विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत दलका नेताहरुलाई गाडी सुविधा दिन लागेकोप्रति नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले असन्तुष्टि जनाएका छन् ।
मंगलबार विराटनगर ७ मा समुदायमा कांग्रेस अभियानको उद्घाटन गर्दै डा.कोइरालाले अध्यादेशमार्फत प्रदेशका पदाधिकारीको सङ्ख्या थप्दै गाडी सुविधा दिने प्रयास ‘फाइनान्सीयल क्राइम’ भएको बताए ।
देशमा आर्थिक सङ्कट छ रहेको बेला सुविधा घटाउनुपर्नेमा सुविधा बढाएकोमा ज्यादै पीडा भएको उनको भनाइ छ । ‘अहिले संस्थानहरु बन्द गर्नुपर्छ भन्दै छौं, यो बेला सांसदहरुलाई सुविधा बढाउने कुरा नेपाली कांग्रेसका साथीहरूलाई पीडाबोध भएको मलाई लागि रहेको छ’ उनले भने ।
मुलुक आर्थिक रूपमा सङ्कटमा रहेको बेला नेतालाई खुसी पार्न विलासिताका बस्तुमा प्रदेश सरकारले गर्न लागेको लगानीको कुराले आफूलाई दुःख लागेको कोइरालाको भनाइ छ । सांसदलाई सुविधा थप्ने कुरा अहिलेको परिस्थितिमा उपयुक्त नभएको भन्दै उनले ‘इकोनोमिक क्राइसिस’ सँगै अहिले ‘इकोनोमिक क्राइम’ पनि बढिरहेको दावी गरे ।
कोशी प्रदेश सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड (ख) अध्यादेशबाट संशोधन गरेको छ । शंशोधनपछि प्रदेशसभाको पदाधिकारीको रुपमा पूर्वमुख्यमन्त्री र सरकारमा रहेका दलका नेताहरुलाई पनि थप गरिएको छ । अध्यादेश अनुसार अनुसुची संशोधन भएमा प्रदेशसभामा रहेका राजनीतिक दलका संसदीय दलका नेता र पूर्वमुख्यमन्त्रीहरुले गाडीसहितको सुविधा प्राप्त गर्नेछन् ।