राष्ट्रसेवक सहकारीको कुल आम्दानी ४ करोड ८१ लाख

विराटनगर । विराटनगर–९ मा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४ करोड ८१ लाख ५ हजार ९ रुपैयाँको कुल आम्दानी गरेको छ ।

विराटनगरमा सोमबार भएको २५ औं वार्षिक साधारणसभाको प्रतिवेदनमा आर्थिक वर्ष २०७९÷०८० मा सहकारीले सो बरावरको कूल आम्दानी गरेको जानकारी गराएको हो ।

१ हजार ८२६ शेयर सदस्य रहेको सहकारीले ३३ करोड ७३ लाख ६ हजार १ सय २१ रुपैयाँ कूल कारोबार गरेको छ ।सहकारीको सम्पत्ति दायित्व ३८ करोड ९१ लाख ४४ हजार १५१ रुपैयाँ रहेको छ भने कूल खर्च ३ करोड ५२ लाख ६१ हजार ६८२ रुपैयाँ रहेको सहकारीका अध्यक्ष जीवन काफ्ले जानकारी दिए । अध्यक्ष काफ्लेका अनुसार सहकारीको शेयर पूँजी ६ करोड १७ लाख ८६ हजार ३ सय रुपैयाँ, कोष हिसाब २ करोड ८६ लाख ५४ हजार ७११, निक्षेप हिसाब २८ करोड ९५ लाख २७ हजार ७४८ रुपैयाँ, ऋण लगानी २८ करोड ४८ लाख ७१ हजार ५४० रुपैयाँ रहेको छ ।

यसैगरी परिवार राहत कोष कार्यक्रममा २१ लाख १७ हजार ६९ रुपैयाँ, स्थिर सम्पत्ति २ करोड ७७ लाख ५७ हजार १९०, सञ्चालन बचत ५५ लाख ५३ हजार ३२६ रुपैयाँ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा हालसम्म १३ वटा अक्षयकोष स्थापना भएका छन् । उक्त कोषहरुबाट प्रत्येक वर्ष विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । यसपटक पनि साधारणसभामा सहकारीले पूर्व सांसद तथा साहित्यकार कुन्ता शर्मासहित ७ जनालाई सम्मान गरेको छ । शर्मालाई १५ हजार ५५५ रुपैयाँको स्व. किशोरी खतिवडा स्मृति पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी स्व. दधिराम दाहाल स्मृति पुरस्कार रुपनारायण अधिकारी र स्व. हिरणकुमार थापा स्मृति पुरस्कार सहकारीकर्मी नरबहादुर कार्कीलाई प्रदान गरिएको छ । उनीहरुलाई जनही ११ हजार ५५५ रुपैयाँले सम्मान गरिएको सहकारीले जनाएको छ । ८० वर्ष उमेर पूरा भएका ज्येष्ठ सदस्य दुन माझीलाई समेत सहकारीले नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । यसैगरी सहकारी अभियान्ता तथा राष्ट्रिय सहकारी बैंकका प्रदेश प्रबन्धक प्रभु पोखरेल र ग्यास व्यवसायी आनन्दभूषण खड्कालाई पनि सम्मान गरिएको छ । सहकारीले ७५ वर्ष उमेर पूरा भएका शेयर सदस्यहरुलाई जनही २ हजार रुपैयाँ औषधि खर्चसहित सम्मान गरेको छ ।

पुरस्कृत व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा बोल्दै उनले छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष काफ्लेले निजामती क्षेत्रका युवा पुस्तालाई शेयर सदस्य बनाउन आर्कषक योजनासहित अघि बढ्नुपर्ने बिषयमा जोड दिए । शेयर सदस्यहरुको विश्वास जित्दै सम्पूर्ण आर्थिक कारोबारहरु संस्थागतमार्फत् भन्ने नारालाई सार्थकता दिएर अगाडी बढनुपर्ने उनले बताए । ‘सहकारी शिक्षा र चेतनाको वृद्धि गरी सहकारी अभियानप्रतिको नकारात्मक धारणा न्यूनीकरण गर्नुपर्छ,’ उनले भने ।

मङ्गलबार, १० पुष, २०८०, बिहानको ०७:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर