विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि आज मंगलबार मनोनयन दर्ताको समय तोकिएकोले दलहरुले उम्मेदवार टुंगो लगाएका छन् । कोशी प्रदेशका २ सहित १९ सिटको लागि हुन लागेको निर्वाचनमा सत्तारुढ गठबन्धनले भागबण्डाको आधारमा उम्मेदवार तय गरेका छन् भने नेकपा एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवार दिने भएका छन् ।
कोशी प्रदेशका २ सिटको लागि हुने निर्वाचनमा गठबन्धनबाट अन्यतर्फको कोटा नेपाली काँग्रेसले र महिलातर्फको कोटा नेकपा माओवादी केन्द्रले पाएको छ । जसअनुसार माओवादी केन्द्रले ओखलढुंगाकी नेतृ चम्पादेवि कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीकी केन्द्रीय सदस्य एवं ओखलढुंगा इञ्चार्ज रहेकी कार्की जनयुद्धको समयबाटै माओवादी आन्दोलनमा जोडिएकी नेतृ हुन् । आशा उपनामले जनयुद्धको समयमा चिनिने उनी जनयुद्धकी घाइते योद्धासमेत हुन् ।
कोशीकै अन्यतर्फको कोटामा गठबन्धनबाट नेपाली काँग्रेसले नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बनाउने भएको छ । पूर्वमन्त्री रहिसकेका सिटौला झापा ३ बाट गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।
यसअघि राष्ट्रपतिको पनि आकांक्षी रहेका सिटौलाले राष्ट्रपति रामचन्द्र पौडेल भएपछि राष्ट्रियसभामा जान लागेका हुन् । चुनाब हारेकालाई लैजान नहुने मत काँग्रेसभित्र भएपनि काँग्रेसको गत महाधिवेशनदेखि सभापति देउवालाई सहयोग गर्दै आएका सिटौलालाई कसैले रोक्न सकेन । नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान गरेका सिटौला पूर्वगृहमन्त्री पनि हुन् । उनले २०७२ को संविधान निर्माणमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए ।
कोशीबाट नेकपा एमालेले अन्यमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाउने भएको छ । अधिकारी एमालेको केन्द्रीय सदस्य एवं जिल्ला सह–इञ्चार्ज छन् भने कोइराला सुनसरीको इटहरी निवासी महिला नेतृ हुन् । उनले गत स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको उपमेयरको दावी गरेपनि टिकट पाएकी थिइनन् ।
कोशीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका उपाध्यक्ष रहेका उद्धब पौडेललाई उम्मेदवार बनाउने भएको छ । चलचित्रकर्मीसमेत रहेका पौडेल विराटनगरका मतदाता भएपनि उनी पछिल्लो समय काठमाडौंमै बस्दै आएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ससुरा हुन् ।
यसअघि राष्ट्रियसभा निर्वाचनमा एमाले र राप्रपाले पनि सत्तारुढ गठबन्धनसँग भाग खोजेका थिए । आफूहरुलाई समेटेर लैजान दुई दलले आग्रह गरेको भएपनि गठबन्धनभित्रै सहमति नजुट्दा गठबन्धनले एमाले र राप्रपाबाहेक भागबण्डा गरेको हो ।
सत्ता गठबन्धनका दलहरुले १९ सिटमध्ये काँग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने सहमति गरेका थिए । राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३–३ तथा कोशी, मधेश र लुम्बिनीबाट २–२ गरी १९ सीटका लागि निर्वाचन हुँदैछ । फागुन २१ गते पदावधि सकिने नेकपा एमालेका ८, नेपाली काँग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र १ सिटमा निर्वाचन हुन लागेको हो ।
दलहरुबीच भएको भागबण्डा अनुसार कोशीका २ सिटमध्ये कांग्रेसले अन्य र माओवादीले महिला लिने सहमति छ । कांग्रेसले पाएका १० सीटमा बागमती, गण्डकी र सुदूरपश्चिममा २–२ तथा कोशीसहित मधेश, लुम्बिनी र कर्णालीमा १–१ सीट छ ।
यस्तै माओवादीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णालीमा र सुदूरपश्चिममा १–१ गरी ६ सीट पाएको छ । एकीकृत समाजवादीले बागमती र कर्णालीमा १–१ सीट पाउनेछ भने जसपाले मधेसमा १ सीट पाएको छ । सहमतिअनुसार मधेसमा कांग्रेसले अन्य र जसपाले महिला गरेर १–१ सिट लिनेछन् । लुम्बिनीमा कांग्रेसले महिला र माओवादीले अन्य १–१ र सुदूरपश्चिमा कांग्रेसले अन्य, अपांगता भएका र पछाडि पारिएकाबाट १ र माओवादी महिला गरी १–१ सिट लिने सहमति भएको छ ।
माओवादीले कोशीमा कार्की, वाग्मतीमा श्रीकृष्णप्रसाद अधिकारी, गण्डकीमा मनरूपा शर्मा सुवेदी, लुम्बिनीमा झक्कुप्रसाद सुवेदी, कर्णालीमा विष्णु विक र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ । एमालेले कोशीमा रुक्मिणी कोइराला पर्शुराम अधिकारीसहित मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा.अर्जुनकुमार सिंह राजपुत (महोत्तरी)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै, बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता–अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ)लाई उम्मेदवार बनाएको छ । त्यस्तै, गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता–अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) तथा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ) र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा)लाई उम्मेदवार बनाएको छ ।
कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही (हुम्ला), अन्यतर्फ डिल्लीप्रसाद भट्ट (मुगु), दलिततर्फ हिक्मत विक (दैलेख) र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता–अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली)लाई उम्मेदवार बनाएको छ ।
जनता समाजवादी पार्टीले पाएको मधेको १ सिटमा रौतहटकी पुजा चौधरीलाई उम्मेदवार बनाएको छ । चैधरी गत प्रदेशसभा निर्वाचनमा उम्मेदवार भएकी थिइन् ।
यस्तै राप्रपाले ९ जना उम्मेदवार टुंगो लगाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । कोशीमा उद्धब पौडेलसहित राप्रपाले बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा र विजयलक्ष्मी सिंह उम्मेदवार बन्ने भएका छन्