विराटनगर । २०५४ सालको स्थानीय निर्वाचमा वडा सदस्यमा निर्वाचित भएकी ओखलढुंगाको मुलखर्ककी ५० वर्षीया चम्पादेवि कार्की अब राष्ट्रिय सभाको सदस्य हुने करिब निश्चित देखिएको छ ।
नेकपा एमालेबाट साविक मूलखर्क गाविस वडा नम्बर ६ मा महिला सदस्यका रूपमा निर्वाचित भएको करिब २६ वर्षपछि उनी राष्ट्रिय सभामा पुग्न लागेकी हुन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं ओखलढुंगा जिल्ला इञ्चार्ज रहेकी कार्कीले सत्तारुढ गठबन्धनको तर्फबाट माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि कोशीको महिला कोटामा उम्मेदवारी दिएकी छन् । प्रदेशमा गठबन्धनको मतभार प्रतिस्पर्धी एमालेभन्दा फराकिलो अन्तरले धेरै रहेकोले उनको विजय करिब निश्चित जस्तै छ ।
२०५४ सालमा वडा सदस्य भएपनि कार्यकाल पुरा नगर्दै २०५६ बाट माओवादी जनयुद्धमा होमिएकी कार्की तीन पटक समानुपातिक उम्मेदवार सुचीमा परेपनि माननीय हुन भने पाएकी थिइनन् । संविधान सभाको दुई वटै निर्वाचन र गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवार रहेकी उनको नाम बन्द सूचीमै सीमित भएको थियो ।
बन्दसुचीबाट नाम फिर्ता लिएर बसेकी कार्की यसपटक भने राष्ट्रिय सभाको सुरक्षित निर्वाचनको उम्मेदवार बनेकी हुन् । अनेम संघ क्रान्तिकारी केन्द्रीय कमिटीकी सचिवसमेत रहेकी कार्की जनयुद्धमा छापामार बनेर युद्ध लडेकी घाइते योद्धासमेत हुन् ।
जनयुद्धमा भएको लडाइको क्रमाम उनले आफ्नो दाहिने हात गुमाएकी छन् । २०५७ को वैशाखमा छापामारका रूपमा ‘होलटाइमर’ बनेर जनयुद्धमा होमिएकी उनी २०५८ सालमा रामेछापको धोवीचौकी मोर्चामा घाइते भएकी थिइन् । त्यहि लडाइमा उनको हात गुमेको हो ।
‘मोर्चामा म पनि संलग्न थिएँ,’ युद्धका कुरा धेरै नगरौं भन्दै उनले भनिन्, ‘म ओखलढुंगामा ब्लकिङमा खटिएको थिएँ । त्यही मोर्चामा म बम आक्रमणमा परेँ र मेरो दाहिने हात गुम्यो।’ राजनीतिक यात्राको सुरूआत पद र सत्ताका लागि नगरेको भन्दै उनले मुक्ति र स्वतन्त्रताका लागि लागेर युद्ध लडेर ल्याएको व्यवस्थामै जनप्रतिनिधि बन्ने क्रममा खुसी लागेको बताइन् ।
जनयुद्धको घाइते योद्धा पनि भएकोले उनलाई उम्मेदवार बनाउने निर्णयले माओवादी कार्यकर्ता पंक्तिले पनि न्यायको रुपमा लिएको छ । ‘आकांक्षी स्वाभाविक रूपमा धेरै हुन्छौं, अवसर पाउने थोरै हुन्छौं,’ कार्कीका प्रस्तावक बनेका कोशी प्रदेशका पर्यटनमन्त्रीसमेत रहेका गणेशप्रसाद उप्रेतीले थपे, ‘पार्टीको पुरानो र इमानदार योद्धालाई उम्मेदवार बनाउने विषयले उहाँको योगदानको कदर भएको छ ।’
हाल ओखलढुंगाको सुनकोशी ५ की बासिन्दा कार्कीका श्रीमान खड्ग योगी पनि माओवादीको सक्रिय राजनीतिमा छन् । उनी पार्टीका प्रदेश कमिटि सदस्य हुन् ।