साझा प्रयत्नले मोरङमा हात्तीपाइले निवारण

 सम्पादकीय

रोग निवारण भएको छ । आम जिल्लाबासीका लागि यो महत्वपूर्ण छ । ब्याक्टेरियाका कारण हुने यो रोग अत्यन्तै भयानक छ । रोगबाट संक्रमण भएकाहरुले कष्टसाध्य जीवन बाँच्नु पर्ने भएकोले यसको निवारण अनिवार्य थियो । जुन भर्खरै जनस्वास्थ्य कार्यालय मोरङले रोग निवारण भएको सूचना सम्प्रेषण गरेको हो ।

लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्ने यो रोग विशेष गरी बढी लामखुट्टेको प्रकोप भएको तराई, मधेश तथा भित्री मधेशका जिल्लाहरुमा बढी पाइन्थ्यो । पछिल्लो समय कोशी प्रदेशका १४ मध्ये तीन जिल्ला झापा, मोरङ र सुनसरीमा यो रोग निवारण हुन सकिरहेको थिएन । यस वर्षबाट मोरङ जिल्लामा पनि यो रोगको जीवाणु न्यूनत व्यक्तिहरुमा मात्र विद्यमान रहेको निश्कर्ष निकाल्दै रोग निवारण भएको घोषणा गरेको हो ।

रोग निवारण भएको घोषणा गर्नुअघि जनस्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रका विभिन्न गाउँहरुबाट १ हजार ८०० बढी नमूना रगत संकलन गरी प्रयोगशालामा परीक्षण गरेको थियो । त्यस क्रममा हात्तीपाइले रोगको जीवाणु एक प्रतिशत भन्दा कम व्यक्तिमा मात्र पाइएको थियो । सुशुप्त अवस्थामा रहने यो जीवाणुले अनुकुलता पाउनासाथ सक्रिय भई व्यक्तिमा हात्तीपाइलेको लक्षण बिस्तार गर्ने गर्दछ । तर, पछिल्लो परीक्षणबाट जीवाणु संक्रमण भएको संख्या न्यून पाइएको हो ।

विशेष गरेर मोरङको दक्षिणी क्षेत्रमा यो रोगको संक्रमण बढी पाइएको थियो । सीमावर्ती भारततर्फका गाउँ बस्तीमा रोगको संक्तमण उच्च भएका कारण नेपाल तर्फ निवारण भए पनि रोगको स्रोत यथावत रहँदा निवारणको प्रयत्न सफल हुन सकेको थिएन । तर नेपाल सरकारलको लगातारको प्रयत्न र औषधि सेवन अभियानले यो रोग मोरङमा निवारण गर्ने सफलता मिलेको छ ।

हात्तीपाइले रोग निवारण गर्न नेपाल सरकारले १२ वर्षअघि औषधि सेवन गराउने अभियान सुरु गरेको थियो । त्यस्तो अभियान कोशी प्रदेशका धेरै जिल्लामा बन्द भइसकेको छ । रोग निवारण भएपछि औषधि सेवन अभियान बन्द हुने भएकोले अझै कोशीका दुई जिल्ला झापा र सुनसरीमा बाह्रौं पटक पनि औषधि सेवन जारी राखिने छ । तर मोरङमा भने यस वर्षदेखि हात्तीपाइले रोगविरुद्ध औषधि नखुवाइने भएको छ ।
हुन त हात्तीपाइले रोगको औषधि सेवन अभियान लामो समयसम्म सफलतापूर्वक सम्पन्न हुन सकेनन् ।

विशेषगरेर पढेलेखेका र बुद्धिजीवि वर्गले नै यो रोग निवारणमा उल्लेख्य सहयोग गरेनन् । हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्ने र व्यक्तिको मृत्युसमेत हुनसक्ने भ्रम फैलिएका कारण अघिल्ला वर्षहरुमा धेरैले औषधि सेवन नगर्ने समस्या देखिएको थियो । तर पछिल्लो समय लक्षित समुदायमा झण्डै ९० प्रतिशतसम्मले औषधि सेवन गरेपछि यो रोग निवारणको तहमा पुगेको हो । यस कार्यमा नेपाल सरकार र स्थानीय तहमा औषधि सेवन अभियान सञ्चालन गर्ने जिल्ला स्वास्थ्य कार्यालय, गाउँ तथा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु सबैको एकीकृत प्रयत्न छ । जसले बाह्र वर्षपछि भए पनि जिल्लालाई हात्तिपाइलेमुक्त बनाउने सफलता दिलाएको छ ।

आइतबार, १४ माघ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर