विराटनगर । विराटनगर–५ घर भएका ५० वर्षीय डिल्ली प्रसाईं छात्ती दुखेपछि मुटुको समस्या भएको शंका लागेर गत सोमबार विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रमा पुगे । कोशी प्रदेशका मुख्यमन्त्रीले मुटुरोगको उपचारमा कुनै समस्या नहुनेगरी केन्द्र स्थापना गरेको भन्दै दिएको अभिव्यक्ति सुनेपछि उनी सिधै केन्द्रमा पुगेका थिए ।
हृदयरोग केन्द्रको ओपीडीमा डा.सर्वेश झासँग स्वास्थ्य परीक्षण गर्दा उनको प्रेसर १८०/१२० पुगेको थियो । तत्काल प्रेसर डाउन गराएर थप उपचार गर्नुपर्ने अवस्थाका उनलाई इन्जेक्सनमार्फत औषधी दिनुपर्ने डा.झाले बताए । तर, हृदय रोग केन्द्रमा इन्जेक्सन र आकस्मिक सेवासमेत नरहेकोले उनलाई कोशी अस्पताल रेफर गरियो ।
मधेश प्रदेशको सिराहका ७० वर्षीय श्याम महतोलाई ह्दयघात भएपछि परिवारले शैलजा आचार्य हृदय रोग केन्द्रमा लिएर आए । कोशी प्रदेश सरकारले मुटुरोगको उपचार गर्ने अस्पताल स्थापना गरेको समाचार सुनेका उनका परिवारले सिधै केन्द्रमा उनलाई ल्याएका थिए ।
महतोलाई तत्काल एन्जियोग्राफी गरेर थप उपचार गर्नुपर्ने अवस्था थियो । केन्द्रमा पुगेपछि चिकित्सकले मुटुको ओपीडी सेवा मात्र केन्द्रले दिने जानकारी गराएपछि उनलाई विराटनगरकै एक निजी अस्पताल लगियो ।
गत माघ ८ गते कोशी प्रदेश सरकारले प्रदेशका मुटुरोगीहरुको निःशुल्क उपचार गर्ने भन्दै केन्द्र स्थापना गरेको हो । केन्द्रको ठुलै तामझामसहित उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले ‘प्रदेशका नागरिकको लागि सरकारले मुटु उपहार दिएको’ बताएका थिए । ‘अब मुटुरोगको उपचारको लागि अन्यत्र जानु नपर्ने र नागरिकले आफ्नो घरखेत बेच्नुपर्ने बाध्यता अन्त्य भएको छ’ उनले भनेका थिए, ‘घर अगाडि मन्दिर बनाउने बजेट काटेर अस्पताल निर्माण गरिएको हो ।’
आफ्नो नेतृत्वमा सरकार बनेको एक सय दिन पुरा भएको अवसर पारेर कार्कीले शैलजा आचार्य हृदय रोग केन्द्र उद्घाटन गरेका थिए । विराटनगर–१४ मा प्रदेश सरकारले सञ्चालन गर्दै आएको संक्रामक रोग उपचार केन्द्रको बोर्ड परिवर्तन गरेर हृदयरोग केन्द्र बनाइएको थियो ।
केन्द्र स्थापनापछि मुख्यमन्त्री कार्कीले सबै औपचारिक र सार्वजनिक कार्यक्रममा त्यसलाई उपलब्धिको रुपमा ब्याख्या गर्ने गरेका छन् । प्रदेशका नागरिकको मुटुको उपचार गर्ने अस्पताल स्थापना गर्दा विरोध भएको भन्दै उनले त्यसलाई वास्ता नगर्ने बताउने गरेका छन् ।
मुख्यमन्त्रीले नागरिकलाई ‘मुटु उपहार’ दिएको केन्द्र भने आफैंमा जनशक्ति, उपकरण र योजनाको अभाबले आफैं छट्पटीमा रहेको देखिएको छ । केन्द्रमा यसअघि कोशी अस्पतालमा रहेका मुटुरोग विषेशज्ञ डा.सर्वेश झालाई लगिएको छ । तर, केन्द्रले मुटुरोगीको उपचार गर्न कोशी र अन्य निजी अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता छ ।
प्रदेश सरकार र मुख्यमन्त्रीले ब्यापक प्रचार गरेको कारण हृदयरोग उपचार केन्द्रको बारेमा धेरैले जानकारी पाएका छन् । जसले गर्दा केन्द्रमा दैनिक ३० देखि ४० जनासम्म विरामी मुटुरोगको उपचार गराउन पुग्ने गरेका छन् । दैनिक आउने विरामीमध्ये ५ देखि ८ जनासम्म भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका रहने गरेको केन्द्रले जनाएको छ । तर, केन्द्रमा ओपीडीबाहेक अन्य सेवा नरहेकोले विराटनगरकै निजी अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता छ ।
हृदय रोग केन्द्रमा ८ माघदेखि २२ गतेसम्म ३७० जनाले ओपीडीमा स्वास्थ्य जाँच गराएका छन् भने ३६३ जनाको इसीजी र १२१ जनाको इको गरेका छन् । यस्तै हल्टर (मटुको चाल) मापन गर्ने १२ जनाको गराएको अस्पतालको अभिलेखमा देखिन्छ । अस्पतालमा टीएमटी सेवाको बोर्ड भएपनि उपकरण नभएकोले सेवा सुरु भएकै छैन ।
टिएमटी जाँच गरेपछि विरामीको एन्जीयोग्राफी गर्ने कि नगर्ने यकिन हुने चिकित्सक बताउँछन् । तर, उपकरण नहुँदा ओपीडीकै सेवा प्रभाबकारी नभएको केन्द्रका स्वास्थ्यकर्मीले बताएका छन् ।केन्द्र उद्घाटन भएपछि दुई हप्तासम्म मुटुरोग विशेषज्ञ दुई जनाले सेवा दिएका थिए । गत आइतबारदेखि भने डा.झा मात्र रहेका छन् । एक जना मात्र विशेषज्ञ चिकित्सक हुँदा सेवा प्रबाहमै समस्या रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
यसअघि डा. झासँगै वीर अस्पतालबाट आएका डा.समिर पौडेलले विरामीलाई सेवा प्रदान गर्दै आएका थिए । डा.पौडेल एक हप्ता बसेर काठमाण्डौं फर्किसकेका छन् । अर्को डाक्टरको व्यवस्था नगर्दासम्म वीर अस्पतालबाट अल्टरनेट डाक्टर आउने प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, पौडेल फर्किएपछि कोही पनि डाक्टर आएका छैनन् ।
एक जना चिकित्कसले ओपीडीमा विरामी जाँच गरेपछि अर्को चिकित्सकले इको गर्नुपर्नेमा अर्को चिकित्सक नै केन्द्रमा छैनन् । केन्द्रमा आएका दैनिक ४० देखि ५० जना विरामीमध्ये १० देखि २० जनासम्मको इको गर्नुपर्ने अवस्था रहेको छ । एउटा इको गर्न २० देखि ३० मिनेटसम्म लाग्ने गर्छ । तर, एक मात्र चिकित्सक हुँदा समस्या रहेको डा.झा बताउँछन् ।
कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकी सचिब डा.सुधा देवाकोटाले भने जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढेको बताएकी छन् । वीर अस्पतालबाट सहयोग गर्न अर्का डाक्टर आउने उनको दावी छ । आपूर्ती व्यवस्थापन केन्द्रले टिएमटी खरिद प्रक्रिया अगाडि बढाएकोले एक हप्ताभित्रमा सेवा सुचारु हुने उनले बताइन् । ‘जनशक्ति व्यवस्थापनको लागि प्रक्रिया अगाडि बढेको छ, बीरबाट अर्का डाक्टर पनि आउनुहुन्छ’ उनले भनिन्, ‘अस्पतालको विकास विस्तारै भइरहेको छ ।’
प्रदेश सरकारले केन्द्र उद्घाटन गरेको १५ दिन वित्नलाग्दा बल्ल कति जनशक्ति चाहिन्छ भन्ने अध्ययन गर्दैछ । स्वास्थ्य मन्त्रालयले ओएण्डएम गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पढाउने तयारी गरिएको जनाएको छ । स्वास्थ्य सचिव देवकोटाले बिस्तारै अस्पतालको विकास हुने बताउँछिन् ।
प्रदेश सरकारले केन्द्र सञ्चालनको लागि चालु वर्षमा ५ करोड ५० लाख बजेट विनियोजन गरेको छ । यद्यपी सरकारले दावी गरेजस्तै मुटुरोगको सबै सेवा प्रदान गर्नेगरि अस्पताल सञ्चालन गर्ने हो भने एक अर्बभन्दा धेरै लगानी गर्नुपर्ने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।
कोशी प्रदेशमा मुटु रोगी २ लाखभन्दा बढी छन् । उनीहरुको लागि सेवा विस्तार हुनु सुखद् कुरा हो । तर, भइरहेका सरकारी अस्पताल राम्रो व्यवस्थापन नहुँदा बन्द हुने अवस्थामा पुगिरहँदा स्थापना भएको हृदय रोग उपचार केन्द्र प्रचारमै सीमित नहोस् भन्ने चाहना प्रदेशवासीको छ ।