अनन्तराज न्यौपाने
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो मुख्यमन्त्रीत्वको पहिलो १ सय दिन पूरा गरेका छन् । सय दिन पूरा गरेकै दिन कार्कीले शैलजा आचार्य हृदयरोग केन्द्रको उद्घाटन गर्नसमेत भ्याएका छन् । त्यही दिन उनले सरकारले १ सय दिन पूरा गरेका अवसरमा आफ्नो कार्यविवरण पनि पेश गरे ।
मुख्यमन्त्री कार्कीका सय दिने कामप्रति सञ्चारमाध्यमबाट मिश्रित प्रतिक्रिया आएका छन् । पर्यवेक्षकका आलोचनात्मक टिप्पणीमा पनि कार्की अकर्मण्य भएको आरोप छैन । उनका कामप्रति सकारात्मक वा नकारात्मक टिप्पणी मात्र छन् । जबकि नेपालका सरकार बहुधा अकर्मण्यताका सिकार हुने गर्छन् । तर कार्कीको सरकार यसबाट मुक्त देखिन्छ ।
कार्की मुख्यमन्त्री हुनुपूर्व कोशी प्रदेशसभाले डेडलकको नियति भोगिरहेको थियो । सम्पूर्ण प्रदेशसभा सरकार बनाउने र भत्काउने खेलमा मात्र क्रियाशील थियो । एमाले र माओवादीको गठबन्धन चुँडिएपछि बनेका मुख्यमन्त्रीहरू म्यादीजस्ता मात्र भए । बजेट पनि अध्यादेशबाट ल्याउनुपरेको थियो । प्रदेशसभा बिजनेसविहीन थियो । पटकपटक फेरिइरहने म्यादी सरकार किंकर्तव्यविमूढ थिए । कोशी प्रदेशसभा र सरकारका गतिविधिबाट प्रदेश संरचनाको औचित्य र महत्वउपर नै प्रश्नचिह्न उत्पन्न भइरहेको थियो । तर कार्कीको प्रयासबाट त्यो गतिरोधको अन्त्य भयो । आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका पहिलेका मुख्यमन्त्री हिक्मत कार्कीले ल्याएको अध्यादेश बजेटलाई केदारले प्रतिस्थापन विधेयक ल्याएर पूर्णता दिए । यस विधेयकमा उनले २५ लाखमुनिका कार्यक्रमको कटौती गरेका छन् ।
केदार मुख्यमन्त्री हुनुपूर्व प्रदेशसभामा संसदीय समितिको गठन पनि गरिएको थिएन । मिनी पार्लियामेन्टका रूपमा बुझिने संसदीय समिति नहुँदा विधेयकहरूमा दफावार छलफल पनि भइरहेको थिएन । कार्कीले संसद्मा संसदीय समितिलाई पूर्णता दिएका छन् र संसदीय परम्परालाई सुदृढ बनाएका छन् ।
त्यस्तै उनकै अगुवाइमा आएका प्रदेश निजामति ऐन र स्थानीय सरकारी सेवाको गठनसम्बन्धी ऐनका कारण सरकारलाई आवश्यक पर्ने कर्मचारीहरू प्रदेश लोकसेवा आयोगमार्फत् भर्ना गर्न मार्गप्रशस्त भएको छ ।प्रदेशसभामा सर्वसम्मतिबाट सभामुखको चयन गराउनसक्नु कार्कीको कौशलको अर्को उदाहरण हो । देशमा संघीयताको विरोध गरिरहेको राप्रपाका अम्बरबहादुर विष्ट प्रदेशसभाका सभामुख भएका छन् । विष्टले सर्वसम्मतिबाट यो पद हासिल गरेका छन् ।
मुख्यमन्त्री कार्कीले सदनमा मुख्यमन्त्रीसित सांसदको प्रश्नोत्तर कार्यक्रमको प्रारम्भ गरेका छन् । त्यस्तै विभागीय मन्त्रीले पनि सांसदहरूले शून्य समयमा उठाएका प्रश्नको जबाफ दिनैपर्ने भएको छ । हरेक लोकतान्त्रिक सरकार संसद्प्रति उत्तरदायी हुन्छ र हुनैपर्छ । तर नेपालमा यो उत्तरदायित्वको अभ्यास र प्रयास लगभग शून्य छ । संसदको आवाज एकातिर र सरकारको गतिविधि अर्कातिर हुन्छ । यता कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीले संसदीय मूल्य, मान्यता र मर्मको रक्षा गर्दै जबाफदेहिता र उत्तरदायित्वको संस्कृतिको आरम्भ गरेका छन् । अन्य ६ प्रदेशका प्रदेशसभामा अझै यस्ता कार्यक्रमहरू सुरु भएका छैनन् ।
कार्कीले सुरुदेखि नै आफ्नो मूल एजेन्डा मानवीय विकास भएको बताउँदै आएका थिए । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले समाजवादसम्बन्धी आफ्ना साहित्यमा पटकपटक मानवकेन्द्रित विकासको उल्लेख गरेका छन् । समाजवादी चिन्तक प्रदीप गिरि (हाल स्वर्गीय)ले पनि संसदमा धेरै पटक मानवकेन्द्रित विकासको चर्चा गरे हुन् । पुँजीवादी अर्थशास्त्रबाट शिक्षितदीक्षित र प्रभावित अर्थशास्त्रीहरू जीडीपीकेन्द्रित आर्थिक अवस्थामा विश्वास गर्छन् तर समाजवादीहरू मानवकेन्द्रित विकासमा ध्यान दिन्छन् । देशका २० पुँजीपतिहरूले एक वर्षमा आफ्नो सम्पत्तिलाई दोब्बर–तेब्बर बनाए भने स्वाभाविक रूपमा २–३ अङ्कले जीडीपीमा वृद्धि हुन्छ । यस्तो वेला मुट्ठीभरका वर्गको मात्र उन्नति भएको हुन्छ तर तल्लो तलका जनता अझ गरिब भएका हुन्छन् । जबकि जीडीपीमा आएको वृद्धिले समग्र राष्ट्रिय अर्थतन्त्र सुदृढ भएको देखिन्छ । त्यसैले बीपी कोइराला र प्रदीप गिरिजस्ता समाजवादी धारका अनुयायीले मानवकेन्द्रित विकासको चर्चा गरेका हुन् । मुख्यमन्त्री कार्कीले अहिले यही धारलाई अपनाएको अनुभव हुन्छ ।
कार्कीले इटहरीमा बर्न अस्पताल र विराटनगरमा हृदयरोग केन्द्रको सुरुआत गरेर समाजवादी धारको प्रयोग गर्ने प्रयास गरेका छन् । यही प्रयासअन्तर्गत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको कार्यक्रम पनि परेको छ ।त्यसोत यसअघि भूमिहीनका लागि विराटनगर–१२ मा सम्पन्नवस्तीको निर्माण गरेर कार्कीले समाजवादप्रतिको आफ्नो प्रतिबद्धतालाई स्थापित गरिसकेका थिए । उनको यो प्रतिबद्धताले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, बर्न अस्पताल र हृदयरोग केन्द्रमा आएर अझ उचाइ प्राप्त गरेको छ । संविधानले प्रदेश सरकारहरूलाई विशिष्टीकृत सेवा प्रदान गर्ने अधिकार दिएको छ । कार्कीले यस अधिकारलाई प्रयोगमा ल्याएका छन् ।
हो, मुख्यमन्त्रीका रूपमा कार्कीले गर्न बाँकी अझ धेरै काम छन् । प्रथमतः उनको सरकारले अझै पूर्णता हासिल गरेको छैन । गठबन्धनभित्र समन्वय, सहिष्णुता र संवादको अभाव देखिन्छ । आफ्नै दल नेपाली कांग्रेसका केही सांसद्हरू कार्कीका चर्को आलोचकका रूपमा निस्किएका छन् । भर्खरै भएको कर्मचारी सरुवाका विषयमा टिप्पणी र आशंकाहरू प्रकट भइरहेका छन् । तर पनि मुख्यमन्त्रीका रूपमा कार्कीको नेतृत्वलाई समग्रमा हेर्दा अन्य प्रदेशका तुलनामा गतिशील र जनताकेन्द्रित भएको अनुभूति हुन्छ ।