लोड हुँदैछ...

मेनु

तथ्यले भन्छ देश गणतन्त्रमै बन्छ

तथ्यले भन्छ देश गणतन्त्रमै बन्छ

‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखान नेपाली राजनीति प्रवृत्तिका बारेमा व्यङ्ग्य गर्न पटक पटक प्रयुक्त हुँदै आएको छ । गोरखा दरबारमा रहेको गोरखनाथ मन्दिर अहिले पनि कानचिरेका जोगीहरु छन् । गोरखनाथलाई पूज्ने र फेरी लगाएर भिक्षा दानमा आधारित जीवन चलाउने जोगीहरुको कान चिरिएको हुन्थ्यो । त्यसैले एक बेला पहाडतिर जोगी भनेकै फेरी लगाउनेहरु हुन् जसको कान चिरिएको हुन्थ्यो भन्ने बुझाइ थियो र त्यो उखान बन्यो । तर अहिले समय परिवर्तन भइसकेको छ । अब जुन जोगी आए पनि कानै चिरेका भनियो भने मानिसले पत्याउँदैनन् । अब जोगीहरुको पहिचान, परिचय बदलिसकेको छ ।

शनिबार मात्र पूर्व प्रधानमन्त्री झलनाथ खनालले जुन जोगी आएपनि कानै चिरेका भन्ने उखान प्रयोग गरेर भाषण गर्नुभयो । जो प्रधानमन्त्री बने पनि कार्यशैलीमा परिवर्तन नआएको भन्ने अर्थमा उहाँको त्यो असन्तुष्टि हुनसक्छ । अहिले नेताहरुले सत्ता प्राप्तिका विषयलाई सन्तुष्टि र असन्तुष्टिको नजरले हेर्ने गरेका छन् भने जनताले विकास र समृद्धिलाई आधार बनाएर देश बनेन र बन्दैन भन्ने प्रतिक्रियाहरु दिने गरेका छन् । नेताहरुले देश बिगारे बरु यो भन्दा पञ्चायत नै राम्रो थियो भन्नेहरु पनि भेटिन्छन् समाजमा । तर तथ्यले देश नबनेको देखाउँदैन भने पञ्चायत भन्दा राजासहितको बहुललीय प्रजातन्त्रले देश विकासमा महत्वपूर्ण योगदान गरेको र त्यसले भन्दा १६ वर्षे गणतन्त्रमा देशको विकासले निकै ठूलो फड्को मारेको देखाउँछ ।

अर्थमन्त्रालयले तयार गरेको एउटा तथ्यांकले के भन्छ हेरौं है त :

राजनीतिक शासन व्यवस्था र विकास सृङ्खलालाई ३० वर्षे पञ्चायत, १७ वर्षे बहुदल र १६ वर्षे गणतन्त्रको अवधि मानेर हेर्दा यस अवधिमा देश नबनेको भन्न सकिदैन । चाहेजति नबनेको कुरा सत्य होला तर देश विकासको गतिमै देखिन्छ । मुलुकमा चलेको ३० वर्षे पञ्चायती व्यवस्था अन्त्य हुँदा आर्थिक वर्ष २०४६÷४७ मा देशको कुल गार्हस्त उत्पादन ३ खर्ब ६३ अर्ब थियो त्यो १७ वर्षे प्रजातान्त्रिक कालमा दोब्बरले बढेर ६ खर्ब ४६ अर्ब पुग्यो अनि अहिले गणतन्त्र आएको १६ वर्षको अवधिमा बढेर ५३ खर्ब ८१ अर्ब पुगेको छ । यो तथ्यांकले देश बन्दै गएको देखाउँछ कि बिग्रेको ?

गरिबीको रेखामुनि रहेको जनसंख्याको अवस्थालाई तुलना गर्दा २०४६/४७ मा नेपालका ४९ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि थिए । २०६२/६३ मा गरिबीको रेखामुनि रहने जनसंख्या ३०.८५ प्रतिशतमा झर्यो भने अहिले त्यो संख्या १५.१ प्रतिशतमा छ । यसले देश बन्दै गएको देखाउँछ कि बिग्रदैं ? अवश्य पनि बन्दै गएको तथ्य हो ।

ग्रामीण क्षेत्रमा दुःख गरेर जीवन चलाउनेहरुले विकास भनेकै सडक बुझ्ने जमाना पुरानो होइन । २०४६/४७ मा पञ्चायत बिदा हुँदै गर्दा नेपालमा जम्मा ७ हजार ३३० किलोमिटर सडक थियो । प्रजातन्त्रको १७ वर्षे अवधि २०६२/६३ मा त्यो बढेर १७ हजार २९६ किलोमिटर बन्यो भने गणतन्त्र आएको १६ वर्षे अवधिमा सडक सञ्जाल विस्तार भई ९८ हजार ७०० किलोमिटर पुगिसकेको छ । यो देश नबनेको तथ्य अवश्य पनि होइन ।

प्रतिव्यक्ति आम्दानीको बढोत्तरीले पनि नागरिकको आयआर्जन गर्ने क्षमता बढेकै देखाउँछ । पञ्चायतले नेपाली जनतालाई दिएको प्रतिवर्ष आय १८५ अमेरिकी डलर हो । त्यसपछिको १७ वर्षमा त्यो बढेर ३११ डलर पुगेको थियो अहिले गणतन्त्रको १६ वर्षमा प्रतिव्यक्ति आय १४१० डलर भएको छ । यो तथ्यांक देश बिग्रिदै र डुब्दै गएको हावादारी दृष्टिकोण होइन बन्दै गएको तथ्य हो । यस अवधिमा विश्वमा भएको सूचना सञ्चारको विकासको कुरै नगरौं जसको उपभोग नेपाली जनताले गरिरहेकै छन् ।

विद्युत र खानेपानी पाउने जनसंख्याको आधारमा हेर्दा पनि नागरिक निराश हुनुपर्ने कुनै कारण देखिदैन । पञ्चायतले ३० वर्ष शासन गर्दा नेपाली जनतालाई २२७ मेघावाट विद्युत छोडेर गएको थियो । त्यतिबेला कुल जनसंख्याको ८.८ प्रतिशतले मात्र विद्युत सुविधा उपभोग गर्न पाएका थिए । २०६२÷६३ सम्म आइपुग्दा देशमा विद्युत उत्पादन ६१३ मेगावाट पुग्यो । ३० वर्र्षे पञ्चायतले भन्दा १७ वर्षे बहुदलकालमा विद्युत उत्पादन दोब्बर बढी भयो अनि उपभोक्ता १२ लाख पुगे ।

अनि गणतन्त्रको १६ वर्षे अवधिमा विद्युत उत्पादन बढेर २८०० मेगावाट पुगेको छ । अर्थात पछिल्लो १६ वर्षमा २१५० मेगावाट भन्दा बढी बिजुली उत्पादन भएको छ र ९५ प्रतिशत जनता विद्युतको पहुँचमा समेटिएका छन् । २०७४ सालसम्म १८ घण्टा लोडसेडिङमा बसेका हामी नेपाली अहिले नेपालबाट १५ अर्बको विजुली विदेशमा बिक्री गरेको हिसाब गर्ने भएका छौं । यो तथ्यांकले पनि देश बिग्रेर खत्तम भएको कतैबाट पुष्टि गर्दैन । आधारभूत खानेपानी पाएका जनसंख्या २०४६ सालमा ३६ प्रतिशत थियो अहिले त्यो बढेर ९४.९ प्रतिशत पुगेको छ । साक्षरता दर ४० प्रतिशतबाट बढेर ७६ प्रतिशत पुगेको छ ।

नेपालीको औषत आयु ५४ वर्षबाट बढेर ७१ वर्ष पुगेको छ । स्वास्थ्य क्षेत्रमा भएको विकासले औषत आयुमा सुधार सम्भव भएको हो । यस्ता कैयन तथ्यांकहरु छन् जसले देश बन्दै गएको अझ बन्नेक्रमले गति लिएको नै देखिन्छ । यो गतिलाई अझ तीब्रत्तर बनाउन जरुरी छ । तर बनेन, बिग्रियो, बर्बाद भयो भन्ने भाष्य भने तथ्य, तथ्यांक, यथार्थ अवस्थालाई अध्ययन र मनन् गरेर परिवर्तन गर्नै पर्छ । त्यसैले हामीले एउटा कुरा निर्धक्क भन्न सक्नु पर्छ कि राजा महाराजाले सयौं वर्षसम्म देश बर्बाद बनाएकै हुन् । गणतन्त्र आएपछि देश विकासको पथमा बढेकै हो । राजनीतिक स्थिरता, सुशासन र सुव्यवस्था कायम गरी अब तीब्र विकासमा लैजान संघीय गणतन्त्र नै सक्षम छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।