सम्पादकीय
पछिल्लो समयमा नेपालको नेपालको ब्यापार घाटा बढिरहेको छ । आयातको तुलनामा झिनो मात्र निर्यात छ । त्यसमाथि निर्यात ब्यापारमा हुने झन्झट धेरै छ । नेपालमा निर्यात हुने संभावना भएका धेरै उत्पादन अझै अन्तराष्ट्रिय बजारमा पुग्नै सकेका छैनन् । नेपालमा उत्पादन हुने धेरै खाद्यजन्य सामग्रीको निर्यातको संभावना छ । कोशी प्रदेशमा उत्पादन हुने चिया, अम्लिसो, अदुवा, अलैचीसहित जडिबुटीहरु निर्यात भइरहेको छ । तर, अझै व्यवस्थित रुपमा ब्राण्ड निर्माण गरेर निर्यात हुन सकेको छैन । पछिल्लो समयमा सिमेन्टसहित निर्माण सामग्रीको निर्यात सुरु भएको छ । जसले सकारात्मक संकेत देखिएको छ । यहि मेसोमा निर्यातमा उत्साह जगाउने काम सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेको एसियन थाइफुड्ले गरिरहेको पाइएको छ । २० वर्ष अगाडि स्थापना भएको एसियनले विश्वका २५ देशमा आफ्नो उत्पादन बिक्री गर्न थालेको छ । जुन सुखद् पक्ष हो ।
पछिल्लो समयमा उद्योगी व्यवसायीहरुले उत्पादनमा बजार नपाएको र उद्योग संकटमा परेको गुनासो गरिरहेका बेला चर्चित चाउचाउको ब्राण्ड रमपम र टुपिएमका स्न्याक्स र विस्कुट उत्पादन गर्दै आएको एसियनको आक्रामक बजार विस्तार सह्रानीय छ । रोजगारीको लागि गएका र विदेशमा बस्ने नेपालीहरुमा बजारको संभावना देखेर आफ्नो उत्पादन विदेश पठाउन थालेको एसियनले गत वर्ष ५० करोडको उत्पादन निर्यात गरेकोमा यो वर्ष सयक करोको निर्यात गर्दैछ । अमेरिकादेखि कोरिया, जापान र युरोपका मुलुकहरुसम्म आफ्नो उत्पादन पुर्याएर एसियनले नेपालको पहिचान पनि विस्तार गरेको छ । नेपालको उत्पादनलाई विदेशमा विस्तार गर्ने कार्यले व्यापार घाटा कम गर्न मात्र मद्दत गर्दैन, त्यसले नेपालको पहिचान पनि स्थापित गर्छ । तयारी खाजाको रुपमा विभिन्न आइटम उत्पादन गर्दै आएको एसियनका उत्पादन विश्वभर विस्तार हुँदा सकारात्मक प्रतिक्रिया आएको जनाएको उद्योगले पाँच वर्षमा ५ सय करोडको निर्यात गर्ने लक्ष्य राखेको छ ।
अहिले पनि २५ मुलुकहरुमा आफ्ना उत्पादन निर्यात गरिरहेको कम्पनीले विदेशमा हुने फुड फेस्टिभलमा सहभागी भएर आफ्नो उत्पादनको प्रबद्र्धन गरिरहेको जनाएको छ । सरकारी तवरबाट नेपालको उत्पादनको विश्व बजार प्रबद्र्धनमा कुनै भूमिका नरहेको बेला उद्योगले आफ्नै पहलमा यी काम गरिरहेको छ । अष्ट्रेलिया, बहराइन, बेल्जियम, भुटान, क्यानडा, फिनल्याण्ड, जर्मनी, भारत, इजरायल, इटली, दुबई, कुवेत, मलेशिया, यमन, ओमन, प्यालेस्टाइन, दक्षिण कोरिया, बेलायत, अमेरिका, न्यूजल्याण्ड र कतारमा नेपाली उत्पादनले बजार पाउनु आफैंमा गौरबको विषय हो । यसमा सरकारी निकायले पनि आवश्यक सहयोग र सहजीकरण गर्नुपर्छ । निर्यातको लागि सरकारले अरू विषयमा ध्यान दिनसके विश्वमा व्यापार बढाउन सकिने संभावना धेरै छ । नेपालमा उत्पादित भएको सामग्री युरोपमा पुग्दा त्यहाँ उत्पादन भएभन्दा आधा सस्तो पर्ने भएकोले बजार विस्तारमा सहज रहेको एसियनको अनुभव छ । एसियनको अनुभवलाई यसलाई अन्य उद्योगले पनि प्रयोग गर्नुपर्छ । नेपालको उत्पादन प्रबद्र्धन गर्न सरकार निकाय व्यापार प्रबद्र्धन केन्द्र रहेको छ । तर, त्यसले प्रभाबकारी काम गरेको छैन ।
विदेशमा भइरहेका महत्वका एक्स्पोहरुमा नेपाली सामानको प्रबद्र्धन गर्न सरकारी तवरबाट ध्यान जानसकने नेपाली उत्पादनको निर्यातमा सहजीकरण हुनसक्छ । नेपालमा उत्पादन हुने कृषिजन्य र खाद्य सामग्रीलाई निर्यात गर्न रहेका समस्याहरु समाधानमा सरकारले ध्यान दिनुपर्छ । निर्यातमा अगाडि बढेका उद्योगलाई प्रोत्साहन र सहुलियतको कार्यक्रम अगाडि बढाउनुपर्छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले सिमेन्टको निर्यातमा अनुदान दिने नीति लिएपछि सिमेन्ट निर्यात बढ्न थालेको छ । यस्तै अन्य संभावना भएका क्षेत्रहरुको प्रबद्र्धनमा सरकारले ध्यान दिनुपर्छ । निर्यातजन्य उद्योगलाई उत्साह दिनुपर्छ ।