नियुक्ति प्रक्रिया पारदर्शी हुनुपर्छ

 सम्पादकीय

विराटनगरस्थित कोशी अस्पतालले केहि कर्मचारी नियुक्तको प्रक्रिया अगाडि बढाएकोमा सुरुवातै विवाद भएको छ । अस्पताल विकास समितिले आफू निकटका व्यक्तिलाई नियुक्ति दिने नियतले अनुकूलको मापदण्ड तयार गरि कर्मचारी पदपूर्तिको सूचना बाहिर ल्याएको छ । अस्पतालले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक कर्मचारी गरी ५० जना करारमा नियुक्त गर्न सूचना निकालेको छ । तर, परीक्षाको मापदण्ड भने असमान ढंगले तोकिएको छ । तीन महिनाको सेवा करार रहने गरी ४ माघमा जारी गरेको सूचनामा अस्पताल विकास समितिले मनपरी मापदण्ड तयार पारी सूचना जारी गरेको हो । अझ कतिपय पदमा त सूचना नै ननिकाली गुपचुप रुपमा नियुक्त गरिसकेको पाइएको छ । चलखेलमा गरिएको यस्तो नियुक्तिलाई विकास समितिका अध्यक्षले हाँस्यास्पद तर्क दिएर बचाउ गरिरहेका छन् । खुल्ला प्रतिस्पर्धा गर्दा आर्थिक चलखेल हुने भएकोले गुपचुप कर्मचारी नियुक्त गरिएको उनको दावी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास समितिलाई ५० जना कर्मचारी थप गर्न दरबन्दी स्वीकृत गरेर पठाएको थियो । अस्पतालले आठौं तहको १० जना मेडिकल अधिकृत, सातौं तहको एक जना नर्सिङ अफिसर, पाँचौ तहको ३० जना स्टाफ नर्स, पाँचौ तहको २ जना वायोमेडिकल इन्जिनियर र ७ जना पाँचौ तहको फार्मेसी सहायकको माग गरेको छ । तीमध्ये पाँचौ तहको स्टाफ नर्सको लागि लिखित र अन्तर्वार्ता दुवै लिने सूचनामा उल्लेख छ । तर, सातौं तहको नर्सिङ अधिकृत नियुक्ति गर्नको लागि विकास समितिले अन्र्तवार्ता मात्र लिने जनाएको छ । सहायक स्तरको कर्मचारी नियुक्तिको लागि लिखित र अन्तरवार्ता दुबै लिने तर, अधिकृत स्तरको कर्मचारी नियुक्त गर्न अन्तरवार्ता मात्र लिने सूचनाले आफैंमा चलखेल पुष्टि गर्दछ । अस्पताल विकास समितिका अध्यक्षले आफ्नो मान्छे नियुक्त गर्न यस्तो मापदण्ड बनाएको आरोप लागेको छ । विकास समितिका अध्यक्ष फरवार्ड सिलवालले यसो गर्नुको स्पष्ट कारण खुलाउन सकेका छैनन् ।

अस्पतालका मेसु डा.चन्द्रभाल झाले नियुक्तिको प्रक्रिया लामो हुने भएकोले दरबन्दी कम भएको पदमा अन्तरवार्ता राखिएको बताएका छन् । नियुक्ति प्रक्रिया निष्पक्ष र खुल्ला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनोट हुने दावी अस्पताल विकास समितिको छ । तर, मापदण्ड नै फरक राखेर कर्मचारी पदपूर्तीको सूचना बाहिर आएकोले नियुक्ति प्रक्रिया प्रतिस्पर्धात्मक र पारदर्शी हुनेमा आशंका पैदा भएकै छ । त्यसो त अस्पताल विकास समितिले यसअघि सूचना नै प्रकाशित नगरी एक जना बायोमेडिकल इन्जिनियर गुपचुपमै नियुक्त गरिसकेको छ । अस्पताल विकास समितिका अध्यक्षको चाहनामा पाँचौ तहको नियुक्ति दिइएको हो । जसको लागि कुनै प्रतिस्पर्धा नगराई ठाडो नियुक्ति दिइयो । अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएपछि सिलवालले सबै नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने बताउँदै आएका थिए । तर, उनको कदम एकपछि अर्को विवादित बन्दै आएको छ ।

एकपछि अर्को राजनीतिक हस्तक्षेपको कारण भर्तीकेन्द्र बनेको कोशी अस्पताल एकपछि अर्को विवाद र संकटमा पर्दै आएको छ । स्वास्थ्य क्षेत्रजस्तो महत्वपूर्ण क्षेत्रमा प्रतिस्पर्धाको आधारमा अब्बल व्यक्तिहरु नियुक्त हुनुपर्नेमा गुपचुपमा नियुक्त गर्नु र प्रतिस्पर्धालाई साँघुरो पार्ने प्रयास गर्नु नागरिकको स्वास्थ्यमाथिकै खेलवाड हो । अस्पताल विकास समितिले यसलाई सच्याउनुपर्छ । सम्बन्धित निकायहरुले पनि यसमा चनाखो हुनुपर्छ ।

बिहिबार, ११ माघ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर