विराटनगरकी गहना, रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

रानुदेवीले निरंकुशताबिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गर्नुभएको विराटनगरका प्रमुख भीम पराजुलीको भनाइ

विराटनगर । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ ।

प्रजातन्त्र सेनानी समेत रहेकी अधिकारीको काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

१९३६ नोभेम्बर २७ मा विरगञ्जमा जन्मेकी रानुदेवीको बाल्यकाल भारतमा बितेको भएपनि उहाँको विवाह २००६ सालमा विराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको थियो । गायिका रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा काम गरेको राजनीतिकर्मीहरु बताउँछन् ।

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी गर्नुभएको थियो । २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो। विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गर्नुभएको थियो ।

‘नेपाली राजनीतिकी आदर्श व्यक्ति तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहनुभएकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गर्नुभएको थियो,’ परिवारजनप्रति समवेदना र रानुदेवीलाई सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिँदै विराटनगरका प्रमुख भीम पराजुलीले उल्लेख गर्नुभएको छ ।

अधिकारीको पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन्। २०६३ सालमा अधिकारीका बारेमा ‘५६ वर्षपछि…’ नामक सांगीतिक वृत्तचित्र बनाइयो । उक्त वृत्तचित्र पत्रकार तथा गीतकार शंकर खरेल र गायक तथा संगीतकार सुमित खड्काले बनाएका हुन्। वृत्तचित्रमा उनको नयाँ एल्बमबारे उल्लेख छ। अधिकारीको एक छोरा अविन र दुई छोरीहरु अर्चना तथा अल्पना रहेका छन् ।

शुक्रबार, १९ बैशाख, २०७७, बिहानको ०९:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर