्यो अनि अहिले गणतन्त्र आएको १६ वर्षको अवधिमा बढेर ५३ खर्ब ८१ अर्ब पुगेको छ । यो तथ्यांकले देश बन्दै गएको देखाउँछ कि बिग्रेको ?
गरिबीको रेखामुनि रहेको जनसंख्याको अवस्थालाई तुलना गर्दा २०४६/४७ मा नेपालका ४९ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि थिए । २०६२/६३ मा गरिबीको रेखामुनि रहने जनसंख्या ३०.८५ प्रतिशतमा झर्यो भने अहिले त्यो संख्या १५.१ प्रतिशतमा छ । यसले देश बन्दै गएको देखाउँछ कि बिग्रदैं ? अवश्य पनि बन्दै गएको तथ्य हो ।
ग्रामीण क्षेत्रमा दुःख गरेर जीवन चलाउनेहरुले विकास भनेकै सडक बुझ्ने जमाना पुरानो होइन । २०४६/४७ मा पञ्चायत बिदा हुँदै गर्दा नेपालमा जम्मा ७ हजार ३३० किलोमिटर सडक थियो । प्रजातन्त्रको १७ वर्षे अवधि २०६२/६३ मा त्यो बढेर १७ हजार २९६ किलोमिटर बन्यो भने गणतन्त्र आएको १६ वर्षे अवधिमा सडक सञ्जाल विस्तार भई ९८ हजार ७०० किलोमिटर पुगिसकेको छ । यो देश नबनेको तथ्य अवश्य पनि होइन ।
प्रतिव्यक्ति आम्दानीको बढोत्तरीले पनि नागरिकको आयआर्जन गर्ने क्षमता बढेकै देखाउँछ । पञ्चायतले नेपाली जनतालाई दिएको प्रतिवर्ष आय १८५ अमेरिकी डलर हो । त्यसपछिको १७ वर्षमा त्यो बढेर ३११ डलर पुगेको थियो अहिले गणतन्त्रको १६ वर्षमा प्रतिव्यक्ति आय १४१० डलर भएको छ । यो तथ्यांक देश बिग्रिदै र डुब्दै गएको हावादारी दृष्टिकोण होइन बन्दै गएको तथ्य हो । यस अवधिमा विश्वमा भएको सूचना सञ्चारको विकासको कुरै नगरौं जसको उपभोग नेपाली जनताले गरिरहेकै छन् ।
विद्युत र खानेपानी पाउने जनसंख्याको आधारमा हेर्दा पनि नागरिक निराश हुनुपर्ने कुनै कारण देखिदैन । पञ्चायतले ३० वर्ष शासन गर्दा नेपाली जनतालाई २२७ मेघावाट विद्युत छोडेर गएको थियो । त्यतिबेला कुल जनसंख्याको ८.८ प्रतिशतले मात्र विद्युत सुविधा उपभोग गर्न पाएका थिए । २०६२÷६३ सम्म आइपुग्दा देशमा विद्युत उत्पादन ६१३ मेगावाट पुग्यो । ३० वर्र्षे पञ्चायतले भन्दा १७ वर्षे बहुदलकालमा विद्युत उत्पादन दोब्बर बढी भयो अनि उपभोक्ता १२ लाख पुगे ।
अनि गणतन्त्रको १६ वर्षे अवधिमा विद्युत उत्पादन बढेर २८०० मेगावाट पुगेको छ । अर्थात पछिल्लो १६ वर्षमा २१५० मेगावाट भन्दा बढी बिजुली उत्पादन भएको छ र ९५ प्रतिशत जनता विद्युतको पहुँचमा समेटिएका छन् । २०७४ सालसम्म १८ घण्टा लोडसेडिङमा बसेका हामी नेपाली अहिले नेपालबाट १५ अर्बको विजुली विदेशमा बिक्री गरेको हिसाब गर्ने भएका छौं । यो तथ्यांकले पनि देश बिग्रेर खत्तम भएको कतैबाट पुष्टि गर्दैन । आधारभूत खानेपानी पाएका जनसंख्या २०४६ सालमा ३६ प्रतिशत थियो अहिले त्यो बढेर ९४.९ प्रतिशत पुगेको छ । साक्षरता दर ४० प्रतिशतबाट बढेर ७६ प्रतिशत पुगेको छ ।
नेपालीको औषत आयु ५४ वर्षबाट बढेर ७१ वर्ष पुगेको छ । स्वास्थ्य क्षेत्रमा भएको विकासले औषत आयुमा सुधार सम्भव भएको हो । यस्ता कैयन तथ्यांकहरु छन् जसले देश बन्दै गएको अझ बन्नेक्रमले गति लिएको नै देखिन्छ । यो गतिलाई अझ तीब्रत्तर बनाउन जरुरी छ । तर बनेन, बिग्रियो, बर्बाद भयो भन्ने भाष्य भने तथ्य, तथ्यांक, यथार्थ अवस्थालाई अध्ययन र मनन् गरेर परिवर्तन गर्नै पर्छ । त्यसैले हामीले एउटा कुरा निर्धक्क भन्न सक्नु पर्छ कि राजा महाराजाले सयौं वर्षसम्म देश बर्बाद बनाएकै हुन् । गणतन्त्र आएपछि देश विकासको पथमा बढेकै हो । राजनीतिक स्थिरता, सुशासन र सुव्यवस्था कायम गरी अब तीब्र विकासमा लैजान संघीय गणतन्त्र नै सक्षम छ ।